चौथो साथी कपको उपाधि ह्यारिसबर्ग गोर्खालाई
मेरील्याण्ड,अमेरिका/ चौथो साथी कप क्रिकेट प्रतियोगिताको उपाधि ह्यारिसबर्ग गोर्खाले जितेको छ।
‘लेबर डे’ सप्ताहान्तमा आयोजित प्रतियोगिताको सोमबार मेरील्याण्डको हाईल्याण्ड हलशप रोडमा अवस्थित स्कूलिङ्ग मिलर पार्क मैदानमा सम्पन्न फाइनलमा दुई पटकको विजेता भर्जिनियाको एभरेष्ट लाइन्स क्रिकेट क्लबलाई दुई विकेटले हराउँदै ह्यारिसबर्ग गोर्खाले लगातार दोस्रो पटक उपाधि जितेको हो।
पेन्सिल्भेनियाको ह्यारिसबर्ग गोर्खा साबिक विजेता हो। ह्यारिसबर्ग गोर्खाले गत वर्ष बोस्टन अल स्टारलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो।
एभरेष्ट लाइन्स पनि साथी कपको पहिलो र दोस्रो संस्करणको विजेता हो। तेस्रो पटक उपाधिको खोजीमा रहेको एभरेष्टले सोमबार दिउँसो ह्यारिसबर्ग गोर्खा विरुद्ध टस जितेर पहिलो व्याटिङ्ग रोजेको थियो। निर्धारित २० ओभरमा पाँच विकेट खर्चेर एभरेष्टले एक सय ६ रनको स्कोर खडा गरेको थियो।
एभरेष्टका लागि विवेक कार्कीले सर्वाधिक अविजित ३८ रन जोडे। ३७ बलको सामना गरेका कार्कीले एक चौका समेत प्रहार गरेका थिए। यस्तै धिरज पाण्डेले २२ तथा विनोद कार्कीले पनि १५ रन जोडेका थिए।
एभरेष्टलाई रोक्न ह्यारिसबर्ग गोर्खाका बासु ढुङ्गानाले तीन तथा भगत भण्डारीले दुई विकेट लिए।
जवाफमा एक सय सात रनको लक्ष्य ह्यारिसबर्ग गोर्खाले आठ विकेट खर्चेर मात्र तीन वल अगाडि पुरा गर्यो।
विकेट किप्पर ब्याट्सम्यान खगिन धिमालले निकै सम्हालिएको पारी खेल्दै ह्यारिसबर्ग गोर्खालाई उपाधि रक्षा गराए । त्यसो त अन्तिम ओभरमा खगिनलाई तारा अधिकारीले पनि साथ दिए।
५४ बलको सामाना गरेका धिमालले अविजित ४४ रन जोडे। यो क्रममा उनले तीन छक्का प्रहार गरे। ह्यारिसबर्ग गोर्खाले १७ ओभर तीन बलमा चार्लिन न्यौपानेलाई आठौँ विकेटको रूपमा गुमाएको थियो।
त्यस पछि क्रिजमा आएका तारा अधिकारीले धैर्यता पूर्वक व्याटिङ्ग गरे। अविजित रहेका ताराले नौ बलमा दश रन जोड्दै तीन बल अगाडि टिमलाई रोमाञ्चक जित दिलाए।
ह्यारिसबर्ग गोर्खाका कप्तान तथा ओपनर सुक थिङ्ग मात्र तीन बलमा शून्य रनमा पेभिलियन फर्किएको पारीमा अर्का ओपनर भगत भण्डारीले ३२ रन जोडेका थिए। भगतले ३० बल खेल्ने क्रममा तीन चौका प्रहार गरे।
भगत तेस्रो ओभरमा क्रिजमा आएका थिए। जुन समय ह्यारिसबर्ग गोर्खाले मात्र १२ रन जोड्दा चार विकेट गुमाएको थियो। १३ ओभरमा पेभिलियन फर्कनु अगाडि भगत र खगिनले ४६ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। भगत, खगिन र तारा बाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन्।
प्रतिस्पर्धात्मक बनेको खेलमा एभरेष्टका नीर गुरुङले तीन र सुजन खनालले दुई विकेट लिएर । यस्तै दीपक पाठक, विनोद कार्की र अभिजित राईले एक एक विकेट लिएका थिए।
फाइनल खेलमा प्लेयर अफ दि म्याच भगत भण्डारी भए। प्रतियोगितामा ह्यारिसबर्ग गोर्खाका सन्जोग बस्नेत मस्ट भ्यालुएवल प्लेयर घोषित भए। ह्यारिसबर्गकै खगिन धिमाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। यसै गरी एभरेष्ट लाइसन्का नीर बस्नेत उत्कृष्ट बलर र फिल्डर घोषित भए।
साथी बाल्टिमोरद्वारा आयोजित तीन दिने प्रतियोगितामा १२ टिमले भाग लिएका थिए। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलाइएको थियो।
हरेक समूहका विजेता सेमिफाइनलमा पुगेका थिए। सोमबार नै भएको सेमिफाइनलमा ह्यारिसबर्ग गोर्खाले रातो भाले र एभरेष्ट लाइन्सले आयोजक साथी बाल्टिमोर क्रिकेट टिमलाई हराएको थियो।
प्रतियोगिताको उपाधि सँगै ह्यारिसबर्ग गोर्खाले ६ हजार अमेरिकी डलर नगद पुरस्कार पायो। यस्तै दोस्रो भएको एभरेष्ट लाइन्सले तीन हजार अमेरिकी डलर पायो।
साथी बाल्टिमोरका अध्यक्ष प्रवीण खड्का अनुसार दोस्रो पुरस्कारको प्रायोजन गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत युवा, विद्यार्थी तथा खेलकुद विभाग र एनआरएनए मेरील्याण्ड च्याप्टरले गरेका हुन्।
फोटो सौजन्य: जातो क्रिएसन