नेपालमा नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ आइतबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री आइतबारमात्रै नियुक्त गर्ने भएका छन् । संविधानको धारा ७६को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका राष्ट्रपति पौडेलले आइतबार नियुक्ति र सपथग्रहण गर्ने तयारी गरेका हुन् ।
नयाँ सरकार निर्माणका लागि आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने शीतलनिवासले तयारी गरेको बताइएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पुष्पकमल दाहाल प्रचण्ड १८ महिना प्रधानमन्त्री भएर विदा भएका छन् । उनी २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । आइतबार केपी ओली मुलुकको ४५ औं प्रधानमन्त्री बन्ने छन् ।