साफ यू-१७ च्याम्पियनसिपः पहिलो सेमिफाइनलमा नेपाल र भारत खेल्दै
थिम्पु । साफ यू–१७ च्याम्पियनसिप फुटबलमा दुवै सेमिफाइनल खेल आज हुँदै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबीच सेमिफाइनल खेल हुने छ । उता दोस्रो खेलमा पाकिस्तान र बंगलादेश आमने सामने हुने छन् ।
नेपाल समूह उप विजेताको रुपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैसियतले सेमिफाइनल खेल खेल्दै छ । भारतले समूह चरणमा बंगलादेश र माल्दिभ्सलाई पराजित गरेको थियो ।
यता, नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकामाथि ४–० को एकतर्फी जीत दर्ता गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेलमा घरेलु टोली भुटानमाथि २–१ गोलको पुनरागमन जीत दता गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ भुटान आएको बताउँदै भारतविरुद्धको सेमिफाइनल खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
यसैगरी कप्तान सुवास बमले नेपाली टिमले पहिलो खेलमा गरेको गल्तीमा सुधार गरेको बताउँदै भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए । टिममा सवै खेलाडी फिट भएकाले पनि फाइनल पुगेर उपाधि जित्ने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरुहुने छ । पाकिस्तान र बंगलादेशको खेल भने अपरान्ह पौने ६ बजे हुने छ । आजका विजेताले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने छन् । साफ यू–१७ मा घरेलु टोली भुटानसहित श्रीलंका र माल्दिभ्स पनि सहभागी थिए ।