श्रीलंका विरुद्धको खेलमा हामी दबाबमा छैनौ : कप्तान रोहित पौडेल
बिष्णु हरि घिमिरे
फोर्ड लाउडरहिल,फ्लोरिडा/ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले श्रीलंका विरुद्धको खेलमा आफूहरू दबाबमा नरहेको बताएका छन्।
आइसीसी टी २० पुरुष विश्व कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलवार श्रीलंका सँग खेल्दै छ। नेपाल र श्रीलंका बिचको खेल मंगलवार साँझ साँढे सात बजे (न्यु योर्क समय) फ्लोरिडाको फोर्ड लाउडरहिल स्थित ब्रोवार्ड काउन्टी स्टेडियममा हुने छ।
खेल अगाडि सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले नेपाल भन्दा श्रीलंकालाई दबाब हुने बताए। ‘भोलिको खेलमा हामीलाई भन्दा पनि श्रीलंकालाई दबाब छ। पहिलो खेल जित्न सकेनौँ अब खेल जित्न सक्छौँ भन्ने विश्वास छ।’
समूहको पहिलो खेलमा नेपाल नेदरल्याण्ड सँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले दक्षिण अफ्रिका र बङ्गलादेश सँग हारेको छ।
कप्तान पौडेलले नेदरल्यान्ड्सविरूद्ध हारपछि आफूहरूलाई पर्याप्त तयारी गर्ने समय मिलेको पनि बताए। ‘हामीले लाउडरहिलमा चार पाँच वटा नेट अभ्यास सेसन गर्न सफल भयौँ।’ उनले भने।
जारी विश्वकपमा एसोसिएट देशले टेस्ट प्लेइङ देशलाई पराजित गरिरहेको भन्दै कप्तान पौडेलले त्यो आफूहरूका लागि उत्प्रेरणा हुने बताए।
‘यो हाम्रा लागि उत्प्रेरणा हो। हामी पनि भोलिका खेलमा जितका लागि खेल्दैछौं। त्यसका लागि एक महिनादेखि यहाँ आएर तयारी गरिरहेका छौँ। हामी टिमको रूपमा एक अर्कालाई विश्वास गर्छौँ।’ कप्तान पौडेलले भने, ‘तर पनि श्रीलंका राम्रो टोली हो। उसले संसारभर क्रिकेट खेलेको छ। विशेष गरी उसका स्पिनर राम्रा छन्।’
उनले फ्लोरिडाको पिचमा राम्रो रन बन्ने विश्वास व्यक्त गरे। ‘अमेरिकामा विकेटको कन्डिसन फरक छ। फ्लोरिडामा भएको वार्मअप खेलमा १८० रनसम्म बनेको छ। भोलिको खेल पनि हाइ स्कोरिङ र राम्रो खेल हुने विश्वास छ।’ कप्तान पौडेलले भने।
उनले कन्डिसनले गर्दा रन बनाउन गाह्रो भइरहेको बताए। ‘यहाँ भारत र वेस्ट इन्डिजको खेल भइसकेको छ। अरू मैदानभन्दा यहाँ रन बन्ने विश्वास छ। यहाँ राम्रो विकेट देखिएको छ।’ पत्रकार सम्मेलनमा पौडेलले भने, ‘यहाँ हाम्रो क्षमता देखाउन सक्यौँ भने हामी कुनै पनि टोलीलाई हराउन सक्छौँ भन्ने हाम्रो टोलीलाई विश्वास छ। यहाँको मैदानमा जुन ब्याटले सुरुदेखि खेल्न सक्छ उसले त्यसलाई सदुपयोग गर्न पर्छ।’
कप्तान पौडेलले खेल अगाडिको परिस्थित हेरेर व्याटिङ्ग अडरका बारेमा निर्णय लिने बताए। ‘हामीले टोलीमा कन्डिसन हेरेर परिवर्तन गर्ने नगर्ने निर्णय गर्छौँ। हामीले एक अर्का खेलाडीलाई विश्वास गरेर अघि बढ्न पर्छ जस्तो लाग्छौँ।’
कप्तान पौडेलले समर्थकलाई खुसी र गर्व गर्न लायक हुने गरी खेल्ने बताए। ‘हजारौँ फ्यानका अघि खेल्दा धेरै खुसी लागेको छ। देशबाहिर पनि यति धेरै समर्थनका पाउनु हाम्रो लागि फाइदाको कुरा हो। हामी समर्थकको खुसी र गर्व गर्न लायक बनाउन खेल्नेछौँ। भोलिका लागि हामी पहिलो जितका लागि खेल्नेछौँ।’
कप्तान पौडेलले श्रीलंका विरुद्ध खेलमा नेपाली टोलीमा १५ खेलाडी नभएर १४ खेलाडी मात्र हुने बताए। सन्दीप लामिछाने वेस्ट इन्डिज पुगिसकेका कारण १४ जना हुने पौडेलले बताए।
नेपाल र श्रीलंकाबीचको खेल हेर्न अमेरिकाभरबाट ओइरिदै समर्थक, तर वर्षाको चिन्ता
June 11, 2024 @ 11:32 am
[…] श्रीलंका विरुद्धको खेलमा हामी दबाबमा… 0SHARESShareTweet […]