पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा प्रमोद र समीक्षाको प्रस्तुति
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ यस पटकको दसैँ तिहार धमाकामा अमेरिकाको पेन्सिल्भेनियाबासीले गायक प्रमोद खरेल र गायिका समीक्षा अधिकारीलाई सुन्न र हेर्न पाउने भएका छन्।
यो अवसर ड्रिम सपोर्ट फाउन्डेसनले जुराउन लागेको हो।
‘हामी यो घोषणा गर्न चाहन्छौँ कि, हरेक वर्ष झैँ हामी आइतबार अक्टोबर ६, २०२४ मा हाम्रो दसैँ र तिहार कार्यक्रम लिएर आउँदैछौं। हामी साँच्चै आशा गर्दछौँ कि तपाईँहरू प्रत्येकले हामीसँग यो अद्भुत घटना साझा गर्नुहुनेछ।’ फाउन्डेसनका संस्थापक प्रेम बरालले सामाजिक सञ्जाल मार्फत घोषणा गरेका छन्।
कार्यक्रम ल्यानक्यास्टरको लिटिजमा (101 Rock Lititz Blvd Lititz, PA 17543) अक्टोबर ६ तारिख आइतबार दिउसो तीन बजेबाट शुरु हुने छ।
अध्यक्ष बरालका अनुसार यस अगाडी झैँ कार्यक्रममा सहभागी हुन कुनै शुल्क तिर्नु पर्ने छैन।
फाउन्डेसनले पछिल्ला केही वर्षदेखि दसैँ तिहारको उपलक्ष्यमा निःशुल्क साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको छ।
यस अगाडि प्रकाश सपुत, प्रविशा अधिकारी, राजेश पायल राई, राजु लामा आदि कलाकारले फाउन्डेसनको आयोजनामा दसैँ तिहार धमाकामा आआफ्नो प्रस्तुति दिइसकेका छन्।