एसिया रग्बी सेभेन्स ट्रफीको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं। एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा आयोजक नेपालले आफ्नो पहिलो खेलमा उज्बेकिस्तानसँग २४–० को हार बेहोरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालले उज्बेकिस्तानको दबाबलाई झेल्न नसक्दा शून्य स्कोरमै रोकियो।
अन्य खेलहरूमा, जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, र भारतले बंगलादेशलाई ३१–५ ले पराजित गरे।
चाईनिज ताईपेइले अफगानिस्तानलाई २६–७ को स्कोरमा हरायो। महिलातर्फ उज्बेकिस्तानले ग्वामलाई १९–१२ ले पराजित गरेको छ।
प्रतियोगितामा १६ राष्ट्रका २१ टोलीहरूको सहभागिता रहेको छ, जसमा पहिलो दिन ३० खेल हुनेछन्।
उद्घाटन सत्रअगाडि नै सात खेल सम्पन्न भइसकेका थिए। प्रतियोगिता शुक्रबार र शनिबारसम्म चल्नेछ, जसमा विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी जित्नेछ।