पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नेपथ्य, दर्शकमा कीर्तिमानी कायम गराउने आयोजकको लक्ष्य
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / नेपाली संगितको चर्चित समूह नेपथ्य ब्यान्ड आफ्नो सांगितिक प्रस्तुतिका लागि अहिले अमेरिका भ्रमणमा छ। लोक भाकालाई त्यसको मर्म नमारी पप शैलीका गाउनु नेपथ्यको विशेषता हो। जसका कारण यो नेपाली समुदायमा नयाँ र पुराना दुवै पुस्तामा लोक प्रिय छ। यसका प्रमुख गायक अमृत गुरुङ हुन्।
नेपथ्यले अमेरिकामा ६ ठाउँमा आफ्नो सांगितिक प्रस्तुति दिएको छ। एक दशक पछि पुन अमेरिका भ्रमण गरेको नेपथ्य जहाँ जहाँ पुग्छ त्यहाँ दर्शकको उपस्थिति उलेख्य रहेको छ।
ह्यारिसबर्ग पनि नेपाली भाषीहरूको बाक्लो बसोबास भएको ठाउँ हो। यहाँ विशेष गरी नेपाली भाषी भुटानी समुदायको बाहुल्यता छ। नेपथ्यको ह्यारिसबर्गमा सेप्टेम्बर ७ तारिख साँझ कार्यक्रम तय भएको छ। स्थानीय आयोजक एसएन इन्टरटेन्टमेन्टले सेप्टेम्बर ७ तारिख ह्यारिबर्गमा नेपाली भाषीहरू बिचमा हुने सांगितिक कार्यक्रममा कीर्तिमानी दर्शक कायम गराउने लक्ष्य बनाएको जनाएको छ।
‘अहिले सम्मको स्थिति हेर्दा, सजिलै हाउस फुल हुने देखिन्छ।’ एसएन इन्टरटेन्टमेन्टका म्यानेजर नीरज मगरले समाज टाइम्स सँग भने। नेपथ्यको सो ह्यारिसबर्ग डाउन टाउनमा रहेका दि अडिटरियममा हुँदै छ। सो अडिटरिममा दर्शक क्षमता १५ सय रहेको छ।
‘ह्यारिसबर्गमा नेपाली कलकारको कार्यक्रममा अहिले सम्मकै धेरै दर्शक नेपथ्यकै कार्यक्रममा हुने छन्।’ नीरज उत्साहित छन्।
‘हामीले अनलाइन र विभिन्न स्टोरहरूमा टिकट बिक्रीमा राखेका छौ, अहिले सम्म अनलाइनमा ६ सय भन्दा बढी टिकट बिक्री भइसकेको देखिन्छ, स्टोरहरूले पनि हामीलाई राम्रै प्रतिक्रिया दिएका छन्।’ कार्यक्रम बारे जानकारी दिन शनिवार मेकानिसबर्गको फेदर स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा एसएन इन्टरटेन्टमेन्ट समूहका सदस्य उज्ज्वल योगीले भने।
एसएन इन्टरटेन्टमेन्टका अर्का सदस्य प्रवीण अधिकारीका अनुसार टिकट मूल्य ७० र ९० गरी दुई थरी कायम गरिएको छ। अधिकारीले कार्यक्रम हुने दिन पार्किङको कुनै समस्या नहुने बताए।
नेपथ्य ब्यान्डको ह्यारिसबर्गमा हुने कार्यक्रमबारे आयोजित पत्रकार सम्मेलनको भिडियो।