प्रवासमा संस्कृति पुस्तान्तरणमा इन्ट्रा फाउन्डेसन
गण्डकीपुत्र
संसारमा प्रथम र दोस्रो विश्व युद्धले अनेक प्रकारको ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नकारात्मक असरहरू विश्व सामु छोडेर गयो । हजारौँ लाखौँ मानिसहरू आफू बसिरहेको थात थलो छोडेर शरणार्थी जीवन बिताउन बाध्य भए भने कैयौँ जातिले आफ्नो भाषा र संस्कृति बचाउन अनेकन् हन्डर र अवरोधको सामना गर्नु पर्यो । कति त जाती नै लोप भएर गए र आफूहरूलाई बचाउन कतिपयले आफूहरूलाई अर्कै जातिमा रूपान्तरण गरे।
विभिन्न कालखण्डमा मा विभिन्न कारणले अनेक मुलुकमा बसोबास गर्न पुगेका नेपालीको सङ्ख्यालाई विश्व युद्धको प्रभावले बढोत्तरी गरिदियो । प्रथम विश्व युद्ध भन्दा दोस्रो विश्व युद्धले नेपालीलाई विश्वव्यापी बनाई दियो । विभिन्न मुलुकका सेनामा भर्ती भएका नेपाली युवाहरू युद्ध गर्दै अनेक देश पुगे र त्यतैको स्थायी बासिन्दा भए । अवसर र कामको खोजीमा गएका नेपाली र युद्धको सन्दर्भमा त्यतै बसेका नेपालीले आफ्नो अस्तित्वको रक्षा गर्न , आफ्नो भाषा र संस्कृति बचाउन विभिन्न कर्महरू गर्दै गए ।
नेपाली भाषाको उन्नयनमा नेपालमा जस्तै भुटान , बर्मा , भारतको दार्जिलिङ लगायत आषाम र अन्य स्थानमा धेरै कामहरू भए । सन् १९५२ मा भारतको हिमान्चल प्रदेशको तोतारानी छाउनी धारा खोलामा जन्मिएका मास्टर मित्रसेन थापाले गीत र नाटक मार्फत भाषा संरक्षणमा ठुलो योगदान गरेको कुरालाई सम्झनु यहाँनेर वाञ्छनीय हुन्छ । यिनले गोर्खा सुधार केन्द्र खोलेर नेपाली जातीको पहिचान कायम राख्न योगदान गरेका थिए । कुनै बेला नेपाली भाषा र संस्कृतिको केन्द्र जस्तै थियो दार्जिलिङ । अहिले पनि सिक्किम लगायत , बर्मा ,भुटान र अन्य देशमा रहेका नेपालीहरू नेपाली जातीको पहिचान बचाउन भाषा र संस्कृतिको क्षेत्रमा कृयाशिल छन् ।
नेपालमा यो बिचमा भाषाको विकास र बिस्तारका लागि थुप्रै साहित्यिक संघ संस्थाले काम गरिरहेका छन् । यता कामको खोजीमा खाडी मुलुक , युरोपीय देशहरू र अमेरिका , क्यानडा तिर रहेका नेपाली र अरू अन्य मुलुकबाट अमेरिका , क्यानडा , अस्ट्रेलिया तिर रहेका नेपालीहरू नेपाली जातीको अस्तित्व र भाषिक पहिचान बचाउन कतै एक्लै कतै संयुक्त रूपमा काम गरिहरेका छन् ।
यस प्रकारका भाषिक र सांस्कृतिक अभियानका हुँदाहुँदै पनि नेपाली भाषा, संस्कृति र नेपाली जाती पहिचानको सङ्कटमा पर्दै गै रहेको छ । यो समस्या नेपालीको मातृभूमि या पृतृभुमीमै देखिएको छ भने अन्यत्र यस खालको समस्या अझ विकराल देखिँदै छ । सञ्चारमा आएको अदभूत क्रान्ति र संचारको क्षेत्रमा पछिल्लो पुस्ताको बढ्दो आकर्षण र त्यसको प्रभावले युवाहरूको जीवनशैलीमा आएको परिवर्तन र शक्ति राष्ट्रको सांस्कृतिक र भाषिक आक्रमण गर्ने प्रवृत्ति, विभिन्न देशमा भएका नेपालीहरू त्यहीको भाषा र रहन सहनमा रमाउँदै बस्नु यिनै कुरा नेपाली भाषा , कला र संस्कृतिलाई लोपोन्मुख बनाउने तत्त्वहरू हुन । यो कुरालाई मनन गरेर नबढ्ने हो भने र सांस्कृतिक पुस्तान्तरणमा ध्यान नदिने हो भने
आउँदो पुस्तामा हाम्रो समग्र भाषिक र सांस्कृतिक मूल्य र मान्यताहरू विलुप्त भएर जाने कुरा निश्चित छ । यही नेपाली जातिको भाषिक र सांस्कृतिक मूल्य र मान्यतालाई पुस्तान्तरणको बिहङगम सोच राखेर समाज सेवी डिल्ली अधिकारीले विगत कहीँ वर्ष देखि इन्ट्रा फाउन्डेसन नामक संस्था गठन गरेर निरन्तर काम गरिरहेका छन् ।
भुटानको सामान्य किसान परिवारमा जन्मिएका डिल्ली अधिकारी सन् १९९० मा आठ वर्षको उमेरमा शरणार्थीको रूपमा नेपाल प्रवेश गरेका हुन । भुटानमा त्यस बेला भाषिक र जातीय पहिचान सहितको प्रजातान्त्रिक आन्दोलनले एउटा उचाइ लिई रहेको बेला त्यो आन्दोलन दबाउन भुटानी शासकहरूले नेपाली भाषी भुटानीलाई मात्र होइन त्यो आन्दोलनलाई समर्थन र सहयोग गर्ने जो कोहीलाई चरम यातना दिने , घरमा आगो लगाई दिने , बिना कारण गिरफ्तार गर्ने, छोरी चेलीहरूको अस्मितामा प्रहार गर्ने जस्ता ज्यादती गरेपछि आजित भएका नेपाली भाषी भुटानीहरू आत्मरक्षाकालागि देश छोड्न बाध्य पारिए । त्यही लर्कोमा अधिकारी पनि आफ्ना पिता छबिलाल अधिकारीका पछि लागेर नेपालमा शरणार्थीको रूपमा बसेका थिए ।
भुटानको सर्बाङ जिल्लाको सुरे ब्लकको गोङ भन्ने गाउँमा सन् १९८१ मा जन्मिएका डिल्ली अधिकारीले सिलिगडी स्थित मणिपाल युनिभर्सिटीबाट एम बि ए सम्मको शिक्षा हासिल गरेका छन् । नेपालका विभिन्न शिविरमा बस्तै आएका नेपाली भाषी भुटानीलाई तन , मन , बचनले सेवा गर्दै आएका अधिकारी संसारको यावत झमेलालाई एकातिर पन्छाएर नेपाली भाषी बन्धु बान्धवको हित र कल्याणमा केन्द्रित भएर लागेका छन् । मानिस सम्पत्ति जोड्ने आफूलाई संसारकै धनाण्ड्या व्यक्ति भएको वा हुन खोज्ने सपना देखि रहेका व्यक्ति बिच आफ्नो व्यावसायिक आर्जनबाट आएको सम्पत्ति मानवपरोकारमा लाउने अठोटका साथ सांस्कृतिक पुस्तान्तरणमा लागेका अधिकारी स्तुत्यका पात्र हुन .
हाल नेपालका दुइटा शिविरमा रहेका जेष्ठ नागरिकहरूलाई नेपाल सरकारले दिए जस्तै मासिक पाँच हजारका दरले जेष्ठ नागरिक भत्ता वितरण गरी इन्ट्रा फाण्डेसनले परोपकारी काम गरिरहेको छ । यसरी जेष्ठ नागरिक भत्ता लिनेको सङ्ख्या करिब तीन सय जति छ । त्यस्तै बेलडाँगी र पथरी शिविरमा स्वास्थ्य केन्द्र स्थापना गरी शिविरमा रहेका सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने काममा फाउन्डेसन क्रियाशील छ । इन्ट्रा फाउन्डेसनकै पहलमा दुई वटा एम्बुलेन्सले शिविरमा बसोबास गरिरहेका मानिसको सेवा गरिरहेको छ । शुद्ध खानेपानीको आवश्यकता पूरा गर्न दुवै शिविरमा खानेपानी ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने काम भएको छ ।
इन्ट्रा फाउन्डेसनले शिक्षालाई गुणस्तरीय बनाएर शिविर र त्यस वरपरका बाल बालीकाको भविष्य उज्ज्वल होस भन्ने पवित्र उद्देश्य राखेर अङ्ग्रेजी , म्याथ , साइन्स र सोसल विषयका करिब तीस जना शिक्षक नियुक्त गरी तिनलाई चाहिने आवश्यक तलब भत्ताको व्यवस्था गरेको छ । अमेरिकाको ओहायो राज्यमा केन्द्रीय कार्यालय रहेको इन्ट्रा फाउन्डेसनको नेपाल लगायत अमेरिकाका विभिन्न शहरमा शाखा कार्यालयहरू छन् । यी कार्यालयमा करिब पच्चिस जना विविध विषयका जानकारहरू स्वयंसेवकको रूपमा काम गरिरहेका छन् ।
अहिले अमेरिका लगायत विश्वव्यापी रूपमा छरिएका बालबालिकालाई कसरी आफ्नो कला , साहित्य र संस्कृति प्रति जागरूकता पैदा गरी यी विषयको पुस्तान्तरण गर्ने भन्ने ठुलो चुनौती हामी सबैका सामु खड्किएको छ । नेपाल लगायत विश्वभरि नै अङ्ग्रेजी भाषाले प्रभाव जमाई रहेको बेला बालबालिकालाई आफ्ना परम्परागत मूल्य र मान्यताका बारेमा सचेत गराउँदै नेपाली भाषा र संस्कृतिको हामीले पुस्तान्तरण गर्नु छ ।
नेपाली भाषाका विद्यालय या अध्ययन केन्द्र स्थापना गरेर मात्र अहिलेको पुस्तालाई नेपाली भाषा प्रति आकर्षण पैदा गर्न करिब असम्भव जस्तै छ । तसर्थ तिनीहरूलाई आफ्नो भाषाका प्रति आकर्षण गर्न खेलकुद , नृत्य , गायन लगायतका विविध विषय पनि सँगसँगै लानुपर्ने हुन्छ । यही कुरालाई ध्यानमा राखेर इन्ट्रा फाउन्डेसनले प्रत्येक वर्ष फुटबल , भलिबलको प्रतियोगिता आयोजना गर्दै आएको छ । मानिसको बिचारलाई परिवर्तन गर्न गीत सङ्गीतको महत्त्वपूर्ण भूमिका हुन्छ । एउटा भनाई छ । दस वटा वक्तव्यले बुझाउन नसकेको कुरा एउटा नाटकले बुझाउन सक्छ भने दस वटा नाटकले बुझाउन नसकेको कुरा एउटा गीतले बुझाउँछ । त्यही भएर होला इन्ट्रा फाउन्डेसनले प्रत्येक दुई वर्षमा ठुलो धन राशिको पुरस्कार राखेर गायन र नृत्यको प्रतियोगिता आयोजना गर्छ ।
विश्व नृत्य प्रतियोगिता र विश्व गायन प्रतियोगिताको नाममा सञ्चालन हुने यो प्रतियोगितामा प्रथम हुनेले एक कडोर द्वितीय हुनेले पच्चिस लाख र तृतीय हुनेले दस लाख धनराशिको पुरस्कार पाउँछन् । यो नै नेपाली पुरस्कारमा धेरै धनराशि भएको पहिलो पुरस्कार हो ।
अमेरिकाको ह्यारिसबर्ग ,ल्यानक्यास्टर ,पिट्सबर्ग , ओहायोको सिनसिनाटी , एक्रोन, कोलम्बस लगायत सात वटा शहरमा शाखा कार्यालय रहेको यो संस्थाको संस्थापक अध्यक्ष समाज सेवी डिल्ली अधिकारी हुन । एक दिन मित्र दिपकजङ विश्वकर्मा , नवीन भट्टराई र म इन्ट्रा फाउन्डेसनको ह्यारिसबर्ग स्थित कार्यालयमा हाम्रा मित्र चूडामणि भट्टराई सँग अनौपचारिक भेटघाट गर्न गयौँ । चूडामणि भट्टराई त्यहाँको कार्यकारी निर्देशक रहेछन् । त्यही समय इन्ट्राले गरिरहेका विभिन्न गतिविधिका बारेमा जानकारी पाइयो।
पचास हजार अमेरिकी डलरको चर्चित म्यागसेसे पुरस्कार पाउने नेपालका प्रसिद्ध अनुसन्धानकर्ता महावीर पुनले आफ्नो आत्मकथा लेख्ने क्रममा भनेका छन् , यदि अमेरिका बसेको कुनै मनकारी नेपाली व्यापारीले आफ्ना पाँच सात व्यापारिक केन्द्र मध्ये एउटा व्यापारिक केन्द्रको आम्दानी समाज सेवामा लगाउने हो भने ठुलो काम गर्न सकिन्छ । यही भावना डिल्ली अधिकारीको मनमा पलाएर होला उनी सम्पत्ति माथि सम्पत्ति जोड्नु भन्दा नेपाली जातीको भाषा र संस्कृति पुस्तान्तरण गरी आफ्नो जातीको पहिचान बचाई राख्ने अभियानमा लागेका छन् ! यो अभियानमा हामी सबै नेपाली जातीले हृष्टेमा हैँसे गर्न सक्यौ भने विश्वभर छरिएर बसेका नेपालीलाई एउटै सूत्रमा उन्न सफल हुने थियौ । डिल्ली अधिकारीको यो सोचलाई मेरो पनि साधु वाद ।
र यो पनि…