अमेरिकाको ल्यानक्यास्टरमा ‘दशैं तिहार धमाका’ दर्शकको घुइचो
ल्यानक्यास्टर/ अमेरिकाकै ऐतिहासिक शहरमा पर्दछ ल्यानक्यास्टर। कुनै समय पेन्सिलभेनियानकै राजधानी ल्यानक्यास्टरलाई ‘अमिस काउन्टी’ भनेर पनि चिनिन्छ। अमेरिकाको सबै भन्दा पुरानो भित्री शहरहरु मध्ये एक हो ल्यानक्यास्टर।
शुरु देखि नै आप्रावासीको ‘हब’ ल्यान्क्यास्टरले अमेरिकी क्रान्तिका दौडान, एक दिनको लागि मुलुककै अस्थायी राजधानीको रूपमा सेवा गरेको इतिहास पनि छ।
अमेरिकी राष्ट्रपति समेत जन्माएको ल्यानक्यास्टरमा पछिल्लो दशक देखि नेपाली समुदायको संख्या ह्वात्तै बढेको छ।
नेपालबाट सोझै आएका र भुटानबाट खेदिए पछि नेपालमा झण्डै एक दशक शणरार्थीका रुपमा कष्टकर जीवन विताएर पूनर्वास रोजेका नेपाली भाषीहरुको संख्या पाँच हजार भन्दा बढी भएको अनुमान गरिदै आएको छ।
भुगोल छोडे पनि नेपाली संस्कृतिमा अथाह लगाव छ, ल्यानक्यास्टरबासीमा । आर्थिक रुपमा पनि प्रायसले हैसियत राम्रै बताएका छन्। चाड पर्व, रितिरिवाज धुमधाम मनाउछन्, दिल खोलेर । कुनै चाँड मनाउन छुटाउदैनन्।
तर एउटा समस्या जहिले पनि टड्कारो रह्यो। जे हुन्छन सबै आआफ्ना घर भित्र। यो त हाम्रो संस्कृति होइन। अनि केही युवा जुर्मुराए। नेपालमा जस्तै, भुटानमा जस्तै, गाँउमा जस्तै सबै जना भेला भएर दशैं-तिहार किन नमनाउने ?
कोरोना महामारीले विदा लिदै थियो गत बर्ष। घरमा थुनिदाको उकुस मुकुस पनि उस्तै थियो। युवा व्यवसायी प्रेम बराल सहितको टोलीले एउटा अठोट लियो कम्तिमा वर्षको एउटा कार्यक्रम ल्यानक्यास्टरमा गर्नै पर्छ दशै र तिहारको बीच पारेर । गत बर्षको कार्यक्रमले यस पटक पनि उनीहरुलाई उर्जा थपियो।
‘दशै र तिहारको मनोरञ्जन, रमाइलो, रमझम मात्र नभएर हामी नेपाली संस्कृति जोगाउन पनि यो कार्यक्रम गरेका हौ।’ अक्टोबर १६ तारिक आइतबार आठ सय क्षमता दर्शक रहेको जन्सन सेन्टरको खचाखच हलमा आयोजक मध्येका एक उद्घोषक कुल बहादुर गिरी कार्यक्रम शुरु गर्दै थिए।
समाजका अगुवा खेम सुवेदीलाई प्रमुख अतिथि, ओम घिमिरे, शान्त भट्टराई, दिपेश चापागाई, तुलसी पोखरेल लगायतलाई अतिथिको आसन ग्रहण गराए पछि आयोजक टिमका सदस्य एवं अर्का उद्घोषक मनिष उप्रेति भन्दै थिए, ‘हामी नेपाली गाँउ गाँउ घुमेर रोटे पिङ्ग खेलेर हातमा सेलरोटी भिरेर देउसी भैलो खेल्दै, रिसराग अन्त गर्दै मेलमिलापको संस्कारमा हुर्किएका, आफ्नो देशको माटोको याद दिलाउन यो कार्यक्रम गरेका हौ।’
‘आफ्नो कला, भाषा, संस्कृति धर्म मौलिकता भेषभूषा जोगाउनका लागि हामीले कयौ शास्ति भोगेका छौं। हामी कयौ जेलनेल परेका छौं । हामीले कयौ कठिन यात्रा पार गरेका छौं अझ कति परिवारका सदस्य नै गुमाएका छौं, कार्यक्रमको बीच बीचमा उद्घोषक उप्रेति भन्दै थिए, ‘हामी पछिका पुस्ताले पनि यसरी कला संस्कृतिलाई माया गरेर यति राम्रो नृत्य प्रस्तुत गरेको देख्दा पक्कै पनि हाम्रो छाति गर्वले फुलेको छ।’
हुन पनि अमेरिकामा नै जन्मिएका र यता हुर्किएका बालिकाहरुले नेपाली पोशाकमा सजिएर गरेको नृत्य प्रसंशा योग्य थियो। आयुषा चापागाई, दिव्या घिमिरे र रिया घिमिरेले आफ्नै कोरियोग्राफिमा नृत्य प्रस्तुत गरे।
यस्तै अन्य साना नानीहरुलाई तालमा ताल मिलाउन युवा प्रतिभा केन्द्रका डम्बर भट्टराईको महेनत स्टेजमा देखिन्थ्यो। अर्चु दुलाल, प्रिया उप्रेती, मेलिसा चुवान, प्रियश सुवेदी, र डेलिसिया चुवानले सुन्दर नृत्य प्रस्तुत गरे। रोमिनी लामा, वर्षा उप्रेती, रेसिना, प्रिया उप्रेती र प्रियाशा सुवेदीको मारुनीमा दर्शक झुमेका थिए।
बालिकाहरुको प्रस्तुतिको चलचित्रकर्मी सरिता लामिछानेले खुलेर प्रसंशा गरिन्। ‘हाम्रो संस्कार र संस्कृतिलाई बचाउन यति ठूलो जिम्मेवारी लिनु भएको छ, अहिले नानीहरुको प्रस्तुतिबाट थाहा हुन्छ, यहाँ यति राम्रो प्रस्तुति दिनु भयो, मेहनत गरिदिनु भएको छ, संस्कार र संस्कृति रहेन भने हामी रहदैनौ।’
लामिछानेले अमेरिकामा पनि नेपाली संस्कृतिको जगेर्ना गरेकोमा खुसी व्यक्त गरिन। ‘तपाईको घर अगाडि तुलसीको मोठ भेट्छु, व्याकयार्डमा जाँदा स्वामी र पिपल अनि वरको बोट देख्छु यो तपाईहरुले नेपाललाई गरेको मायाँ जीवनभर विर्सने छैन्। तपाई हामीले बचाएको संस्कृति अर्को पुस्तालाई हस्तान्तरण गर्नु पर्छ।’
उनले नेपाली कला र संस्कृति सिक्न चाहाने बालबालिकाहरुलाई आफुले जहिले पनि सहयोग गर्ने बताइन।
टिका तिम्सिनाको नृत्य, सागर क्षेत्रीको गायन र दिपेश चापागाईको गजल, मुक्तक, चुड्काले दर्शक उत्साहित बनेका थिए। शह गुरुङको बासुरी बाधन, सरिता लामिछाने र विकास चुवानको नृत्य अर्को आकर्षण थियो।
नेपाली म्युजिमय खोल्नु पर्छ : सुवेदी
कार्यक्रमका प्रमुख अतिथि खेम सुवेदीले अब ल्यानक्यास्टरमा नेपाली म्युजियम खोल्नु पर्नेमा जोड दिएका छन्। कार्यक्रममा मन्तव्य दिदै सुवेदीले समाजमा स्थापित हुन पनि संस्कृतिको जगेर्ना गर्नु पर्ने बताए।
‘हामीले हाम्रो पोशाक र संस्कृतिको जगेर्ना गर्न सक्नु पर्छ,हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्न सकेनौ भने यो समाजमा स्थापित हुन सक्दैनौ।’ उनले भने।
सांगीतिक कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै सुवेदीले भने,’एउटा म्युजियम खोल्न कोसिस गरौ, जहाँ डोको-नाम्लो कसरी बोकिन्छ देखाऊ, मादल,टोपी आदिको संरक्षण गरौ, अरुले आएर हेरुन यी मान्छे कहाँबाट आएका हुन।’
राजु लामाले दर्शक नचाए, राजेश पायल राईले आयोजकलाई सताए
कार्यक्रमका मुख्य आकर्षक मंगोलिनय हटका राजु लामा र राजेश पायल राईको प्रस्तुति निकै फरक रह्यो। लामाले दर्शक नचाए तर राईले आयोजकलाई हैरान बनाए।
स्थानीय कलाकार पछि, बिकास चुहानले एकल र सरिता लामिछाने सँग मिलेर प्रस्तुति दिए।
त्यस पछि राजु लामा स्टेजमा आए। उनी मञ्चमा देखिन पाउदा नपाउदै युवा पुस्ता जुरुक्कै उठेर अगाडि बढ्यो । लगभग एक घण्टा बीस मिनेट सम्म राजुले निरन्तर प्रस्तुति दिए। हसिलो स्वाभावका उनले दर्शकलाई नचाए, बीच बीचमा ज्ञानगुनका कुरा पनि बाढे।
तर राजेश पायलको इन्ट्री नै झुर थियो। उनले माइक फाले, मञ्चमा उभद्रो नै गरे। पोडियमलाई नै लातिले हानेर ढाले । यति सम्मकी उनको व्यवहारले परिस्थिति झण्डै झण्ड भड्किएको थियो। दर्शक हलबाट बाहिरिन थाले । आयोजक असिन पसिन नै भएका थिए। कुन समय पुलिस आउने हो भन्ने डर शुरु भएको थियो।
राजेश पायलले आफ्नै फेसबुक पेजमा लाइभ गरेको भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ। उनले स्टेजमा प्रवेस गर्नु अगाडि नै निकै खराव स्वभाव देखाएका थिए। प्रतिक्षारत कोठाबाट नै लाइभ गर्दै आएका राजेश पायलले लभीमा माइक फाल्ने, आयोजकले लगाइदिएको खाता फुकाल्ने र झर्किने गरेको देखिन्छ।
भिडियोमा देखिए अनुसार उनको हातमा रहेको माइक नचलेपछि राजेशले त्यो रुप देखाएका हुन । पहिलो माइक नचले पनि आयोजकले अर्को माइकको व्यवस्ता गरेका थिए तर उनी सन्किदै माइक फाल्ने र खादा फुकालेर भुइमा फाल्ने र झर्कन पुगेका हुन्।
उनी यतिमा रोकिएनन्। स्टेजमा पटक पटक साउण्ड सिस्टमका बारेमा आलोचना गर्दै उत्दण्ड व्यवहार देखाए। कतिपय अवस्थामा गाउन बन्द नै गरे, स्टेज छोडेर जाने धम्की दिए।
ट्रायक बजाउन ढिला हुदा पनि उनी पटक पटक झर्किएको देखिन्थो । उनले दशै गीतको ट्रायक बजाउन भने तर अर्को ट्रयाक बज्यो अनि प्राविधकहरु आफ्नो कमजोरी सच्याउदै थिए, राजेशले एक्कासी झर्किएर रुखो स्वरमा भने ‘बजा न बजा’ । दर्शकले उनको व्यवहारको प्रतिवाद गरे अनि भने ‘सरी यो त अमेरिका हो, बजाउनुस हजुर सरी’
राजु लामाको पालामा पनि ट्रयाक बज्न केही समय लागेको थियो। प्राविधिक जनशक्ति गैर नेपाली भाषी रहेकाले पनि भाषामा केही समस्या देखिएको थियो। तर त्यस्तो समयमा राजुले निकै चलाखी गर्दै दर्शकलाई अन्यत्र भुलाएका थिए। उनले कहिल्यै अभद्रता देखाएनन्।
त्यो समय उनले आफ्नो सगरमाथा आरोहण, ग्लोबल वार्मिङ, त्यसले वातावरणमा परेको असर र वृक्षा रोपणका सन्देश दर्शकलाई दिन भ्याए। तर राजेश पायल एक पछि अर्को हर्कतमा तल्लिन रहे।
‘साउण्ड ठूलो बनाउन पैसा तिरेको छ’ भन्दै पटक पटक झर्किन्थे। तर हलको साउण्ड यति ठूलो थियो की दर्शक कान थुन्न थालिसकेका थिए। आयोजकलाई अर्को समस्या पनि थपिएको थियो । दर्शक कान थुन्न थालेका थिए भने हलको साउण्ड त्यो भन्दा ठूलो बनाउदा कुनै पनि समय प्रहरीले टिकट दिएर कार्यक्रम नै बन्द गराउन सक्ने खतरा हल व्यवस्थापकले आयोजकलाई बताएका थिए।
हल व्यवस्थापक र प्राविधिकको सन्देश लिएर मुख्य आयोजक प्रेम बराल स्टेजमा नै पुगे। तर राजेशले कसैलाई पनि सुन्दै सुनेनन्। उनी एकोहोरो साउण्ड बढाउन मात्र भनिरहे।
‘ट्रयाक बडाउनुस मज्जा आएको छैन, म हिडिदिन्छु फेरि’ एकोहोरो घुर्की देखाउन थाले।’ अनि फेरि भने ‘मोर लाउड आइएम फरम नेपाल, के जान्छ यार तपाईको पैसा तिरेको छ।’
त्यस पछि गाउदा गाउदै रोकिएर पोडियमा लाति हाने, आफ्नै सुविधाका लागि राखिएको स्क्रिप खसाले। फेरि कान थुन्दै पछाडि गए। उनको हर्कत यस्तो थियो की कुनै पनि समय दर्शक उत्तेजित भएर आयोजक माथि आक्रमण गर्न सक्थो । हुलदङ्गा होला, प्रहरी आउला झमेलामा परिएला भन्दै पछि ठूलो संख्यामा दर्शक हलबाट बाहिरिएका थिए। भरिभराउ हलमा एकाएक दर्शकको उपस्थिति न्युज बन्यो।
‘हामी हाम्रा नानीलाई संस्कृति र संस्कार सिकाउन कार्यक्रममा आएका तर नेपालकै प्रख्यात गायकले यस्तो व्यहोरा देखाउछन भने के सिकाउने’ हल बाहिर भेटिएका अभिभावक भन्दै थिए।
कार्यक्रम सकिए पछि राजेशले आफ्नो व्यवहार सामान्य नै भएको प्रतिक्रिया दिए। ‘मेरो स्वाभाव नै यस्तै हो, अलिअलि विवाद आएन भने यो फिल्डमा के हुन्छ ? त्यही भएर त राई इज किङ्ग।’ उनको जवाफ थियो।
गायक राजेश पायलको हर्कतका बारेमा आयोजक बरालले कुनै प्रतिक्रिया दिन मानेनन्। हामीले आफ्नो संस्कृति जोगाउन, सबै एकै ठाँउमा जम्मा भएर चाड मनाउन यो कार्यक्रम गरेका हौ।’ बरालले भने ‘हामीले सोचेको भन्दा राम्रो दर्शकको उपस्थिति रह्यो, अर्को वर्ष कार्यक्रम आयोजना गर्नका लागि हौसला बढेको छ।’
‘हामीलाई मान्छे आउदैन की भन्ने डर थियो तर हल भरियो,सफल भयौ, बरालले थपे, ‘हामीले अमेरिकी कानुन, हलको नियम पनि मान्नु पर्छ, राजेश पायल राई जस्तो गायकको बारेमा म टिप्पणी गर्दिन, भिडियो लाइभ छ, सबै कुरा प्रष्ट छ।’
बरालका अनुसार कार्यक्रम आयोजनाका लागि बीस हजार अमेरिकी डलर खर्च भएको छ। ‘कलाकार, हल, साउण्ड सिस्टम, सेक्युरेटीमा खर्च भयो, तर हामीले दर्शकका लागि प्रवेस निशुल्क गरेका थियौ।’ बरालले भने।
‘चाड मनाउने कुरामा पनि के दर्शकलाई पैसा लिने भन्ने भयो हामी १०-१५ जना छौ, आफैले सबै खर्च बेहोर्यौ।’
गायक राजेश पायल राईको हर्कतको हाइलाइट भिडियो