नोबेल पुरस्कार : रसायन शास्त्रतर्फ तीन वैज्ञानिकलाई
काठमाडौं। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका वैज्ञानिक डेभिड बेकर, जोन एम. जम्पर र बेलायतका डेमिस हसबिसलाई प्रदान गरिने भएको छ। उनीहरूलाई प्रोटिनको संरचना भविष्यवाणी गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमा पुर्याएको महत्वपूर्ण योगदानका लागि पुरस्कृत गरिएको हो।
डेभिड बेकरलाई ‘कम्प्युटेशनल प्रोटिन डिजाईन’ मा गरेको कामका लागि आधा पुरस्कार दिइने छ भने जोन एम. जम्पर र डेमिस हसबिसलाई ‘प्रोटिन संरचनाको भविष्यवाणी’ मा गरेको योगदानका लागि बाँकी आधा पुरस्कार प्रदान गरिनेछ।
प्रोटिन संरचना विज्ञानमा एआईको प्रयोगले जैविक अनुसन्धानमा ठूला प्रगति ल्याउन मद्दत पुर्याएको छ। यसले विशेषगरी औषधि विकास, रोग निदान र उपचारका नयाँ प्रविधि बनाउन ठूलो भूमिका खेलिरहेको छ।
सन् २०२४ का अन्य नोबेल पुरस्कारहरू क्रमशः बिहीवार साहित्य, शुक्रवार शान्ति, र आगामी सोमवार अर्थशास्त्रतर्फ प्रदान गरिनेछ।
यसैबीच, मंगलबार भौतिकशास्त्रको नोबेल पुरस्कार जोन जे. हपफिल्ड र जेफ्री ई. हिन्टनलाई आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङमा पुर्याएको योगदानका लागि दिने घोषणा गरिएको थियो। चिकित्सा क्षेत्रमा भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई माइक्रो आरएनएको खोज र पोस्ट ट्रान्सक्रिप्शनल प्रक्रियामा पुर्याएको योगदानका लागि नोबेल पुरस्कार प्रदान गरिने घोषणा भएको थियो।