टंक मगर र एम डुनह्याम बने ‘इन्सपायर टु एक्सप्लोर’ दौडका च्याम्पियन
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिलभेनिया / टंक मगर र एम डुनह्यामले ‘इन्सपायर टु एक्सप्लोर’द्वारा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि जितेका छन्।
मेकानिक्सबर्गस्थित एड्भेन्चर पार्कमा शनिवार सम्पन्न प्रतियोगितामा मगर पुरुषतर्फ र डुनह्याम महिलातर्फ प्रथम भएका हुन्।
पुरुषतर्फ विजेता टंक मगरले निर्धारित दूरी १९ मिनेट ४५ दशमलव १६ सेकेन्डमा पूरा गरे। राम थापाले २१ मिनेटमा दौड पूरा गर्दै दोस्रो तथा हेम महत तेस्रो भए।

महिलातर्फ डुनह्यामले निर्धारित दुरी २८ मिनेट ८ दशमलब ७९ सेकेन्डमा पुरा गरिन् । डियना बेली दोस्रो तथा अबिगेइल राई तेस्रो स्थानमा रहे। प्रतियोगितामा विभिन्न उमेर समूहका धावकधाविकाले पनि प्रतिस्पर्धा गरेका थिए।
१९ वर्षमुनिको उमेर समूहमा सुजन अधिकारी पुरुषतर्फ र अगुषा पौडेल महिलातर्फ विजेता बने। अधिकारीले २२ मिनेट ४२ दशमलव ५८ सेकेन्डमा दौड पूरा गरे भने पौडेलले ३५ मिनेट १३ दशमलव ९९ सेकेन्डमा निर्धारित दूरी पार गरिन्।

त्यसैगरी, २० देखि २९ वर्ष उमेर समूहमा मदन मगर र एल्सा प्रधान प्रथम भए। ३० देखि ३९ वर्ष उमेर समूहमा फुर्बा तामाङ र सरस्वती रिजालले उपाधि जिते। ४० देखि ४९ वर्ष उमेर समूहमा ओम पोखरेल र आरती क्षेत्री विजेता बने।

५० देखि ५९ वर्ष उमेर समूहमा लक्ष्मण भण्डारी र जोडी मोरोले पहिलो स्थान हासिल गरे। यस्तै, ६० देखि ६९ वर्ष उमेर समूहमा पाल्मार्ड पाल्मर विजेता बने।
‘इन्सपायर टु एक्सप्लोर’ले विगत केही वर्षदेखि शारीरिक स्वास्थ्य, सक्रिय जीवनशैली र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। दौड प्रतियोगिताले विभिन्न समुदायका व्यक्तिलाई एकै ठाउँमा ल्याउनुका साथै नियमित व्यायाम, आपसी सद्भाव र स्वस्थ जीवनशैलीप्रति जनचेतना बढाउन सहयोग पुर्याउँदै आएको छ।

यस्ता कार्यक्रमले उमेर र पृष्ठभूमि फरक भएका व्यक्तिलाई समेत खेलकुदमा सहभागी हुन प्रेरित गरेको छ । प्रतियोगितामा नेपाली, नेपालीभाषी भुटानी तथा अन्य समुदायका धावकधाविकाको सहभागिताले स्थानीय स्तरमा समुदायको सक्रियता र खेलकुदप्रतिको रुचिलाई पनि उजागर गरेको छ।
‘इन्सपायर टु एक्सप्लोर’को यो पहलले शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्वास्थ्यको महत्त्वलाई समुदायसम्म पुर्याउन योगदान दिइरहेको छ।

















