पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा तीज विशेष कार्यक्रम सेप्टेम्बर एक तारिख
ल्यानक्यास्टर/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा तीज विशेष कार्यक्रम सेप्टेम्बर एक तारिख आइतबार हुने भएको छ।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाको आयोजनामा तीज कार्यक्रम हुन लागेको हो।
‘हामीले अघिल्लो वर्ष आयोजना गरेकै ठाउँमा यस पटक पनि कार्यक्रम गर्ने भयौ।’ एसोसिएसनकी अध्यक्ष अर्चना शर्माले समाज टाइम्स सँग भनिन्।
शर्माका अनुसार ब्ल्याक ओक ड्राइभ (290 Black Drive, Lancaster pa, 17602) मा रहेको हलमा दिउसो चार बजे देखि साँझ दश बजे सम्म विभिन्न कार्यक्रमको आयोजना गरी तीज मनाइने छ।
एसोसिएसनमा हाल सिङ्गो कार्यसमिति नै महिला छन्। सम्भवतः यो अमेरिकामा नै पहिलो र एक मात्र संस्था हो जहाँ महिला मात्र कार्यसमितिमा रहेका छन्। नयाँ कार्यसमिति आए पछि यो दोस्रो तीज कार्यक्रम हो।
गत वर्ष धूमधाम सँग तीज मनाएका थिए। ‘हामी गत वर्षको भन्दा पनि राम्रो कार्यक्रम गर्ने छौ’ अध्यक्ष शर्माले भनिन्। ‘दर खाने, नाचगान नै मुख्यतया र बालबालिका लागि पनि हामीले विशेष कार्यक्रम गर्ने छौ।’
कार्यक्रममा सहभागी हुन गैर सदस्यहरूलाई २५ डलर शुल्क तोकिएको छ। दश देखि १७ वर्ष उमेरका ले १० डलर तिर्नु पर्ने छ। यस्तै सदस्य रहेका तर १८ वर्ष भन्दा माथिकाले १५ डलर शुल्क तिर्नु पर्ने छ। दश वर्ष मुनिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।