बङ्गलादेशसँग बिजुली निर्यात सम्झौतामा हस्ताक्षर
काठमाडौँ। नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। विहीबार आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम, र भारतको एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले सम्झौतामा हस्ताक्षर गरे।
समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन, र उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार, प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ, जसले भारतीय संरचनामार्फत बिजुली बङ्गलादेशसम्म पुर्याउनेछ। यो व्यापार नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनमार्फत गरिनेछ।
कूल ४०० केभी क्षमताको प्रसारण लाइनमार्फत बिजुली मुजफ्फरपुरमा मापन गरिनेछ र त्यहाँबाट भारतको प्रसारण लाइन हुँदै बङ्गलादेश पुग्नेछ। प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट बिजुली निर्यात गर्ने तयारी गरेको छ।
प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बर) बङ्गलादेशलाई बिजुली निर्यात गर्नेछ, जसमा एक लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात गरिनेछ। सम्झौताअनुसार, प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा बिजुली बिक्री हुनेछ।
नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौतामा लम्बे समयको गृहकार्य र छलफलपछि हस्ताक्षर भएको हो। यस सम्झौताले नेपालको ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानेको छ।
सम्झौतासँगै, बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट ९,००० मेगावाट बिजुली लिन चाहेको जनाएको छ। नेपाल र भारतबीच १० वर्षमा १०,००० मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन सम्झौतासमेत पहिले नै भएको छ।
यस सम्झौताले नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।