पदक विजेता पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइयो
काठमाडौं। पेरिस पारालिम्पिक्समा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भव्य नगर परिक्रमा गराएको छ। पलेशाको ऐतिहासिक सफलता र सम्मानको प्रतीकका रूपमा गरिएको यस परिक्रमा एअरपोर्टदेखि शुरू भएर गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा सम्पन्न भएको थियो।
पलेशा, जो पारा तेक्वान्दो खेलाडी हुन्, ५७ किलोग्राम महिला विधामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जित्न सफल भइन्। यो नेपालको लागि पहिलो पटक ओलम्पिकमा आधिकारिक पदक जित्ने उपलब्धि हो।
पारालिम्पिक्समा पलेशासँगै पौडी खेलाडी भीमबहादुर कुमाल र तेक्वान्दो खेलाडी भरतसिंह महता पनि सहभागी भएका थिए। पेरिस पारालिम्पिक्समा कांस्य पदक जितेका पलेशा गोवर्धन र उनका साथीसहितको नेपाली पारा तेक्वान्दो टोली बिहान स्वदेश फर्किएको हो। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्वागत गर्नुभयो।