मानव सुखको खोजमा महावीर पुन
गण्डकी पुत्र/
यो धर्तीमा हजारौँ वर्ष देखि मानव जातीको सेवा र कल्याणका लागि अनेकौँ मानिसले अनेक सामाजिक काम गर्दै आए । स्वयम् बुद्ध पनि मानवीय पीडा र अशान्त जीवनबाट दिक्क भएर दरबार छोडेर सुखको खोजी गर्न बन पसेका थिए । महान् वैज्ञानिकहरू, सोध कर्ताहरू , दार्शनिक र विचारकहरू मानव मात्रलाई कसरी सुखी र खुसी बनाउन सकिन्छ भनेर लागि रहे । तीनले गरेका आविष्कारको फल स्वरूप मानिस आकाशमा उड्ने भयो, धर्तीमा गुड्ने भयो ।
घरमै बसेर सारा संसारको भ्रमण गर्न सफल भयो । ठुलठुला आविष्कारले मानव जीवनमा अद्भुत परिवर्तन ल्याइदियो । संसार नवीन आविष्कार गरेर अगाडि बढिरहेको, दिन प्रतिदिन प्रगतिको नयाँ शिखर चढ्दै गएको देखेर नेपालको एउटा अनकन्टार गाउँमा जन्मिएका महावीर पुनलाई कसरी समाज र सिङ्गै राष्ट्रको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ भन्ने हुटहुटी पलाएर के नयाँ काम गर्न सकिन्छ भन्ने चिन्ताले सताउन थाल्यो र त्यसका लागि उनले के के गरे भन्ने कुरा उनको आत्मकथा समेटिएको पुस्तक महावीर पुन सम्झना , सपना र अविरल यात्रामा मिहिन ढङ्गले प्रकाश पारिएको छ।
समाजमा कसैले हिँडिरहेको परम्परागत बाटो छोडेर नयाँ बाटोको खोजीमा लाग्यो भने सिङ्गो समाज कसरी भड्किन्छ , पुरानै जीवनशैलीमा रमाई रहेको या दुख गरिरहेको मानिसलाई नयाँ सपनाको कुरा गर्यो भने कसरी झस्किन्छ यी सारा कथा पुस्तकले समेटेको छ ।
जीवन सङ्घर्षले भरिएको छ, प्रत्येक पाइलामा चुनौती छ र ती चुनौतीबाट भागेर होइन कसरी डटेर अगाडि बढ्नु पर्छ र त्यसको लागि के गर्नु पर्छ पुस्तकले छर्लङ्ग पारेको छ ! उनले अध्ययन गरेका विद्यालय र महा विद्यालयहरूमा उनले जसरी सचेतता पूर्वक आफ्नो सपनालाई बचाएर राखे र त्यसको प्राप्तिका लागि विदेशका कवाडी खानामा गएर थोत्रा र टुटे फुटेका कम्प्युटरको पार्टपुर्जा जोडेर काम लाग्ने बनाए त्यो कुराले हरेक नवीन काम गर्न खोज्ने युवाहरूलाई गतिलो शिक्षा दिन्छ ।
मनमा लोभ लालच र अहङ्कार भएन भने त्यो मानिसलाई सहयोग गर्ने हातहरू कसरी एकाकार भएर जुट्दा रहेछन्, कसरी हार्दिकता पूर्वक लाम लागेर उभिँदा रहेछन् भन्ने कुरा विभिन्न देशबाट स्वयंसेवाका लागि आएका महा विद्यालयका विद्यार्थीहरूको सहभागिताले प्रस्ट पारेको कुरा पुस्तक पढ्दा थाह हुन्छ । नेपालको दुर्गम गाउँ जहाँ गतिलो ट्वाइलेट सम्म छैन, उनीहरूको परिवेश मिल्दो खानेकुरा छैन , सुत्ने गतिलो कोठा र ओछ्यान छैन तर पनि महावीर पुनको सपनामा तिनीहरूलाई विश्वास छ । यो मानिसको सोचले अवश्य समाजलाई केही नयाँ कुरा दिन्छ भन्ने आत्मविश्वास छ र त ती स्वयम सेवकहरू सात समुन्द्र पारी बाट सुख सुविधाको जीवन छोडेर सहयोग गर्न नेपाल आएको कुराको व्याख्याले अरूलाई पनि स्वयंसेवाको महत्त्व दर्साउन पुस्तकले राम्रो शिक्षा दिएको छ ।
पुस्तकले हाम्रा नेताहरूको सोच र चरित्रको सटिक चित्रण गरेको छ । समाज रूपान्तरणको भाषण गरेर नथाक्ने नेताहरू र नवीन काम गर्ने कुरामा तिनीहरूको उदासीनताको वर्णनले कता कता महावीर पुनको त्यो अभियानमा जुरुक्क उठेर समर्थन गर्न गै हालौँ जस्तो लाग्छ । सत्ता परिवर्तन र राजनैतिक लाभ हानीको हिसाब गरेर मात्र कुनै पनि काममा तत्परता देखाउने वा उदास हुने नेपाली नेताको प्रवृत्तिको यो पुस्तकमा यसरी चिरफार गरिएको छ की देश विकास नहुनुमा नेताहरूकै अकर्मण्यता प्रस्ट देखिन्छ ।
डा. बाबुराम भट्टराई, सुशील कोइराला , प्रचण्ड , के पी ओली देखि शेरबहादुर सम्म कसरी कार्यक्रम राम्रो छ महावीरजी भन्न नछोड्ने तर आफू सत्तासीन हुँदा हरेक बहाना बनाएर पन्छिने प्रवृत्ति देखाएका छन् पुस्तकले छर्लङ्ग पारेको छ । उदासीन नेता कर्मकाण्डी पण्डित जस्ता कर्मचारीको भद्दा तस्बिर यो पुस्तकले टट्कारो रूपमा देखाएको छ । पाँच पाँच वर्ष एउटै काममा धाउँदा धाउँदा थाकेका महावीर पुन कसरी माइतीघर मण्डलामा धर्ना दिन पुग्छन् र कसरी देशभरिका युवा उनको धर्नालाई समर्थन गर्दै सडकमा निस्कन्छन् र त्यसको परिणाम के हुन्छ यो पुस्तकले चर्चा गरेको छ । त्यति मात्र होइन सरकारका मन्त्रीहरू कसरी एउटा कुरामा सम्झौता गर्छन् र व्यवहार अर्को गर्छन् यो पनि पुस्तकले प्रस्ट पारेको छ ।
एउटा मानिस जो स्कुल चलाउन होटेल खोल्ने , पद यात्री पर्यटकका लागि नयाँ बाटो पहिल्याइने, तीन लाई बाटो देखाउने पथ प्रदर्शक निर्माण गर्ने, चौँरी पाल्ने ठाउँ पहिल्याउँदै हिँड्ने , गुराँस पार्क बनाउने , चिज उत्पादन गर्ने जस्ता अनेक उपायको खोजी गर्दै हिँड्यो त्यसलाई समाजले कसरी सहयोग र अवरोध गर्यो त्यसको सारा कथा यो पुस्तकले समेटेको छ । विभिन्न देशका दाताहरूले विश्वासकासाथ मन फुकाएर सहयोग गरेको , नेपाल भित्रका विभिन्न व्यक्तिले र प्रवासमा बसेका नेपाललाई माया गर्ने व्यक्तिले सहयोग गरेको सम्पूर्ण घटनाक्रमलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
महावीर पुन सम्झना सपना र अविरल यात्रा यो पुस्तकले निराश भएको मानिसलाई ऊर्जा दिन्छ भने केही गरौँ भन्ने मानिसलाई प्रेरणा प्रदान गर्छ, पुस्तक पढ्न थालेपछि नसकी छोड्न मन लाग्दैन । भाषाको सरल प्रयोग र एकपछि अर्को सङ्घर्षको कथाले पुस्तक रोचक पनि लाग्छ । महावीर पुन ले भनेका छन् यो पुस्तकको बिक्रीबाट आएको पैसाले आविष्कार केन्द्रलाई केही सहयोग पुग्ने आशा गरेको छु। तसर्थ पनि यो पुस्तक किनेर यो अभियानमा केही योगदान गर्ने व्यक्ति र संस्थाको लागि एउटा अवसर पनि हो ।
गण्डकी पुत्र,
झोराहाट -२ मोरङ
हाल :- अमेरिका

















