पिट्सबर्ग भेट्रान्सले जित्यो दशौँ कालुसिंह मेमोरियल च्याम्पियनसिप
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / कालुसिंह मेमोरियल फुटबल च्याम्पियनसिप २०२६ को उपाधि पिट्सबर्ग भेट्रान्सले जितेको छ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित स्वातारा टाउनसिपको म्याकनटन फ्यामिली पार्कमा सोमबार साँझ भएको फाइनलमा पिट्सबर्ग भेट्रान्सले कोलम्बस ड्रुक युनाइटेडलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो।
पिट्सबर्गको जितमा कर्मा गुरुङ, शान्त राई र नवीन सुवेदीले एक–एक गोल गरे। कोलम्बस ड्रुकका लागि मनिष संग्रौलाले एक मात्र गोल गरेका थिए।
पिट्सबर्गले दुई दिनसम्म चलेको च्याम्पियनसिपमा अपराजित रहँदै उपाधि जितेको हो। आइतबार र सोमबार समूह चरणका खेल भएका थिए।
समूह चरणका तीनवटै खेल जितेको पिट्सबर्गले सेमिफाइनलमा पिच स्टेट जर्जियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो। पिट्सबर्गका लागि कर्मा गुरुङ, युवराज थापा, विकास राई र राम पौडेलले एक–एक गोल गरेका थिए।
सेमिफाइनलमा पिट्सबर्गका लागि पहिलो गोल गरेका कर्मा गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए।
अर्को सेमिफाइनलमा कोलम्बस ड्रुक युनाइटेडले सिनसिनाटी राइनोलाई १–० ले पराजित गरेको थियो। सुरेन खतिवडाले दोस्रो हाफमा गरेको गोल कोलम्बसलाई फाइनलमा पुर्याउन निर्णायक बनेको थियो।
व्यक्तिगत उपाधिमा पनि पिट्सबर्गको दबदबा

उपाधि जितेको पिट्सबर्गले व्यक्तिगत विधाका पुरस्कारमा पनि दबदबा कायम गरेको छ।
फाइनल खेलको म्यान अफ द म्याच पिट्सबर्गका नवीन सुवेदी घोषित भए। पिट्सबर्गकै चन्द्र तिवारी बेस्ट गोलकिपर तथा पिट्सबर्गकै कमल सुब्बा मस्ट भ्यालुएबल प्लेयर घोषित भए।

सर्वाधिक गोलकर्ता भने सिनसिनाटी राइनोका डिल्ली आचार्य बने। उनले दुई खेलमा चार गोल गरेका थिए।
उपाधिसँगै पिट्सबर्गले ५ हजार अमेरिकी डलर नगद, च्याम्पियन सिल्ड र रनिङ ट्रफी प्राप्त गर्यो। उपविजेता कोलम्बस ड्रुक युनाइटेडले ३ हजार अमेरिकी डलर नगद र ट्रफी प्राप्त गर्यो।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई स्वातारा टाउनसिपकी कमिश्नर विनिता पुरी राई, भुटानी मानवअधिकारवादी नेता तथा समाजसेवी विश्व क्षेत्री, इन्सपायर टु एक्सप्लोरका संस्थापक तथा प्रमुख नीलहरि भण्डारीसहित आयोजक कमिटीका सदस्यहरूले पदक तथा ट्रफी वितरण गरेका थिए।

भुटानी राष्ट्रिय टोलीका सदस्य स्वर्गीय कालुसिंह तामाङको स्मृतिमा सन् २०१७ देखि आयोजना हुँदै आएको यो च्याम्पियनसिपमा आठ टोलीले सहभागिता जनाएका थिए।
उपाधिमा ह्याट्रिक गर्दै रनिङ सिल्ड स्थायी रूपमा आफ्नो बनाउने लक्ष्यमा रहेको युनाइटेड ब्रदर्स स्पोर्टिङ क्लब (यूबीएससी) भने यसपटक समूह चरणबाटै बाहिरिएको थियो।
सन् २०१७ मा नर्थ क्यारोलिनाबाट सुरु भएको यो च्याम्पियनसिप दशौँ संस्करणसम्म आइपुग्दा पिट्सबर्गले दोस्रो पटक उपाधि जितेको हो। यसअघि सन् २०१८ मा पनि पिट्सबर्ग च्याम्पियन बनेको थियो।
सुरुवातमा साथीभाइ र परिवारका सदस्यहरू मिलेर आयोजना गर्दै आएको कालुसिंह स्मृति च्याम्पियनसिप पछिल्ला केही वर्षदेखि एशियन रिफ्युजीज युनाइटेड (एआरयू) अन्तर्गतको आयोजक कमिटीमार्फत आयोजना हुँदै आएको छ।
यस वर्ष बृख गुरुङ आयोजक कमिटीका अध्यक्ष थिए।
च्याम्पियनसिपको समापनका अवसरमा अध्यक्ष गुरुङले प्रतियोगिताबाट बचेको रकम एआरयूको ‘सकर फर सक्सेस’ कार्यक्रममा खर्च गरिने बताए।
‘सकर फर सक्सेस’ एआरयूको महत्त्वाकाङ्क्षी र दीर्घकालीन परियोजना हो। यस कार्यक्रमअन्तर्गत बालबालिकालाई यूएस सकरबाट आधिकारिक मान्यता प्राप्त प्रशिक्षकमार्फत फुटबल प्रशिक्षण दिइँदै आएको छ।
एघारौँ संस्करणबारे अन्योल
नेपाली भाषी भुटानी समुदायका एक सम्मानित खेलाडीको स्मृतिमा आयोजना हुँदै आएको यो च्याम्पियनसिपको भविष्य भने अन्योलमा परेको छ।
दशौँ च्याम्पियनसिपको समापन गर्दै आयोजक कमिटीका पूर्वसचिव तथा वर्तमान सल्लाहकार विनय लुइटेलले एघारौँ संस्करणबारे छिट्टै जानकारी सार्वजनिक गरिने बताए।
को हुन् कालुसिंह?
कालुसिंह भुटानको ड्रुक–११ बाट खेल्ने कुशल नेपाली भाषी फुटबल खेलाडी थिए। त्यही टोली पछि भुटानको राष्ट्रिय टोलीमा रूपान्तरण भएको थियो।
भुटानको साम्ची जिल्लाको सिप्सुमा जन्मिएका कालुसिंह टोलीका मुख्य डिफेन्डर थिए। भुटानको रोयल आर्मीमा भर्ती भएपछि उनको फुटबल करिअरले गति लिएको थियो।
भुटानको प्रतिनिधित्व गर्दै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका थिए। त्यही क्रममा उनी नेपालमा समेत खेल्न आएका थिए।
पछि भुटानमा नेपाली भाषी समुदायको आन्दोलन चर्किएपछि कालुसिंह पनि भुटान छाड्न बाध्य भए। नेपाल आएपछि उनी बेलडाँगी शरणार्थी शिविरमा बसेका थिए। त्यहाँ पनि उनले फुटबल खेल्नुका साथै धेरैलाई फुटबल प्रशिक्षण दिएका थिए। शिविरमा रहेका धेरै युवा उनीबाट प्रभावित भएका थिए।
कालुसिंहको ४४ वर्षको अल्पायुमै सन् १९९८ मा नेपालमा निधन भएको थियो। दार्जिलिङबाट प्रतियोगिता खेलेर फर्किएपछि उनको निधन भएको थियो।















