दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनए टिम : पौडीमा अमेरिका निवासी लिलीले जितिन तीन स्वर्ण
सुर्खेत / दशौँ राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपाली संघ (एनआरएनए) टिमले पौडी तर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् ।
हालसम्म ६ स्वर्ण, १ रजत र २ कांस्य गरी कुल ९ पदक हासिल गरेका छन्। बुधबार सम्मको नतिजाअनुसार स्वर्ण पदकको आधारमा एनआरएनए पदक तालिकाको दोस्रो स्थानमा रहेको छ।
अमेरिका निवासी १५ वर्षीया लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेट ३४.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्।
लिली बोहराले महिला २०० मिटर फ्रिस्टाइलमा समेत २ मिनेट १४.०३ सेकेन्डको समयसहित स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकी छन्। सोही स्पर्धामा एनआरएनएकी मिखा काया थापाले २ मिनेट १९.६८ सेकेन्डको समय निकाल्दै कांस्य पदक हासिल गरेकी छन्।
त्यस्तै अस्ट्रेलिया मेलबर्न निवासी १६ वर्षीया मिखा काया थापाले महिला ५० मिटर बटरफ्लाईमा ३०.७८ सेकेन्डको समयसहित स्वर्ण पदक तथा महिला १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट १३.६२ सेकेन्डको समय निकाल्दै रजत पदक हासिल गरेकी छन्।
यस अधि मिखा काया थापाले महिला १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन्।
त्यसैगरी, लिली बोहराले महिला ४०० मिटर व्यक्तिगत मेड्लेमा ५ मिनेट १७.०१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक हासिल गर्नुका साथै सन् २०१६ मा कायम भएको राष्ट्रिय कीर्तिमानसमेत तोडेकी थिइन्। उनले महिला १०० मिटर फ्रिस्टाइलमा कांस्य पदक पनि जितेकी थिइन्।
विश्वका १९ देशबाट सहभागी ३९ जना खेलाडीले एनआरएनएको प्रतिनिधित्व गर्दै प्रतियोगिताका ११ विधाका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन्।



















