बेलायतमा गजेन्द्रले फेरि जिते ‘नेप्ब्रिज गल्फ’
बेलायत/ बेलायतमा सम्पन्न नेप्ब्रिज गल्फ प्रतियोगिताको उपाधि गजेन्द्र ‘ग्याज’ गुरुङले जोगाएका छन्। उनले दोस्रो संस्करण पनि जित्दै उपाधि जोगाएका हुन्। प्रतियोगिताको पहिलो संस्करण पनि ग्याज गुरुङले जितेका थिए।
गोर्खा गल्फ सोसाइटीको आयोजनामा शनिवार क्याम्बर्लीस्थित पाइन रिज गल्फ क्लबमा भएको प्रतियोगितामा ग्याजले १८ होलको खेलमा ४ अन्डर पार ६८ स्कोर गर्दै उपाधि जितेका हुन्। प्रतियोगितामा नीलकुमार थापा दोस्रो र महेन्द्र फगामी तेस्रो भए।
नेटतर्फ तेज लिम्बु पहिलो, आशबहादुर गुरुङ दोस्रो, र अशोक गुरुङ तेस्रो भए। लिजेन्डतर्फ बालकृष्ण गुरुङ र देव घलेले क्रमशः पहिलो र दोस्रो स्थान हासिल गरे। स्टेबल फोर्डतर्फ पूर्ण गर्बुजा र जीवन फागो प्रथम र दोस्रो बने।
नोभेल्टिजतर्फ तेज लिम्बु, सरोज राई, र प्रशान्त गुरुङले ट्रफी जितेका छन्।
नेप्ब्रिज कम्पनीले प्रतियोगिताको टाइटल स्पोन्सरको भूमिका निभाएको थियो। यस कम्पनीले बेलायतमा विभिन्न व्यावसायिक तालिमहरू सञ्चालन गर्नुका साथै सेक्युरिटी, हेल्थकेयर, हस्पिटालिटी, र वेरहाउस क्षेत्रमा दक्ष जनशक्ति आपूर्ति गर्दै आएको छ। प्रतियोगितामा सयभन्दा बढी नेपाली गल्फरहरूले सहभागिता जनाएका थिए।
विजेता खेलाडीहरूलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो।