पेन्सिल्भेनियामा शक्तिशाली हावाहुरी र वर्षाको वितण्डा, १ लाख १३ हजारभन्दा बढी घरपरिवारको विद्युत् सेवा अवरुद्ध
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल। पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यमा थ्याङ्क्स गिभिङको दिन परेको भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ।
खराब मौसमका कारण विभिन्न स्थानमा रुख ढलेका छन् । साथै, विद्युत्का खम्बा तथा तारमा क्षति पुगेको छ। यसका कारण राज्यभर १ लाख १३ हजारभन्दा बढी घरपरिवार तथा ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन्।
राष्ट्रिय मौसम सेवाको स्टेट कलेजस्थित कार्यालयले पेन्सिल्भेनियाका अधिकांश क्षेत्रमा शक्तिशाली हावाहुरीको चेतावनी तथा तीव्र हावासम्बन्धी सतर्कता सूचना जारी गरेको छ।
विद्युत् सेवा प्रदायक कम्पनी ‘पीपीएल’ र मेट–एडले सार्वजनिक गरेको विवरणअनुसार बिहीवार साँझसम्म राज्यभर ठुलो सङ्ख्यामा ग्राहकको विद्युत् सेवा अवरुद्ध भएको छ। साँझ पर्दै जाँदा विद्युत् सेवा गुमाउने ग्राहकको सङ्ख्या थप बढेको जनाइएको छ।
विद्युत् सेवा प्रदायक कम्पनी ‘पीपीएल’का अनुसार पेन्सिल्भेनियामा कम्पनीका ८४ हजार १०० भन्दा बढी ग्राहकको विद्युत् सेवा अवरुद्ध भएको छ।
यसअन्तर्गत ल्यान्कास्टर काउन्टीमा २० हजारभन्दा बढी र डाउफिन काउन्टीमा ९ हजार ५०० भन्दा बढी ग्राहक प्रभावित भएका छन्। त्यस्तै, अर्को विद्युत् सेवा प्रदायक कम्पनी मेट–एडले पेन्सिल्भेनियामा २८ हजार ९०० भन्दा बढी ग्राहकको विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ।
कम्पनीका अनुसार बर्क्स काउन्टीमा ८ हजारभन्दा बढी ग्राहक प्रभावित भएका छन्।
त्यस्तै, फ्र्याङ्कलिन काउन्टीमा १ हजार २०० भन्दा बढी, लेबनान काउन्टीमा ४ हजार ५०० भन्दा बढी र योर्क काउन्टीमा ४ हजार ५०० भन्दा बढी ग्राहकको विद्युत् सेवा अवरुद्ध भएको छ।



















