अमेरिकामा राष्ट्रपति चुनाव: नेपाली भाषी भुटानी मतदाता संख्या ह्वात्तै बढ्यो
गोविन्द गुरुङ/
कारलय, पेन्सिल्भेनिया/ अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा अहिले विश्वजगतको ध्यान अमेरिका तिर केन्द्रित छ ।
राष्ट्रपतिको चुनाव आउन केही साता मात्र बाँकी रहँदा यस पटकको चुनावमा कसले बाजी मार्ला भन्ने सबैको जिज्ञासाको विषय समेत बनेको छ । यस पटकको चुनावमा दुई अमेरिकी शक्तिशाली पार्टी रिपब्लिकन र डेमोक्रयाटिक बिच ठुलै प्रतिस्पर्धा हुने देखिएको छ ।
राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रयाटिक पार्टकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिस मैदानमा उत्रदैछन् ।
दुवै पार्टीका चुनावी उम्मेदवार ट्रम्प र ह्यारिसले आ—आफ्नो भनाई राख्नुका साथै आफूहरूले यस पटकको चुनावमा जित निकाल्नेमा विश्वस्त रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा बताई सकेका छन् । त्यस्तै उम्मेदवार द्वय ट्रम्प र ह्यारिसले यस पटकको चुनाव युवा पुस्ताको लागि निक्कै महत्त्वपूर्ण हुने बताइसकेका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बर ५ तारिखमा हुदैछ ।
करिब ५५ हजार नेपाली भाषीले मतदान गर्ने
अमेरिकी राष्ट्रपतिको यस पटकको चुनावमा नेपाली भाषी भुटानी समुदायले पनि निक्कै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ । राष्ट्रपति चुनावको महत्त्वपूर्ण राज्य मानिएको पेन्सिलभेनिया लगायत अन्य केही राज्यमा बसोबास गर्ने नेपाली भाषीहरूबाट राम्रो मतदान हुने देखिएको छ ।
विगतको राष्ट्रपति चुनावका बेला कम संख्यामा मतदान गरेका थिए । यस पटकको चुनावमा भने नेपाली भाषी भुटानी समुदायमा मतदान गर्नेको संख्यामा निक्कै वृद्धि भएको छ । यसैबिच भुट्नीज कम्युनिटी अफ ह्यारिसवर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले समाज टाइम्ससँग कुरा गदै यस पटकको राष्ट्रपति चुनावमा भुट्निज समाजले निक्कै राम्रो भूमिका खेल्ने बताए ।
‘पहिलेको वर्षमा भन्दा यो वर्ष सेन्ट्रल पेन्सिल्भेनियामा हाम्रो समाजको जनसङ्ख्या धेरै बढेको छ ।’ निरौलाले भने, ‘विगत दुई वर्ष यतादेखि सेन्ट्रल पेन्सिल्भेनियामा अरू राज्यहरूबाट बसाई सराई गरेर यहाँ आएका छन् । अहिले पेन्सिल्भेनियामा करिब ४५ हजारको हाराहारीमा नेपालीभाषीहरु बसोबास गरिरहेका छन् ।’
अध्यक्ष निरौलाले यस पटकको चुनावमा करिब ४५ देखि ५५ हजारसम्मले मतदान गर्ने दाबी गरे। ‘सन् २०२३ को अगस्टसम्ममा सेन्ट्रल पेन्सिल्भेनियामा भुटनिज समाजको जनसङ्ख्या मात्र २५ हजार रहेको थियो । तर, अहिले यहाँ हाम्रो समाजको जनसंख्यामा निक्कै वृद्धि भएको छ । सन् २०११ म हाम्रो समुदायको जनसंख्यामा मात्र करिब २ हजार थियो । अहिले भने जनसङ्ख्या करिब ४५ हजारको हाराहारीमा छ ।’
निरौलाका अनुसार पेन्सिल्भेनियाको ह्यारिसवर्ग, फिलाडेल्फिया, पिट्सबर्ग, ल्यान्कास्टर, योर्क, स्क्यान्टन, रिडिङ, इरि लगायतका क्षेत्रमा नेपाली भाषी भुटानी समुदायको बाक्लो बसोबास छ।
बीसीएच अध्यक्ष निरौलाले योग्य सम्पूर्ण मतदाताहरूलाई आफूलाई मन परेको उम्मेदवार मतदान गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘तपाईँहरू भोट हाल्न योग्य हुनुहुन्छ। आफूले पाएको अधिकारलाई सदुपयोग गर्नुस् ।’
यता पेन्सिल्भेनिया निवासी तथा सामाजिक अभियन्ता ओम अधिकारी पनि यो पटकको चुनावमा मतदान गर्न निक्कै उत्सुक रहेको बताएका छन् । साथै उनले विगतका दिनमा पनि आफ्नो समुदायका व्यक्तिहरूलाई निर्वाचनमा मतदान गर्न सहयोग गरेको समाज टाइम्स सँगको कुराकानीमा बताए ।
‘हामीले सन् २०१४ देखि नै सबै प्रकारका निर्वाचनमा मतदान गर्न शुरु गरेका थियौ । त्यति बेला हामीले हाम्रो समुदायका सबैलाई मतदान गर्नु पर्छ भनेर हप्ता दिनको अभियानमा पनि राखेका थियौ । हामीले त्यति बेला भोटको रजिस्ट्रेसन, भोट हाल्ने तरिका, भाषाको सहयोग तथा सवारीसाधनबाट मतदान केन्द्रसम्म पुर्याउनले काम पनि गरेका थियौ।’
त्यस्तै सामाजिक अभियन्ता राम अधिकारीले यस पटकको राष्ट्रपति चुनावमा आप्रवासीलाई लक्षित गरेर नीति नियम ल्याउनेलाई मतदान गर्ने पनि जानकारी दिए । दोस्रो पटक राष्ट्रपतिको चुनावमा मतदान गर्न लागेका अधिकारीले यस पटकको निर्वाचन निक्कै चुनौतीपूर्ण रहेको बताए ।
त्यस्तै रियल स्टेट एजेन्डाका रूपमा काम गरिरहेका राम अधिकारीले तेस्रो पटक मतदान गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले रिपब्लिकन पार्टीको तुलनामा डेमोक्रयाटिक पार्टीको भिजन राम्रो भएको दाबी गरे।
‘डेमोक्रयाट पार्टीकी उम्मेदवारले क्यालिफोर्नियाको एट्रोनी जेनेरल र युएस सेनेटरमा पनि काम गरिसक्नु भएको छ, उहाँको भिजन निक्कै राम्रो लाग्छ । मध्यम वर्गीय परिवारमा हुकेको हुनाले सबैलाई काम गर्ने अवसर दिने कुरा राम्रो लाग्छ ।’ अधिकारीले भने, ‘मध्यम वर्गीय परिवार बलियो हुँदा अमेरिका बलियो हुन्छ।’
उनले रिपब्लिकन पार्टीले सबै जनालाई सहुलियत मूल्यको हेल्थ केयर प्रदान गर्ने भिजन निक्कै राम्रो लागेको बताए।
अधिकारीले थपे, ‘कम आम्दानी भएको परिवारलाई शिक्षाको क्षेत्रमा पनि डेमोक्रयाटिक पार्टीले नयाँ योजनाहरू बनाउँदै छन् । कम आयस्रोत भएका आमाबुबाहरूले प्रि—स्कुल लगायतका सुविधाहरूबाट वञ्चित भएका छन् । यो सबै समस्याहरूको समाधान गर्ने कुराहरू मन पर्छ । अधिकारीले आफ्नो नेपाली भाषी भुटानी समुदायका व्यक्तिहरूले सही उम्मेदवारलाई चुन्दै मतदान गर्न पनि आग्रह गरेका छन् ।’
किन अस्वीकार गरे ट्रम्पले ह्यारिससँगको बहस
राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना चुनावी प्रतिद्वन्द्वी उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिससगको बाँकी बहस नगर्ने भएका छन् ।
आगामी अक्टोबर २३ तारिखमा अमेरिकी सञ्चारमाध्यम सिएनएनसगको बहसलाई अस्वीकार गरेका हुन् । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले सिएनएनको निमन्त्रणालाई स्वीकार गरेको केही घण्टामा डेमोक्रयाटिक पार्टकी उम्मेदवार ह्यारिससँगको बहस नगर्ने बताएका थिए । यता ह्यारिस भने ट्रम्पसँगको वार्तालापको लागि तयार रहेको बताएकी छिन् ।
ट्रम्पले नजिकिँदै गरेको राष्ट्रपति चुनावमा मतदाताले मतदान गर्नुअघि कुनै पनि बहस नगर्ने अडान राखेका थिए । ट्रम्प र ह्यारिसले यसअघि सेप्टेम्बर १० तारिखमा पहिलो पटक बहस गरेका थिए । त्यस्तै ट्रम्पले गत जुनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सँग पनि बहस गरेका थिए । उक्त , बहसपछि राष्ट्रपति बाइडेनले चुनावी मैदानबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
पेन्सिल्भेनियामा ट्रम्प र ह्यारिसको कडा प्रतिस्पर्धा
राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रयाट्स पार्टीकी उम्मेदवार कमला ह्यारिस बिच पेन्सिलभेनिया राज्यमा कडा प्रतिस्पर्धा हुने भएको छ । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतिको चुनाव समयअघि नै गतिरोध कायमै रहेको जनाएको छ । केही साताअघि भएको रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँगको बहसमा ह्यारिसलाई मतदाताहरूले उच्च अंक दिइए पनि युद्धभूमी दौड चुनाव समाप्त नहरुन्जेलसम्म जारी रहने छ ।
न्यु योर्क टाइम्स, फिलाडेल्फिया इक्वायरर र सिएना कलेजले गरेको सर्वेक्षणका अनुसार सेप्टेम्बर ११ देखि १६ तारिखसम्म २ हजार ४ सय ३७ सम्भावित मतदाताहरूमध्येबाट ह्यारिस र ट्रम्पले ४७ प्रतिशतको बराबर मत ल्याएका थिए ।
यता वासिङ्टन पोष्टले भने एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, विस्कन्सिलगायत राज्यमा दुवै पार्टीका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये अधिकांश मतदाताहरूले मतदानका लागि अत्यन्तै उत्प्रेरित भएको र अमेरिकी लोकतन्त्र रक्षा गर्नु महत्त्वपूर्ण भएको बताएका छन् । मतदातामध्ये ४८ प्रतिशतले ह्यारिस र ४५ प्रतिशत ट्रम्पलाई रोजेका थिए ।
केही सातामा हुने नयाँ अमेरिकी राष्ट्रपतिको चुनाव निक्कै रोमाञ्चक हुने पक्का छ । आम सर्वसाधारण जनताको लागि दुवै पार्टीका उम्मेदवार ह्यारिस र ट्रम्पमध्ये को बन्ला वर्षको अमेरिकी राष्ट्रपति यो जिज्ञासा र कौतुहलताको ठुलो विषय बनेको छ । हेरौँ रोमाञ्चक बनेको राष्ट्रपतिको चुनावमा कुन पाटिले बाजी मार्ला, त्यो भने हेर्न बाँकी छ ।
र यो पनि…