जनसम्पर्क समितिलाई विधान अनुसार अघि बढाउन जरुरी छ : विभाग प्रमुख पौडेल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्व्य विभाका प्रमुख किरणराज पौडेलले विदेशमा रहेका नेपालीहरुको हकहितका लागि आफू सधैं लागि पर्ने बताएका छन् ।
पार्टी सभापति शेरबहादर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम उक्त विभागमा मनोनित भएपछि समाज टाइम्ससँग कुरा गर्दै पौडेलले पार्टीलाई बलियो बनाउने गरी आफू काममा केन्द्रीत हुने पनि बताए ।
बाग्लुङका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए भने उनी २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै संघको केन्द्रीय सदस्य र पछि महामन्त्री भएका थिए । नेविसंघको राजनीतिपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उनले काम गरेका छन् ।
उनले विदेशमा बस्ने नेपाली कांग्रेससँग आवद्ध भएकाहरुलाई संगठित र परिचालिन गरेर नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई उनीहरुको माझमा राखेर नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि विभाग महत्वपूर्ण हुने पनि उनको भनाई छ ।
पछिल्लो समय प्रवासमा कांग्रेसप्रति नेपाली समुदायमा विश्वस्त भइरहेका छैनन् । जनसम्पर्क समितिहरु भए पनि आवधिक निर्वाचन र पारदर्शीताका कुरामा चुक्दा लोकतन्त्र प्रति आस्था राख्नेहरु पनि खुलेर अघि आउने अवस्था छैन ।
तर, आफू भर्खर विभागको प्रमुख भएको बताउँदै पौडेलले पार्टीले जनसम्पर्क समितिका लागि बनाएको विधान अनुसार अघि बढ्ने बताउँदै आगामी दिनमा सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको पनि बताए ।
उनले भने ‘अहिले नै यहाँ र त्यहाँँ यस्तो भन्दा पनि भर्खर मनोनित भएको छु, अब चाँडै गति दिने गरी काम गर्छु । अरु सदस्यहरु पनि थपिनु होला सबैसँग सल्लाहर गरेर अघि बढ्ने मेरो लक्ष्य छ ।’
अमेरिका र क्यानडाको विषयमा जानकार रहेको बताउँदै यसमा विधान अनुसार चल्ने र त्यसबाट पनि समस्या समाधान नहुने अवस्था आए पार्टीको केन्द्रीय कार्यसमितिबाट निर्णय हुने पनि बताए । नेतृत्व लगायतका समस्या समाधानका लागि विधान पालना गर्दा सबै कुरा समाधान हुने पनि बताए । नेपाली कांग्रेसका ३७ वटा जनसम्पर्क समिति रहेका छन् ।