प्रकाश सपुत र प्रविशा अधिकारीले नचाए ल्यानक्यास्टरबासी, बुर्लुक्कै उफारे युवायुवती

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ वर्तमान नेपाली सङ्गीतका चर्चित गायक तथा कलाकार प्रकाश सपुत र गायिका प्रविशा अधिकारीले अमेरिकाको पेन्सिल्भेनिया स्थित ल्यानक्यास्टरबासीलाई नचाएका छन्।
ड्रीम सपोर्ट फाउन्डेसन अफ युएसएले आयोजना गरेको दसैँ तिहार धमाका साङ्गीतिक कार्यक्रमका प्रकाश र प्रविशाले दर्शकलाई भरपुर मनोरञ्जन दिए।
ल्यानक्यास्टरको रक लिटिज ब्याक्कबक्स स्टुडियोमा प्रकाशको प्रदर्शन आफैमा ‘रक’ थियो। उनले आफ्ना कारुणिक देखि ब्याटल सम्मको प्रस्तुति दिए।
दर्शकलाई दसैँको हालचाल सोधेका प्रकाशले देउसी भैलो पनि भट्ट्याएका थिए। ‘पिर’ बाट गाउन सुरु गरेका प्रकाशले, त्यो देश मेरो पनि होइन र, फुलमाया लगायतका गीत गाएका थिए। उनले ‘गलबन्दी’ गाउँदा दर्शक दीर्घा जुरुक्कै भएको थियो।
अझ प्रकाशले ब्याटल हान्दा युवा युवती उत्साहित हुँदै बुर्लुक्कै उफ्रिएका थिए। प्रकाशले कार्यक्रम भएको हल र ल्यानक्यास्टरका दर्शकको प्रशंसा गरेका थिए।
‘सलसल बग्यो कर्णाली’ कारुणिक गीत बाट आफ्नो प्रस्तुति सुरु गरेकी प्रविशाले पनि अन्तमा दर्शक नचाएकी थिएन।
कार्यक्रममा स्थानीय गायक अंशु उप्रेती,प्रकाश मगर र पवन बारकोटीले पनि प्रस्तुति दिएका थिए। नृत्य तारा ह्यारिसबर्गका विद्यार्थी र ल्यानक्यास्टरका स्थानीय कलाकारको सुन्दर नृत्यले कार्यक्रममा रौनक थपेको थियो।
विशाल ढुङ्गानाको उद्घोषणले पनि कार्यक्रमलाई रोचक बनाएको थियो।
कार्यक्रममा ल्यानक्यास्टरका डिल्ली चापागाँईलेे कविता र सायरी प्रस्तुत गरेका थिए। चापागाईँकै नेतृत्वमा देउसी भैलो पनि खेलिएको थियो।
ड्रीम सपोर्ट फाउन्डेसनका संस्थापक प्रेम बरालले कार्यक्रम भव्य रूपमा सफल भएको बताए। उनले यसले आफूहरूलाई आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गर्न प्रेरणा मिलेको बताए।
‘हामीले सन् २०२१ देखि समुदायलाई दसै तिहारमा मनोरञ्जन दिन वर्षमा कम्तीमा एउटा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका छौ। हामीले समग्रमा चार र यस वर्ष मात्र दुई वटा कार्यक्रम गर्यौ, अब हामीलाई अनुभव पनि थपिँदै छ, हरेक पटक हामी राम्रो कार्यक्रम गर्दै छौ।’ समाज टाइम्स सँग बरालले भने।
उनले कार्यक्रम सफल पार्न दर्शकले पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए। ‘हामी सबै दर्शकलाई धन्यवाद दिन चाहन्छौ। पाँच घण्टाको कार्यक्रम धैर्यपूर्ण सहभागी भइदिनु भयो। यसले ऊर्जा थपेको छ। उत्साहित बनाएको छ।’ बरालले भने।
कार्यक्रममा टिकट निःशुल्क गरिएको थियो।
कार्यक्रमका तस्वीरहरु