युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो
काठमाडौं । फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।
यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् । रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समुह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ ।
समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
रोमानियाको युरोकपमा विजयी शुरुवात
रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समुह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ ।
अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ ।
बेल्जियम स्लोभाकियासँग स्तब्ध
युरोकपमा बेल्जियम पहिलो खेलमै स्लोभाकियासँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
स्लोभाकियाको जितमा खेलको सातौँ मिनेटमा इभान चरान्जले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो । यस खेलमा बेल्जियमले पाएका कैयौं अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो ।
यो हारले बेल्जियम नकआउट चरणमा जाने बाटो कठिन बनेको छ ।
समुह इ अन्तर्गत अब बेल्जियमले अर्को खेल जुन २३ मा रोमानियाविरुद्ध खेल्ने छ । त्यस्तै बेल्जियम जस्तो बलियो टिमलाई हराएर महत्वपूर्ण ३ अंक बटुलेको स्लोभाकियाले अर्को खेल जुन २१ मा युक्रेनविरुद्ध खेल्ने छ ।