प्रधानमन्त्री ओलीले गुमाए ७७ हजार फेसबुक फलोअर्स
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन्।
मंगलबार अपराह्न, बालेन शाहको सचिवालयले फेसबुकले उनको स्टाटस हटाएको दाबी गरेको थियो। सचिवालयका अनुसार, कसैले रिपोर्ट गरेपछि फेसबुकले सो पोस्ट डाउन गरेको थियो।
त्यसपछि बालेनले पोस्ट हटाउनुको सट्टा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित अर्को पोस्ट गरे। उनले उक्त पोस्टमा आफ्नो स्टाटस सरकारले हटाएको आशय व्यक्त गरे।
बालेनका समर्थकहरूले यस घटनापछि ओलीलाई फेसबुकमा अनफलो गर्न थालेका छन्। मंगलबार ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए, तर बुधबारसम्म यो संख्या घटेर ५ लाख ८९ हजारमा पुगेको छ। अहिलेसम्म ७७ हजारले उनलाई अनफलो गरिसकेका छन्।
भदौ १६ गते, बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदारको रूपमा राखेर हिंसा गरेको दाबी गर्दै फेसबुकमा एक पोस्ट गरेका थिए। शर्मामाथि कुनै कारबाही नभएकोमा बालेनले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गरेका थिए।
यसै घटनाले विवादको सुरुवात गर्यो, जसले गर्दा अहिले अनफलो अभियानसम्मको स्थिति सिर्जना भएको छ।