राजापाक्षे भागेपछि श्रीलंकामा पहिलो राष्ट्रपति चुनाव हुँदै
काठमाडौं। श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ। सन् २०२२ को आर्थिक संकटपछि हुन लागेको यो पहिलो निर्वाचन हो।
उक्त संकटका क्रममा व्यापक विरोध प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नुपरेको थियो भने, प्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि राजीनामा दिएका थिए। त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाका राष्ट्रपति बनेका थिए।
आजको निर्वाचनले मुलुकमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ। श्रीलंकामा कर वृद्धि, अनुदान कटौती, र कल्याणकारी योजनामा भएको कटौतीले धेरै जनता अझै पनि समस्यामा छन्। राजनीतिक विश्लेषकहरूका अनुसार, यस पटकको चुनावमा मतदाता आर्थिक मुद्दामा विशेष चिन्तित रहनेछन्। सम्भावित द्वन्द्व र असन्तुष्टि यसै कारणले देखिन सक्ने विश्लेषकहरूको भनाइ छ।
राष्ट्रपतिका प्रमुख उम्मेदवारहरूमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे, जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायक, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमदासा, राजापक्षे परिवारका श्रीलंका पोडूजना पेरामुना पार्टीका नमल राजापक्षे, र पिपुल्स स्ट्रगल एलाइन्सका नुवान बोपेज छन्।
नेपालमा दसैँको साइत बिहान ११:३६ बजे
निर्वाचन आयोगका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म १३,१३४ मतदान केन्द्रमा मतदान हुनेछ। १७ मिलियनभन्दा बढी मतदाता यस निर्वाचनमा भाग लिन योग्य छन्। श्रीलंकामा १८ वर्ष पूरा गरेका र दर्ता भएका नागरिकहरूले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।
राष्ट्रपतिको पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो, दोस्रो, र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्नेछ। पहिलो प्राथमिकताका मतहरूको गणना हुनेछ, र यदि कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा शीर्ष दुई उम्मेदवारका दोस्रो प्राथमिकताका मतहरू गणना गरिनेछ। यस प्रक्रियामा बाहिरिएका उम्मेदवारका मतहरू समर्थन गरिएका शीर्ष उम्मेदवारलाई स्थानान्तरण गरिन्छ।
श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल मात्र राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ।