अमेरिकाका समर्थकको लगानी जुन ४ मा फिर्ता गर्छौ: रोहित पौडेल
डालस, टेक्सस/ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले अमेरिकामा उत्रिए देखि नै समर्थकहरूबाट राम्रो साथ पाएको बताएका छन्।
आइसीसी टी २० विश्व कप क्रिकेटका लागि अमेरिकामा रहेको राष्ट्रिय क्रिकेट टिमको सम्मानमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले आयोजना गरेको रात्रि भोजमा सम्बोधन गर्दै कप्तान पौडेलले समर्थकलाई निराश नबनाउने बताए।
‘दश वर्ष पछि विश्व कप खेल्न पाएका छौ, खेलाडी सहित सबै जना उत्साहित छन्, जति जना भेट्छौ।’ पौडेलले भने, ‘त्यो हेर्दा खुसी पनि लागि रहेको छ, एउटा जिम्मेवारी पनि छ,आउने गेममा राम्रो गर्नका लागि।’
कप्तान पौडेलले अमेरिकामा रहेका समर्थकहरूले आफूहरू माथि लगानी गरेको र त्यो जुन ४ तारिखमा फिर्ता गर्ने बताए।
‘जुन दिन हामी यहाँ उत्रियौ फ्लोरिडा, डालस, ह्युस्टन एकदम राम्रो सपोर्ट पाएका छौ, त्यो हेर्दा खुसी लागि रहेको छ. यो लगानी पनि हो हामी त्यो लगानी फिर्ता गर्छौ जुन चारमा जितेर।’
रात्रि भोजमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेलले पनि आ आफ्नो भनाइ राखेका थिए।
एनआरएनए अमेरिकाको कोषाध्यक्ष सरोज सिग्देलका अनुसार रात्रि भोजमा खेलाडी तथा अफिसियललाई प्रति व्यक्ति चार चार सयका दरले दश हजार अमेरिकी डलर प्रदान गरिएको छ।
आइसीसी टी २० विश्व कप जुन १ तारिख बाट सुरु भएको छ। नेपालले विश्व कप क्रिकेटमा समूह चरणको पहिलो खेल जुन ४ तारिख मंगलवार टेक्ससको डालस स्थित ग्राण्डप्रेरी कम्प्लेक्स नेदरल्याण्ड सँग खेल्दै छ।