सुजन डंगोलको ह्याट्रिक: नेपालको साफ यू-१७ मा पहिलो जित
थिम्पु। सुजन डंगोलको उत्कृष्ट ह्याट्रिकको सहयोगमा नेपालले साफ यू-१७ च्याम्पियनशिपमा पहिलो जित हासिल गरेको छ। सोमबार भुटानमा भएको खेलमा नेपालले श्रीलंकालाई ४-० को रोमाञ्चक जितले पराजित गर्यो।
जितसँगै नेपाल समूह ‘बी’ मा दुई खेलबाट तीन अंक जोड्न सफल भएको छ। यस खेलमा, सुजन डंगोलले ह्याट्रिक पूरा गरे । विज्ञान खड्काले एक गोल थपेर नेपालको जितमा योगदान पुर्याए।
खेलको सुरुवातमा नै सुजनले प्रभावकारी प्रदर्शन गर्दै चौथो मिनेटमा पहिलो गोल गरे। त्यसपछि उनले १२औं र ३० औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे। पहिलो हाफमै आफ्नो ह्याट्रिक पूरा गर्दा सुजनले विपक्षी टोलीलाई मानसिक दबाबमा पार्दै नेपालको स्थिति मजबुत बनाएको थियो।
तर, दोस्रो हाफमा मौसमको प्रतिकूलतासँग जुध्नुपर्यो। अत्यधिक वर्षाको कारण नेपालले पहिलो हाफको तुलनामा त्यति राम्रो प्रदर्शन गर्न सकेन। तर, ८३ औं मिनेटमा विज्ञान खड्काले गोल गर्दै नेपालको जितलाई सहज बनाउन योगदान पुर्याए।
पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएकाले पनि श्रीलंकाविरुद्ध जीत निकाल्दै सेमिफाइनल होडमा उभिनु पर्ने दबाब नेपाललाई थियो। सोमबार नै भएको खेलमा पाकिस्तान र घरेलु टोली भुटानले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसँग बुधबार खेल्ने छ। उक्त खेल अघि पाकिस्तान र श्रीलंका भिड्ने छन्। नेपाललाई सेमिफाइनलमा पुग्न भुटानविरुद्ध जीत निकाल्नै पर्ने वाध्यता रहेको छ।