हराएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
काठमाडौं। विभिन्न मितिमा हराएका २२ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई बुधबार हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १३ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
सवारी साधनहरू काठमाडौँ उपत्यका विभिन्न स्थानबाट फेला पारिएको थियो, जसमध्ये सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलेङ्गेटार, जनसेवा, सानेपा, कलंकी, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेबीका स्थानहरू समावेश छन्।
प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए अनुसार, साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले २२ ओटा सवारी साधनसहित ९६ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको छ। साथै, चोरीका १२ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ।
पाँचथरको फालेजुङमा भएको विष्फोटमा मृतकका परिवारलाई ५ लाख राहत
सवारी साधन फेला पारेपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए। सवारी साधन चोरी तथा हराउनबाट जोगाउनका लागि ट्राफिक प्रहरीले सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, र सुरक्षा साइरन जडान गर्न सुझाव दिएका छन्। साथै, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि आग्रह गरिएको छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हॉटलाइन नम्बर १०३, नेपाल प्रहरीको हॉटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जानकारी दिइएको छ।