सत्तारुढको अभिव्यक्तिहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेका संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरेका छन्।
शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले भने, “शहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धिहरूलाई उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि धावा बोल्ने छूट कसैलाई छैन। यस्ता प्रवृत्तिको भण्डाफोर गर्न आवश्यक छ।”
जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएको अवस्थाबारे कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, “संविधानले जनयुद्धलाई सशस्त्र संघर्षको रूपमा मान्यता दिएको छ, र सबै दलहरूले यसमा हस्ताक्षर गरेका छन्। तर अहिले केही सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या र आतंकको रूपमा प्रस्तुत गर्दै संविधानविपरीत कुरा गरिरहेका छन्। यस्तो प्रवृत्तिको भण्डाफोर गर्नुपर्छ र संविधानमा भएको यथार्थलाई जनतामा स्पष्ट रूपमा ल्याउनुपर्छ।”
प्रधानमन्त्रीको पदमा रहेका नेताहरुले आफूलाई ‘राउण्ड किक’ हानेको भनेर भनिरहेका विषयमा टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, “अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनीहरूले अनुभव गर्नेछन्।”
जनयुद्धका शहिदलाई सम्मान गर्ने सवालमा, अध्यक्ष प्रचण्डले पार्टीले निरन्तर काम गरिरहेको र शहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको जानकारी दिए। “यो हामी सबैका लागि खुशीको र गर्वको विषय हो,” उनले भने। शहीदहरूको मान्यता र सम्मानलाई जनस्तरसम्म पुर्याउन कार्यकर्तालाई ध्यान दिन आग्रह गर्दै उनले, “संगठन बनाउन र कमजोरी सच्याउनको अवसर प्राप्त भएको छ।”
फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषद्को निर्णयलाई अदालतले रोक्ने विषयमा, अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न कुनै बाधा नपर्नु पर्ने विश्वास व्यक्त गरे।
पार्टीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसलाई एकरूपता दिने प्रक्रिया चलिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “हामी पार्टी पुनर्निर्माणको प्रक्रियामा छौं र आगामी केन्द्रीय समिति बैठकबाट सहिदको स्मृति दिवसबारे एकरूपता कायम गर्ने व्यवस्था गरिनेछ।”