तीज पर्वका लागि पशुपति क्षेत्रमा तयारी पूरा
काठमाडौँ। हरितालिका (तीज) पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको जानकारी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषले लाइन व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर र निःशुल्क पानी वितरण लगायतका तयारी पूरा भएको जनाएको हो।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार, तीजका अवसरमा चार सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको छ। दर्शनमा आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्थानहरूबाट लाइन को व्यवस्था गरिएको छ।
– पहिलो लाइन : कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका पुल पार गरेपछि राखिनेछ।
– दोस्रो लाइन : मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राखिनेछ।
– तेस्रो लाइन : गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिनेछ।
– चौथो लाइन : गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिर अघिको खुला भागमा राखिनेछ।
मुख्य मन्दिरभित्र प्रवेश गर्दा प्रत्येक ढोकाबाट दुईदेखि तीनवटा लाइनको व्यवस्था गरिएको छ। कोषले तीजका अवसरमा विशेष जिम्मेवारीसहित अधिकृतस्तरका कर्मचारीलाई परिचालन गर्ने तयारी गरेको छ।
साथै, पशुपतिनाथ मन्दिरका चारै ढोका शुक्रबार बिहान तीन बजेदेखि खोल्ने तयारी गरिएको छ। महिला प्रहरी मात्र खटाउने गरी व्यवस्था मिलाइएको छ। कोषले मोबाइलमा तस्बिर खिच्न नदिने, तस्बिर खिचेमा जरिवाना गर्ने नीति पनि लागू गरेको छ।
विशेष ध्यान दिनु पर्ने कुरा:
– पशुपतिनाथ मूल मन्दिर र परिसरको तस्बिर खिच्ने: मोबाइलले तस्बिर खिचेमा जरिवाना लागू गरिएको छ।
– पुरुष दर्शनार्थीलाई: शुक्रबार बिहान छ बजेपछि मन्दिर प्रवेश गर्न नदिने व्यवस्था गरिएको छ।