पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा हुने ‘एक विश्व महोत्सव’ मा नेपाली समुदायको पनि सहभागिता
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा हुने ‘एक विश्व महोत्सवमा’ नेपाली समुदायको पनि सहभागिता हुने भएको छ।
विश्वभरबाट आइ ल्यानक्यास्टर काउन्टीमा बसोबास गर्नेहरूलाई एउटै धागोमा एकबद्ध गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिँदै आएको बताइको छ। महोत्सव सेप्टेम्बर आठ तारिख बिहान ११ देखि साँझ पाँच बजे सम्म फ्राङ्कलिङ्ग एन्ड मार्सल कलेजमा हुने छ।
‘हामीले यस पटक भाग लिने पक्का भयो, मैले स्टल समेत बुक गरिसकेको छु।’ पेन्सिल्भेनिया नेपाली एसोसिएसनकी अध्यक्ष अर्चना शर्माले समाज टाइम्स सँग भनिन्।
ल्यानक्यास्टरमा यो महोत्सव हुन लागेको यो तेस्रो अवसर हो। सामुदायिक कार्यक्रमको परिकल्पनाका साथ यो कार्यक्रम आयोजना हुँदै आइएको छ। महोत्सवमा विश्वभरका जातजातिका संस्कृति प्रस्तुत हुने गर्दछ। यसै गरी आफ्नो मौलिक भेषभुषा प्रदर्शन पनि गर्ने गरिन्छ।
यस्तै विश्वभरका खानाको स्वाद पनि एउटै छानामा लिन पाइने व्यवस्था गरिँदै आएको छ। यस्तै हस्तकलाका सामाग्रीको किनबेच पनि हुने जनाइएको छ। यस्तै मनोरञ्जनमा सहभागी संस्थाहरूद्वारा नृत्य, वाद्य सङ्गीत, गायन र कथाहरू समावेश हुनेछन्।
‘हामी विभिन्न ठाउँबाट आएका हौँ, तर एउटै समुदायको रूपमा आउँछौँ। कार्यक्रमले विभिन्न समुदायको एकीकरणलाई सङ्केत गर्दै ल्यानक्यास्टर काउन्टीलाई प्रतिनिधित्व गर्दछ, एक काउन्टीको समृद्धिमा गर्व गर्दछ।’ महोत्सव आयोजक पीट बायर्न पेटले भनेका छन्,’
हाम्रो भिन्नता र विलयले हाम्रो एकतालाई समृद्धि र मीठो बनाउँछ। हामीलाई एक अर्काको खाँचो छ र हामी धेरै कुरा सम्म एक संसार हुन आवश्यक छ। मुख्य विषय हाम्रो संस्कृतिको साझा हो ।’
‘यो कार्यक्रमको लागि कुनै प्रवेश शुल्क र पार्किङको लागि कुनै शुल्क लाग्ने छैन।’ आयोजकले भनेका छन्।
ल्यानक्यास्टरमा रहेको नेपाली भाषी समुदायका बुद्धिजीवी तथा समाजसेवी खेम सुवेदीले महोत्सव आफूहरूका लागि पनि उपयोगी हुने बताए।
‘ल्यानक्यास्टरमा हाम्रो उपस्थिति देखाउन पनि यस्ता कार्यक्रममा भाग लिनु पर्छ, जहाँ हामीले हाम्रो कला संस्कृति र परम्परा अन्य समुदाय सँग साझा गर्न पाउँछौ।’ सुवेदीले भने।
आयोजकले पनि यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानी समुदायलाई पनि महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।
यसै बिच एसोसिएसनकी अध्यक्ष आचार्यले महोत्सवमा सहभागी हुँदा आ आफ्नो मौलिकता झल्कने पोशाक लगाइदिन आग्रह गरेकी छिन्।