नेपाल र श्रीलंकाबीचको खेल हेर्न अमेरिकाभरबाट ओइरिदै समर्थक, तर वर्षाको चिन्ता
बिष्णु हरि घिमिरे
फोर्ड लाउडरहिल,फ्लोरिडा/गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका पूर्वउपाध्यक्ष डिलु पराजुलीले मंगलबार बिहान जब होटलको झ्याल खोले उनको मन खिन्न भयो।
पराजुली जीवन मै पहिलो पटक प्रत्यक्ष क्रिकेट म्याच हेर्ने केन्टकीबाट फ्लोरिडा आएका हुन्। पराजुली मात्र होइन अमेरिकाको विभिन्न राज्यबाट फ्लोरिडा ओइरिएका हजारौं नेपालीको मन मंगलवार बिहान अलि खिन्न छ।
कारण, यहाँको मौसम। झणभरमा भारी बर्षा हुने र तत्कालै टन्टलापुर घाम लाग्ने फोर्ड लाउडरहिलमा मंगलबार बिहानै सिमसिम बर्षा भइरहेको थियो। आकासमा कालो बादल मडारिरहेको छ। मौसम पूर्वानुमान अनुसार दिउँदो झन ठूलो बर्षा हुने छ। नेपाल र श्रीलंका बीचको खेल स्थानीय समय अनुसार साँझ साढे सात बजे देखि शुरु हुँदैछ।
‘बर्बादै होला जस्तो भयो,’ श्रीमती र दुई छोरी सहित नेपाल र श्रीलंका बीचको खेल हेर्न नर्थ क्यारोलिनाको सार्लटबाट फ्लोरिडा आएका क्रिकेट प्रेमी राज श्रेष्ठ पनि ब्रेकफास्ट खाने बेलामा थकथकी मान्दै थिए, ‘हेरौ खेल शुरु हुने बेला सम्म त मौसम सुधार हुन्छ होला।’ उनी आशावादी छन्।
राजले टेक्ससको डालसमा भएको नेपाल र नेदरल्याण्ड बीचको खेल पनि रंगशालामा उपस्थित भएर हेरेका थिए। नेपालको विकेट गए पछि आँशु पुछ्दै गरेको उनको भिडियो अहिले भाइरल छ। राजले नेपालका बाँकी खेल हेर्न वेस्ट इन्डिज जाने टिकट लिइसकेका छन्।
दोलखाका राजले काठमाडौमा क्यापिटल कलेजमा पढ्दै गर्दा क्रिकेट खेलेको बताउँछन्। ‘म नेपालको क्रिकेट नियमित फलो गर्छु,’ उनी भन्छन्, ‘मैले कलेजमा क्रिकेट खेलेको हुँ।’
जीवनमै क्रिकेट हेर्दै नहेका, कहिलेकाँही टेलिभिजनमा हेर्ने गरेका र नियमित फलो गर्ने तीन थरीका नेपाली अहिले फ्लोरिडामा जम्मा भएका छन्। कतिपय हवाइ यात्रा त कतिपयले स्थल मार्ग हुदै फ्लोरिडा आएका हुन्। कयौले अहिले पनि फ्लोरिडा आउदै गरेको भनेर सामाजिक संजालमा फोटो तथा भिडियो पोस्ट गरेका छन्।
अमेरिकामा रहेका नेपालीलाई राष्ट्रिय क्रिकेट टिमको यस पटकको भ्रमण उत्सव जस्तै भएको छ। डालसमा भएको नेपाल र नेदरल्याण्ड बीचको खेलमा ६ हजार ८ सय ४८ जनाले टिकट काटेर रंगशालामा उपस्थित भएको आइसीसीले जनाएको थियो। त्यस मध्ये अधिकांश नेपाली टिम समर्थक थिए।
फ्लोरिडामा पनि नेपाली समर्थकको बाक्लो उपस्थित हुने पक्का जस्तै छ। तर मौसमले खेललाई असर गर्ने हो कि भन्ने ठूलो चिन्ता छ। मौसमको विषयमा नेपालका कप्तान रोहितकुमार पौडेल पनि चिन्तित छन्।
सोमबार बोबार्ड काउन्टी रंगशालामा भेटिएका उनले खेलको टस हुने र खेल सुरु हुने समयमा पानी नपरोस भन्ने कामना गरिरहेका थिए।
रंगशालामा शनिबार पुग्दा भारी वर्षा भइरहेको थियो। भारी वर्षा हुँदा मैदानको आउट फिल्डमा पानी जमेको थियो। पानी जमे पनि त्यसलाई सुख्खा पार्न २० मिनेट लाग्ने ग्राउन्ड स्टाफले सोमबारको कुराकानीमा बताए।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको अवस्थामा नेपाललाई सुपर-८ मा स्थान बनाउन श्रीलंकासँग जितको खाँचो छ। त्यसका लागि सुरूमा मौसम सफा भएर खेल हुने पर्नेछ। मौसमका करण खेल रद्द हुँदै एक जोडेमा नेपालको सुपर-८ यात्रा टुंगिन पनि सक्छ।
त्यसैले नेपाली क्रिकेट समर्थकका लागि मंगलबारको मौसम सफा हुनु नै पहिलो सुखद् खबर हुनेछ।
‘अमेरिकामा आएको नेपाली राष्ट्रिय टोलीलाई समर्थक गर्न हामी अमेरिकाभरबाट जम्मा भएका छौं,’ डिलु पराजुलीले भने, ‘तर मौसम हाम्रो हातमा छैन। आसा गरौं साँझसम्म मौसम सफा हुनेछ।’
डिलु र राज जस्तै धेरैको कामना छ फ्लोरिडामा बर्षा रोकियो र नेपालले जितोस।
र यो पनि…
रोकिएन झरी, समर्थक भन्छन् खेल नहेरी फर्कनु कसरी
June 11, 2024 @ 5:59 pm
[…] […]