एनआरएनए अमेरिकाको १३ औँ साधारण सभा शनिवार देखि बाल्टिमोरमा

बाल्टिमोर,मेरिल्यान्ड/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको १३औँ वार्षिक साधारण सभा र चौथो ज्ञान सम्मेलन शनिवार देखि मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सुरु हुँदै छ।
दुई दिने साधारण सभाको पूर्व सन्ध्यामा आज शुक्रवार साँझ च्याप्टर नाइट हुने जनाइको छ। साधारण सभा को कन्भेनर तथा एनआरएनए अमेरिका मेरिल्यान्ड च्याप्टर अध्यक्ष कुल गुरुङका अनुसार साधारण सभामा सहभागी हुन आउनेहरूका लागि च्याप्टर नाइट राखिएको हो।
‘बाल्टिमोरमा आउने साथीहरूलाई स्वागत गर्न हामीले फ्यामेली किचनमा च्याप्टर नाइट कार्यक्रम राखेका छौ।’ मेरिल्यान्ड च्याप्टर अध्यक्ष गुरुङले भने, ‘विभिन्न च्याप्टरबाट आउने साथीहरूलाई स्वागत गर्ने र एक आपसमा परिचय गर्ने नै मुख्य उद्देश्य हो।’
एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष तथा साधारण सभा को कन्भेनर अनुप खनालले आफूहरू सहभागीका स्वागतका लागि आतुर रहेको बताए।
‘साधारण सभामा सहभागी हुन साथीहरू बाल्टिमोर आउने क्रम सुरु भइसकेको छ।’ खनालले भने, ‘ पूर्व अध्यक्ष शिव राई, खगेन्द्र जिसी, डा. केशव पौडेल, सुनिल साह लगायतका अन्य पदाधिकारीहरू साधारण सभामा आउने पक्का भएको छ, टाढाका साथीहरू आज साँझ सम्म र नजिकका साथीहरू शनिवार बिहान सम्ममा आउने हामीले जानकारी पाएका छौ।’
मेरिल्यान्डका स्थानीय संघले पनि यस पटकको साधारण सभालाई पूर्ण समर्थन गरेको खनालले बनाए।
‘म भर्खर बाल्टिमोर उत्रिए’ एनआरएनए अमेरिकाका महासचिव रामहरि अधिकारीले शुक्रवार मध्यान्न समाज टाइम्स सँगको कुराकानीमा भने।
महासचिव अधिकारीका अनुसार शनिवार बिहान नौ बजे साधारण सभाको उद्घाटन हुने छ।
‘नौ बजे साधारण सभाको उद्घाटन गर्ने र साढे एक बजे लन्च ब्रेक अगाडि उद्घाटन समारोहका कार्यक्रम सक्ने गरी हामीले तालिका मिलाएका छौ।’ अधिकारीले समाज टाइम्स सँग भने,’ शनिवारको लन्च पछि ज्ञान सम्मेलन सुरु हुन्छ।’
महासचिव अधिकारीका अनुसार शनिवार साँझ र आइतबार बिहान बन्द सत्र हुने छ।
बन्द सत्रमा मुख्य एजेन्डा विधान संशोधन नै रहेको महासचिव अधिकारीले बताए।
‘सदस्यता वितरण कसरी गर्ने भन्ने नै मुख्य एजेन्डा हुन्छ।’ अधिकारीले भने,’आइसीसीमा अहिले अन्योल नै रहेका कारण एनसीसीले आफ्नै प्रविधिबाट सदस्यता वितरण खुला गर्ने गरी विधान संशोधन गर्न लागिएको छ।’
यस अगाडि एनसीसी अमेरिकाले पनि आइसीसीको प्रविधिबाट सदस्यता वितरण गरेको थियो। आइसीसीले प्रयोग गरेको ‘भेरो’ कम्पनी विवादमा समेत परेको थियो।
सदस्यता वितरणमा आइसीसीले भोलीका दिन अर्को व्यवस्था गरेमा त्यस अनुसार विधानलाई मिलाउने अधिकार कार्यसमितिको दुई तिहाइ बहुमतलाई दिने गरी विधान व्यवस्था गर्न लागिएको पनि महासचिव अधिकारीले बताए।
‘आइसीसीको अन्यौलतालाई लिएर हामीकहाँ सदस्यता वितरण रोक्न हुन्न भन्ने सुझाव अनुसार अहिले हाम्रै सिस्टममा सदस्यता खुलाउने र भोली आइसीसीको निर्देशन पछि त्यसै अनुसार गर्ने गरी हामी विधान संशोधन गर्दै छौ।’ उनले भने।
साधारण सभाका लागि प्रमुख अतिथि टुङ्गो अझै लागेन
साधारण सभाको सबै तयारी पुरा भए भनिए पनि प्रमुख अतिथि को हुने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। ‘साँझ सम्म हामी टुङ्गाउँछौ।’ महासचिव अधिकारीले भने,’उपलब्ध मध्ये वरिष्ठ र ज्येष्ठलाई प्रमुख अतिथि बनाउने भन्ने छ।’
नेपालमा रहेको राजनैतिक परिवर्तनका कारण प्रमुख अतिथिको निधो समयमै गर्न नसकिएको पनि महासचिवले बताए।
‘नेपालबाट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ वा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई हामीले प्रमुख अतिथिको निमन्त्रणा गरेका थियौ तर नेपालको पछिल्लो राजनीतिक घटना क्रमले गर्दा उहाँहरू आउने सम्भावना रहेनन्।’ उनले भने।