श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अमेरिकाको बधाई
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा डिसानायकेलाई अमेरिकाले बधाई दिएको छ।
अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले आइतबार राति विज्ञप्ति जारी गर्दै श्रीलङ्काली जनताको मतको सम्मान गरेका हुन्।
‘सेप्टेम्बर २२ मा भएको मतदानको नतिजाले पुष्टि गरे अनुसार श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा निर्वाचित राष्ट्रपति अनुरा कुमारा डिसानायकेलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ।’ विज्ञप्तिमा भनिएको छ,’हामी श्रीलङ्काका जनतालाई शान्तिपूर्वक आफ्नो मतदानको अधिकारको प्रयोग गरेकोमा प्रशंसा गर्छौँ। यो निर्वाचन श्रीलङ्काका प्रजातान्त्रिक संस्थाहरूको बल र शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट आफ्नो भविष्य निर्माण गर्ने यसका नागरिकहरूको प्रतिबद्धताको प्रमाण हो।’
जनविद्रोहका कारण तत्कालीन राष्ट्रपतिले देश छोडेर भागे पछि श्रीलङ्कामा पहिलो चुनाव भएको हो। श्रीलङ्कामा राजपाक्षे परिवारको एक छत्र शासनको विकल्पमा जनताले वामपन्थी नेता अनुरालाई ल्याएका हुन्।
‘संयुक्त राज्य अमेरिका श्रीलङ्कालाई एक स्थिर, समृद्ध र एकताबद्ध समाज निर्माण गर्न सहयोग गर्न प्रतिबद्ध छ।’ विदेश विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अमेरिकाले नवनिर्वाचित राष्ट्रपति अनुरा सँग काम गर्न इच्छुक रहेको पनि बताएको छ।
‘साझा लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मानमा आधारित हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन राष्ट्रपतिमा निर्वाचित अनुरा कुमारा दिसानायकेसँग काम गर्न हामी तत्पर छौँ। हामी हाम्रा राष्ट्रहरू बिचको आर्थिक वृद्धि, सुरक्षा र गहिरो सहयोगलाई प्रवर्द्धन गर्न पनि तत्पर छौँ।’ विज्ञप्तिमा भनिएको छ।