अमेरिकी विशेष दूत काठमाडौँमा; परराष्ट्र मन्त्रीसँग भेटवार्ता
काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी विशेष दूत सर्जियो गोर यति बेला नेपालको तीन दिने औपचारिक भ्रमणमा छन् ।
भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोर प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने सबैभन्दा उच्चस्तरीय अमेरिकी अधिकारी हुन् ।
उनले भ्रमणको पहिलो दिन शुक्रवार परराष्ट्रमन्त्री शिशिर खनालसँग मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम, व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ ।
‘नेपाल भ्रमणका क्रममा विशेष दूत सर्जियो गोरले नेपालका परराष्ट्रमन्त्री माननीय शिशिर खनालज्यूसँग शिष्टाचार भेट गर्नुभयो।
भेटका क्रममा उहाँहरूबिच व्यापार विस्तार तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका पहलहरूलाई अघि बढाउने विषयमा विशेष जोड दिँदै, विभिन्न सम्भावनायुक्त क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउनेबारे रचनात्मक र फलदायी छलफल भयो।’ अमेरिकी दूतावासको सूचनामा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयको सूचनामा ‘भेटघाटको क्रममा लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल भयो।’ उल्लेख छ ।
यो भ्रमणलाई वासिङ्टनले नेपालको नयाँ राजनीतिक नेतृत्व र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित सरकारसँगको सम्बन्धलाई कूटनीतिक रूपमा पुनः परिभाषित गर्ने अवसरको रूपमा लिएको छ।
प्रधानमन्त्री बालेन शाहले कूटनीतिक भेटघाटमा विशेष मापदण्ड अपनाइरहेका बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।
फोटो काठमाडौँ स्थित अमेरिकी दूतावास

















