ह्यारिसबर्गमा तीज उत्सव: खुवाइयो दर, जेष्ठ नागरिकको सम्मान, नृत्यमा ल्यानक्यास्टरका दिव्य र आयुसा प्रथम
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा तीज उत्सव मनाइएको छ।
भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच), ब्युमिङ डान्स स्टुडियो र नेपाली एसोसिएसन क्लबको संयुक्त आयोजनामा शनिवार ह्यारिसबर्गमा खुल्ला स्थानमा सामूहिक रूपमा तीज उत्सव मनाइएको हो।
आयोजक संस्थाहरूका अनुसार ह्यारिसबर्गमा खुल्ला ठाउँमा बृहत् सहभागितामा तीज उत्सव मनाइएको यो पहिलो अवसर हो । आइवी रिज पार्क कार्यक्रममा लगभग एक हजार जनाको सहभागिता रहेको आयोजकको दाबी छ। दिउँसो करिब दुई बजे देखि शुरु भएको कार्यक्रम साँझ पाँच बजे सम्म सञ्चालन भएको थियो।
स्वतारा टाउनशिप कमिश्नर बोर्ड अध्यक्ष शैला एलिस सहितका पदाधिकारी तीजको शुभ कामना दिन कार्यक्रम स्थलमा आइपुगेकी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष एलिसले मतदाता नामावलीमा नाम दर्ता गर्न र मतदान गर्न अपिल गरिन्।
महोत्सवमा नृत्य प्रतिस्पर्धा गराइएको थियो। यस क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न नृत्य स्कुलका विद्यार्थी प्रतिस्पर्धामा सहभागी थिए। १२ समूहले भाग लिएको नृत्य प्रतिस्पर्धामा ल्यानक्यास्टरका दिव्य घिमिरे र आयुसा चापागाईँ पहिलो भए। यसै गरी मेकानिसबर्ग जुम्बा समूह दोस्रो भयो।
कार्यक्रममा महिला जेष्ठ नागरिकको सम्मान गरिएको थियो। ७५ वर्ष माथिका एक दर्जन जेष्ठ नागरिकहरू सम्मानित भए। जसमा किरण बस्नेत र पवित्रा अधिकारी दुई जना ९७ वर्ष उमेरका थिए। उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
किरण र पवित्रा दुवैले धेरै पछि खुल्ला ठाउँमा तीज मनाउन पाएकोमा खुसी व्यक्त गरे। ‘अर्काको देशमा आएर पनि यसरी तिज मनाउन पाइयो खुसी छु।’ किरणले भनिन्।
कार्यक्रममा उपस्थितलाई ‘दर’ समेत खुवाइएको थियो। दर खाने समय पिरो चटपटे र रेल रोटीमा ठुलो घुइँचो लागेको थियो।
कार्यक्रमको अन्त्यमा उपस्थित सबै जनाले तीज गीतमा नाचगान गरेका थिए।
कार्यक्रममा विभिन्न संस्थाका स्वमय सेवकहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल समेत गरेका थिए। अमेरिकामा यस पटक
नोभेम्बर ५ तारिख चुनावको दिन हो। पेन्सिल्भेनियामा अक्टोबर २१ तारिख सम्म साँझ ५ बजे सम्म मतदाता नामावली दर्ता गराउनु पर्ने हुन्छ।
यसै बिच बीसीएचका अध्यक्ष तिलक निरौलाले तीज महोत्सव सोचे भन्दा राम्रो गरी सम्पन्न भएको बताए।
‘हामीले सोचे भन्दा राम्रो भयो।’ कार्यक्रम सकिए पछि समाज टाइम्स सँगको कुराकानीमा बीसीएच अध्यक्ष निरौलाले भने, ‘सहभागिता हामीले अपेक्षा गरेको भन्दा धेरै भयो, झन्डै एक हजार मानिस उपस्थित भए, मौसमले पनि साथ दियो।’
उनले नेपाली भाषीको संस्कृतिको जगेर्ना गर्न पनि यस्ता कार्यक्रम उपयोगी हुने बताए।
तीज उत्सवका थप तस्बिरहरु :