बृहत् कविता सङ्ग्रह एक ऐतिहासिक दस्ताबेज
समाज कतिको गतिशील छ, कतिको अनुशासनमा बाँधिएको छ, कतिको बौद्धिक छ त्यसलाई जाँच्ने कसी भनेका त्यो समाजमा साहित्य, कला र सँस्कृतीको विकास कतिको भएको छ भन्ने नै हो । पक्की बाटाहरू, अग्ला घरहरू, ओभर हेड ब्रिज समाजको सम्पन्नताका द्योतक हुन सक्लान् तर साहित्य, कला र सँस्कृतीको समुन्नत विकास भएको छैन भने त्यो समाजलाई मृत समाज भन्ने गरेको दृष्टान्त इतिहासमा प्रशस्त पाइन्छ।
मानव जातीले आफ्नो अस्तित्व धर्तीमा स्थापित गरेपछि आ-आफ्नै ढङ्गले कलाको विकास गर्दै आएको छ। प्रसिद्ध ऋषि, महर्षिहरूले विभिन्न समयमा विभिन्न प्रकारका साहित्य सिर्जना गरेर त्यस बेलाको समाज व्यवस्था कस्तो थियो भनेर प्रस्ट्याएका छन्। अहिले मानिस तिनलाई देववाणी भनेर पढ्ने र सुन्ने गर्छन्। यदि गीतालाई साहित्यको एउटा काव्य मान्ने हो भने यो धर्तीमा पहिलो काव्य पाठ गर्ने कवि भगवान् कृष्णलाई मान्नु पर्ने हुन्छ। काव्य र कविताको शक्ति कृष्णले त्यही बेला प्रमाणित गरिदिएका थिए। आफ्नाहरूका विरुद्ध हतियार उठाउँदिन भनेका अर्जुन अन्ततः भीष्म पितामहलाई बाण चलाउन हौसिएका थिए।
समय क्रम सङ्गै साहित्यले पनि आफूलाई परिमार्जित गर्दै लग्यो। साहित्य कविता, काव्य,आख्यान,नाटक जस्ता विविध रूपमा आउन थाले। समाजले आफ्नो परिचय स्थापित गर्न साहित्यलाई महत्वका साथ लिन थाल्यो। यो सिलसिला निरन्तर चलिरहेछ र आउँदा दिनमा पनि चल्ने नै छ। साहित्यले जहिले पनि जीवनको सत्यलाई छोएर बग्ने प्रयास गर्यो । जीवनको सुख दुखको साथी भयो । चाडबाड आउँदा साहित्य पनि रमायो , आफन्तको वियोग , मातृभूमिको वियोगमा उदास र दुखी भयो ।
भुटानमा अस्तित्वको खोजी गरिरहेका नेपाली भाषी भुटानीहरूमा त्यहाँका शासकले चरम दमनको नीति अख्तियार गरेपछि आत्मरक्षाको लागि उनीहरू निर्वासित हुन बाध्य भए। घाम,पानी,आधी,हुरी छल्दै उनीहरू आफ्नो पितृ भूमि सम्झिएर नेपालको पूर्वी भागमा एकत्रित भए। तर नेपालले उनीहरूलाई व्यवस्थित गरेर राख्न सकेन । फलस्वरुप उनीहरू शरणार्थीको रूपमा बस्नुपर्ने अवस्था बन्यो। नेपाल भुटानका अगाडि निरीह जस्तै देखियो। भारतको हेपाहा प्रवृत्ति र नेपाली शासकको लाचारीका कारण भुटानी नेपाली फेरि स्वदेश फर्कन सकेनन् र तेस्रो मुलुकको सरणमा पर्नु पर्यो ।
यिनै देश छोड्न बाध्य पारिएका केही युवाहरूको समूहले मातृभाषा संरक्षण समूह अमेरिका नामको एउटा समूह निर्माण गरी अमेरिकामा नेपाली भाषा र साहित्यको उन्नयनमा काम गर्न थाले। आफ्ना अनुभूति र वेदना अनि संघर्षका कथा साहित्यका मार्फत उजागर गर्न थाले। साहित्यको क्षेत्रमा अविराम काम गरिरहेको यही समूहले नेपाली कविताकै इतिहासमा एउटा नवीन कार्य गर्ने अठोट गरेर बृहत् कविता सङ्ग्रह प्रकाशित गर्ने अठोट गरे। संसारभरिका कवि साहित्यकारको पहिचान गर्नु, तिनलाई सम्पर्कमा ल्याउनु, रचना सिर्जनाको लागि अनुरोध गर्नु र त्यसको प्रतीक्षा गर्नु कम चुनौतीपूर्ण काम थिएन । तर यस समूहका युवाहरू नथाकी निरन्तर लागिरहे ।
अमेरिकाको व्यस्त जीवन, पारिवारिक दाइत्व, जागिर खानै पर्ने बाध्यताका बिचपनि यी युवाहरूले नथाकी,नहारी काम गरी रहे फलस्वरुप सङ्ग्रह प्रकाशित भयो। संसारका विभिन्न मुलुकमा छरिएर बसोबास गरिरहेका नेपाली भाषी स्रष्टाहरूलाई एउटै सङ्ग्रहमा जोडेर त्यस क्षेत्रका मनोभावलाई कविता सिर्जना मार्फत उजागर गर्ने सह्रानीय काम मातृभाषा संरक्षण समूहले गरेर एउटा ऐतिहासिक र साहसिक काम गरेको छ ।
यो समूहलाई क्रियाशील बनाउन निरन्तर लागिपर्ने कवि एवम् स्थापित साहित्यकार केशव वैरागी माइलो, धर्मेन्द्र तिम्सिना क्षितिजलगायतको टिम बधाईको पात्र बनेका छन्। नेपाल, अमेरिका, म्यानमार, बेल्जियम, क्यानडा, यु ए इ, सहित विभिन्न मुलुकका स्रष्टाहरूका सिर्जना सङ्ग्रहित गरिएको यो सङ्ग्रहलाई दुई खण्डमा विभाजित गरिएको छ। पहिलो खण्डमा छन्दोबद्ध कविताहरू सङ्ग्रहित छन् भने दोस्रो खण्डमा स्वतन्त्र कविताहरू छन्। यसरी यो गद्य र पद्य दुवै खाले कविताको सङ्ग्रह बनेको छ।
राजनैतिक कारणले विभाजित हुनु परेका र अवसरको खोजी गर्दै संसार भरी छरिएका नेपाली भाषी अझ भनौँ नेपाली जातीलाई जोड्ने दरिलो साँघु बनेको छ यो सङ्ग्रह। सङ्ग्रह भित्र समेटिएका कविताहरूले मानवीय संवेदनालाई आ-आफ्नो शैली व्यक्त गरेका छन्। नेपाली जाती हुनुको आत्म गौरव, आफ्ना पुर्खाको वीर गाथा, देश छोड्नु परेको पीडा देखि मानिसका सपना बिपनाको सम्पूर्ण उद्वेगहरू, प्रेम र आक्रोश, विनयशीलता र विकास कवितामा मुखर भएका छन्। यसरी एउटै सङ्ग्रह भित्र विभिन्न बान्कीका कविता अध्ययन गर्न पाइने यो पुस्तक साँच्चै पठनीय र सङ्ग्रहणी भएको छ।
वासुदेव कोइरालाको सम्पादनमा प्रकाशित यो सङ्ग्रहको आवरण राजकुमार निरौलाले गरेका छन्। पुस्तक प्रकाशन गर्न विभिन्न संघ संस्था र व्यक्तिहरूले सहयोगी साथ दिएका छन्। यति गहन र महत्त्वपूर्ण सङ्ग्रह प्रकाशन गरेर पाठक माझ पुर्याउने मातृभाषा संरक्षण समूह र कवि केशव वैरागी माइलो , धर्मेन्द्र तिम्सिना क्षितिज लगायतको समूह धन्यवादको हकदार बनेका छन् । मेरो तर्फबाट पनि साधुवाद ।
गण्डकी पुत्र
झोराहाट – २ मोरङ
हाल :- अमेरिका
र यो पनि…