भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्नले देखायो चासो
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको सम्भावना सम्बन्धी छलफल भएको छ।
चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिहरूले सिंहदरबारमा मन्त्री पाण्डेसँग भेट गरी पोखरा र भैरहवामा उडान भर्ने इच्छाशक्ति व्यक्त गरेका छन्। ४० भन्दा बढी देशमा सेवा दिइरहेको चीनको प्रमुख एयरलाइन्सले नेपालमा पनि सेवा सञ्चालन गरिरहेको छ। हाल चीनको ग्वाङजाओबाट काठमाडौँमा नियमित उडान गरिरहेको यो एयरलाइन्सले पोखरा र भैरहवामा उडान विस्तारको योजना बनाएको छ।
मन्त्री पाण्डेले पोखरा र भैरहवामा उडान भर्ने चाइना साउदर्न एयरलाइन्सको चासोको स्वागत गर्दै भने, “तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवामा उडान भर्ने योजना स्वागतयोग्य छ। यसले द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितमा मद्दत पुर्याउनेछ।”
मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाइदा पुर्याउने विश्वास व्यक्त गर्दै नेपाल एयरलाइन्सले चाइना साउदर्न एयरलाइन्सबाट हवाई सुरक्षासम्बन्धी ज्ञान लिनसक्ने कुरा पनि स्पष्ट गरे। साथै, उनले हवाई उडानका क्रममा नेपाली पक्षबाट कुनै कमजोरी भए त्यसबारे जानकारी गराउन आग्रह गरे।
द्विपक्षीय हित र सम्बन्धलाई सुदृढ गर्न हवाई क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री पाण्डेले यसले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरे।