दसैंको सप्तमी तिथी आज फूलपाती भित्र्याईदै
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गा देवीको आह्वान गर्दै पूजा गरिने दसैँ घरमा शुभ साइतको प्रतीकको रूपमा नवपत्रिका भित्र्याउने परम्परा छ। नवपत्रिकालाई उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, र मानवृक्षसहित नौवटी देवीको प्रतीक मानिन्छ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, नवपत्रिका दुर्गाका सहायक देवीहरूको प्रतीक हो। केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता, र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। देवीलाई बलियो बनाउन यी सहायक देवीहरूको पूजा गरिन्छ।
फूलपाती भित्र्याएपछि विधिपूर्वक नौवटी देवीको पूजा गरिन्छ। हनुमानढोका दरबारमा गोरखाबाट विशेष परम्पराअनुसार फूलपाती ल्याउने गरिन्छ, जसमा पूजारी र मगर जातिका मानिसहरू सहभागी हुन्छन्। जमलबाट हनुमानढोकासम्म विभिन्न सरकारी अधिकारी, सेना, सांस्कृतिक नाचगान, र बाजासहितको जुलुसमा फूलपाती ल्याइन्छ।
राजतन्त्रकालमा राजा फूलपातीको कार्यक्रममा सहभागी हुन्थे, तर गणतन्त्र आएपछि संस्कृति मन्त्री सहभागी हुने परम्परा छ।
दसैँको चहलपहल आजैदेखि सुरु हुन्छ। सरकारी कार्यालय बिदा हुने हुँदा धेरै मानिसहरू आआफ्नो घर फर्कने क्रम बढ्छ। ग्रामीण क्षेत्रमा पिङहरू हालिनु र खेलिनुले दसैँको रौनकतालाई अझ बढाउँछ।