ओएनएफ अमेरिकाको दोस्रो साधारण सभालाई फर्केर हेर्दा: कृष्ण लामिछाने
प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको दोस्रो साधारण सभा मे २५ र २६ क्यालिफोर्नियाको लस एन्जलसमा सम्पन्न भयो। “सबल प्रवासी, संवृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नाराका साथ सम्पन्न उक्त भव्य कार्यक्रममा अमेरिका भरिका प्रवासी नेपाली मञ्चका सदस्यहरू २७ राज्यबाट १५० जना प्रतिनिधिहरू र स्थानीय बुवा-आमा, दाजु-भाइ, दिदी-बहिनीहरू गरी करिब तीन सय भन्दा बढीको उपस्थिति रहेको थियो।
दोस्रो दिन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री एवं नेकपा एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवाली, विशेष अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकाल अतिथि हुनुहुन्थ्यो।
यसै गरी अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेश इन्चार्ज प्रभु थापा, महादेश संयोजक ईश्वरी भट्ट, नेपाल राष्ट्रिय खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं नेकपा एमाले पार्टी अध्यक्ष केपी सर्मा ओलीका स्वकीय सचिवालय सदस्य दीपेन्द्र दाहाल, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य राजेन्द्र सिवाकोटी, अमेरिका महादेश कमिटी उपाध्यक्ष बुद्ध लामा, सदस्य केशव लोहनी, ओएनए अन्तर्राष्ट्रिय संघ संस्था विभाग सदस्य राज थापा, ओएनएफ अमेरिका संस्थापक जनक राना, सल्लाहकार सदस्य यमुना भट्टराई, बुद्धिजीवी समिति प्रमुख कुलमणि आचार्य अतिथि हुनुहुन्थ्यो।
एनआरएनए अमेरिका उपाध्यक्ष नेत्र पाण्डे र ज्ञानेन्द्र गुरुङ, एनआरएनए सचिव दीपक सापकोटा, नेपाली जनसम्पर्क समिति अमेरिकाका प्रतिनिधि रामचन्द्र लामिछाने, पशुपतिनाथ फाउन्डेसनका एल ए का अध्यक्ष रामेश्वर भण्डारीले साधारण सभाको उद्घाटन कार्यक्रममा अतिथिको आतिथ्यता गर्नु भएको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं अतिथिहरूलाई ब्याज लगाएर उपाध्यक्ष मैयाँ ढुङ्गानाले स्वागत एवं सम्मान गर्नु भएको थियो भने ओएनएफ केन्द्रीय सदस्यहरू पुष्पा घिमिरे र मिना खतिवडाले खादा लगाएर अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।
गत वर्षको साधारण सभाबाट प्रारम्भ गरिएको उद्घाटन कार्यक्रमको खुला सत्रमा विविध विषयमा विज्ञ साथीहरूबाट कार्यपत्र प्रस्तुतीकरणलाई दोस्रो साधारण सभामा व्यवसाय केन्द्रित अनुभवको साझेदारी र व्यवसायमा लगानीका क्षेत्र सम्बन्धमा व्यापक छलफल गरियो ।
“साना र मध्यम आकारको लगानी, व्यापार अवसरहरू, र वर्तमान अवस्थाको लागि अवसरहरू अन्वेषण गर्दै।” सन्दर्भमा प्रवासी नेपाली मञ्चका अमेरिकाका बुद्धिजीवी कमिटीका प्रमुख एवं सफल व्यवसायी रियल्टर इन्जिनियर कुलमणि आचार्य र राजेन्द्र सिवाकोटीले प्रस्तुत गर्नु भयो। व्यवसायमा संलग्न हुँदाका चुनौती एवं सफल व्यवसायी हुन गर्नु परेको कार्य सम्बन्धमा व्यवसायी यमुना भट्टराईले अनुभव सुनाउनु भएको थियो।
कार्यक्रममा नेपाली घरजग्गा विकास कोष कर्पोरेसनका कार्यकारी सदस्य डा. निर्मल पौड्यालले कम्पनीको स्थापना, कम्पनीको व्यवस्थापन र सेयर सदस्य हुनका लागि आवश्यक सेयर रकम सहित दुई नयाँ परियोजनामा लगानीका अवसर र यसबाट हुने मुनाफा सम्बन्धमा विस्तृत जानकारी गराउनु भयो।
उहाँले सबै सहभागीहरूलाई कम्तीमा १३ हजार अमेरिकी डलरको सेयर लिई कम्पनीको सदस्य बन्न आह्वान गर्नु भयो। उहाँले आर्थिक क्षमता अनुसार प्रस्तावित परियोजनाहरूमा लगानी गरी निरन्तर मुनाफा लिन सकिने योजना प्रस्तुत गर्नु भयो। निकट भविष्यमा अमेरिकामा नेपालीहरूले सामूहिक सञ्चालन गरेको सबै भन्दा व्यवस्थित र विशाल एवं उत्कृष्ट मुनाफा प्रदान गर्ने सक्ने कम्पनी पुर्याउने योजना रहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको विकासको पहिलो शत्रु अर्थ राजनीति रहेको बताउनु भयो। उहाँले नेपालको बाह्य शक्तिसँग सन्तुलनका बारेमा पनि आफ्नो धारणा राख्नुभयो। साथै, मन्त्री ज्ञवालीले आज नेपाल निकै गहिरो मन्दीको चक्रमा परेको, देशको हवाई अड्डामा देखिएका समस्या, ठुला-ठुला सुन काण्ड, अदालतमा देखिएका समस्या लगायत विविध विषयहरूमा आफ्नो धारणा राख्नुभयो। नेपालमा रहेका प्राकृतिक स्रोतहरूबाट देश विकासको पूर्वाधार बनाउनु पर्ने कुरा पनि बताउनुभयो।
साथै उहाँले बाह्य सन्तुलन, देशको अर्थतन्त्र लयमा फर्काउनु पर्ने, सुशासन, जातीय अतिवाद, लोककल्याणकारी राज्य, सामाजिक न्याय सम्बन्धी विविध विषयका बारेमा आफ्ना धारणाहरू राख्नुभयो । देशको आर्थिक विकासमा सबैसँग हातेमालो गर्ने नेकपा गर्ने नेकपा एमालेको नीति रहेको छ भन्ने मा पनि उहाँले जोड दिनुभयो । नागरिकताका सवालमा समेत मन्त्री ज्ञवालीले गैर आवासीय नागरिकता नियमावली संशोधनको बाटोमा लागेको र सबै सम्बन्धित निकायमा निर्देशन गरी सहज रूपमा आफ्नो सम्पत्तिको व्यवस्थापन एवं सुरक्षित लगानी गर्न पाउने कुरा समेत बताउनु भयो ।
नागरिकताको निरन्तरताको विषयमा संविधान संशोधनको विषय तत्कालका लागी जटिल रहेको समेत बताउनु भयो । विदेशबाट भोट गर्नका लागी विदेश बाट नै मतदाता नामावलीमा नाम लेख्ने बारेमा समेत सल्लाह सहित अगाडी बढेको जानकारी समेत गराउनुभयो ।
विशेष अतिथि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैह्र आवासीय नेपाली नागरिकताले सबै आवश्यकता सम्बोधन हुन नसकेकाले नागरिकता सम्बन्धी विषयमा वंशजका आधारमा नागरिकताको निरन्तरतामा जानुपर्ने धारणा राख्नुभएको थियो । आफ्नो भनाइको क्रममा देश विकासको भावी योजनाका प्रस्तुत गर्दै, अबको २५ वर्षमा नेपाललाई संसारको शीर्ष ५० देशको सूचीमा पुर्याउने कार्यक्रममा प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनु भयो ।
उद्घाटन पश्चात् बन्दशत्रको प्रारम्भमा आर्थिक विभाग प्रमुख गोविन्द खनालले आर्थिक प्रतिवेदन, सचिव छवि पाण्डेले साङ्गठनिक प्रगति प्रतिवेदन र अध्यक्ष कृष्ण लामिछानेले राजनैतिक प्रतिवेदन प्रस्तुत गरी सबै विषयमा छलफल पश्चात् एक मतले पारित गर्यो।
बन्दसत्रलाई समेत सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेकपा एमालेले के काम गर्छ, प्रदेश सरकारका बारेमा, पार्टीको लागि गरिएका प्रोपगाण्डाका बारेमा र सहभागीहरूले उठाएका प्रश्नहरूको जबाफ दिनु हुँदै देश र जनाताका लागि राम्रो काम गर्न र देश संवृद्ध पार्न र नेपाली सुखी बनाउन २०८४ मा नेकपा एमालेले बहुमत ल्याउनु पर्ने बताउनु भयो।
कार्यक्रमको अध्यक्षता ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव छवि पाण्डेले गर्नुभएको थियो । मूल व्यवस्थापन क्यालिफोर्निया राज्य कमिटीका अध्यक्ष चिरञ्जीवी गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । दोस्रो साधारण सभा व्यवस्थापन संयोजक भीम प्रकाश ओलीले कार्यक्रम आयोजना गर्दाका विविध पक्षमा बताउनु भएको थियो ।
आर्थिक व्यवस्थापन बारे सल्लाहकार कमिटीका संयोजक राजेन्द्र सिवाकोटीले जानकारी गराउँदै विशेष रूपमा आर्थिक सहयोग गर्ने दाताहरूलाई आभार व्यक्त गर्दै कदर पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको प्रचार प्रसार संयोजक विजय बगालेले समग्र विषयको जानकारी हामीलाई गराउनु भएको थियो ।
साधारण सभालाई मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको संयोजन ओएनएफ केन्द्रीय सदस्य एवं सांस्कृतिक विभाग प्रमुख घनश्याम खनालले गर्नु भएको थियो । कार्यक्रमलाई प्रभावकारी एवं सहभागीहरूलाई सक्रियता बनाउन कलाकार प्रिया भण्डारी, ओएनएफ केन्द्रीय सदस्य एवं कलाकार पुष्पा घिमिरे, सानी ज्ञवाली नानी, एक नारायण सुबेदी, मोहनी ढुम्रेहरूले उत्कृष्ट प्रदर्शनी गरी सभालाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
दोस्रो वार्षिक साधारण सभामा प्रस्तुत साङ्गठनिक प्रतिवेदन, राजनीतिक प्रतिवेदनमा प्रस्तावित कार्यक्रमहरू र सहभागी प्रतिनिधाहरूको सुझावका आधारमा ओएनएफ उपाध्यक्ष गोपाल कँडेलको संयोजकत्वमा, उपसचिव थोमस बास्तोला र सचिवालय सदस्य विजय भट्टराईको समूहले तपसिल बमोजिमको सात बुँदे लस एन्जलस घोषणा पत्र तयार गरी जारी गरेको थियो ।
१. कुनै पनि संगठनको मेरुदण्ड भनेको यसको सदस्यहरू भएको हुँदा आगामी वर्ष हुने ओएनएफ को चौथो अधिवेशन सम्ममा कम्तीमा एक हजार पुर्याउने र सम्भव भए सम्मका राज्यहरूमा थप राज्य कमिटी निर्माण गरी सबै राज्य कमिटीहरूलाई अझ चलायमान गराउने।
२. प्रवासी नेपालीहरूले आर्जन गरेको सीप, ज्ञान र दक्षतालाई नेपालको विकास र समृद्धिसँग जोड्न नेपालमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र गैरसरकारी संस्थासँग समन्वय र सहकार्य गर्ने
३. अमेरिकाको नेपाली समुदायलाई आर्थिक, शैक्षिक, सीपमूलक,तथा सामाजिक क्षेत्रमा लाग्न प्रेरित, समन्वय र सहयोग गर्न सम्बन्धित सबैलाई आह्वान गर्दछ र ओएनएफका सबै साथीहरूलाई व्यावसायिक गतिविधिमा प्रोत्साहन गर्ने।
४. ओएनएफ सँग युवा विद्यार्थीलाई जोड्नको निमित्त एजिएमको अवसरमा हरेक वर्ष कम्तीमा ५ जना विभिन्न विधाका अब्बल विद्यार्थीहरूलाई प्रोत्साहन गरी उनीहरूलाई ओएनएफ सँग जोड्न शैक्षिक सहयोग (छात्रवृत्ति प्रदान गर्ने ।
५. “सबल प्रवासी, समृद्ध नेपाल सुखी नेपालीको” नारालाई सार्थक बनाउन नेपालको मूलधारका राजनीतिक पार्टीहरूले राष्ट्रियता, सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाउन आह्वान गर्दछ ।
६. हालसालै पारित गरिएको गैर आवासीय नागरिकता ऐन बाट प्राप्त गरिएको गैर आवासीय नेपाली नागरिकता ले राजनीतिक बाहेक सम्पूर्ण आधिकार दिने भनिए पनि अन्य कानुनी जटिलता आएको हुँदा त्यस कुरा लाई समाधान गर्न ओएनएफ आइसी ले अन्य सङ्गठनहरूसँग पनि सहकार्य गरी तुरुन्त पहल गर्नको लागि अनुरोध गर्दछ ।
७, नेपालको संविधान २०७२ मा सार्क राष्ट्र बाहेकका मुलुकमा बस्ने र उक्त मुलुकको नागरिकता प्राप्त गरेकाहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिन्छ भन्ने उल्लेख गरिएकामा उक्त नागरिकताबाट प्रवासी नेपालीहरूको अधिकार संकृचित गरिएको, सम्पत्ति माथिको पूर्ण अधिकार र नेपाल प्रवेश गर्दा भिसा समेत पनि नलगाई प्रवेश गर्ने नसकिने हुनाले यो अधिवेशनको हल नेपाली नागरिकताको निरन्तरताको जोडदार माग गर्दछ ।
कार्यक्रमको पहिलो दिन मे २५ मा ओएनएफ अमेरिकाको केन्द्रीय कमिटीको बैठक बसेको थियो उक्त बैठकमा साधारण सभामा प्रस्तुत गरिने आर्थिक, साङ्गठनिक र राजनीतिक प्रतिवेदनहरू केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिएको थियो ।
अन्त्यमा अध्यक्ष कृष्ण लामिछानेले दोस्रो साधारण सभालाई भव्य र सभ्य गरी सम्पन्न गर्न अहोरात्र खट्नु हुने व्यवस्थापन समितिका सबै मित्रहरू, क्यालिफोर्निया राज्य कमिटीका पदाधिकारीहरू, स्थानीय संघ संस्थाका मित्रहरू, यातायात व्यवस्थापन गरी सहयोग गर्ने संयोजक एवं निरन्तर घट्नु हुने मित्रहरू, मूल व्यवस्थापन समितिका सल्लाहकार एवं साधारण सभा आयोजनाका संयोजक एवं ओएनए उपाध्यक्ष, विभिन्न राज्य २७ राज्यबाट सहभागी हुन आउनु भएका प्रतिनिधिहरू एवं ओएनए महादेश कमिटी, अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी, अमेरिका महादेश इन्चार्ज एवं सचिवालय सदस्य, ओएनए अन्तर्राष्ट्रिय अध्यक्ष, नेपाल राष्ट्रिय खेलकुद महासङ्घका उपाध्यक्ष एवं प्रमुख अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री एवं एमाले उपमहासचिव सबै अतिथिहरूलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयो ।
(लेखक: प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष हुन्।)