कर्माचार्यले खेलाए पान अमेरिकन जुडो च्याम्पियनसिपमा ‘फाइनल बाउट’
पेन्सिल्भेनिया/ नेपाली मूलका अमेरिकी जुडो प्रशिक्षक तथा रेफ्री राजेश कर्माचार्यले पान अमेरिकन जुडो च्याम्पियनसिपमा ‘फाइनल बाउट’ खेलाएका छन्।
चिलिको सान्टियागोमा आइतबार सम्पन्न च्याम्पियनसिपमा एक सय केजी मुनी तौल समूहमा अर्जेन्टिना र चिली बिचको खेल खेलाएका थिए। जसमा अर्जेन्टिनाका खेलाडीले स्वर्ण पदक जिते।
कर्माचार्यले यो आफ्नो लागि रेफ्री जीवनकै ठुलो उपलब्धि भएको बताए।
‘सामान्यतया ए लेबलको लाइसेन्स भएकाले मात्र ठुला प्रतियोगितामा फाइनल बाउट खेलाउन पाउँछन् तर म बी लाइसेन्सले पनि यो अवसर पाएँ, यो ठुलो उपलब्धि हो।’ उनले भने।
कर्माचार्यका अनुसार च्याम्पियनसिपमा ए लाइसेन्स भएका ६ जना र बी लाइसेन्स भएका पाँच रेफ्री थिए। ‘शनिवार मैले कांस्य पदकका लागि भएको खेल खेलाएको थिए, मेरो प्रदर्शनको आधारमा स्वर्ण पदकका लागि भए भएको खेलमा निर्णायक हुन पाए।’
उनले आफ्नो ए लाइसेन्स लिन योजनामा चिली भ्रमणले थप मद्दत गर्ने विश्वास व्यक्त गरे।
‘मैले सन् २००३ मा अन्तर्राष्ट्रिय बी लाइसेन्स लिएको हुँ, पहिला म रेफ्री भन्दा पनि प्रशिक्षकमा बढी व्यस्त भए, अमेरिका आए पछि रेफ्रीमा ए लाइसेन्स लिन खोजेको तर नेपाल जुडो संघले आवश्यक सहयोग नगरेका कारण ढिला भयो।’
सन् १९९५ देखि जुडो प्रशिक्षक बनेका कर्माचार्यले नेपालका लागि एसियाडमा कांस्य र सागमा रजत पदक विजेता खेलाडी उत्पादन गरी सकेका छन्।
इन्टरनेश्नल जुडो फेडेरेशनबाट पाँचौँ डान प्राप्त गरेका कर्माचार्यले पान अमेरिकन च्याम्पियनसिपमा रेफ्रीको भूमिका निभाएको यो पहिलो पटक हो। उनी एक दशक देखि अमेरिकाको न्यु योर्कमा छन्।
पान अमेरिकनमा फाइनल बाउट खेलाए सँगै आफू पेरुको लिमा शहरमा हुने पान अमेरिकन ओलम्पिक छनोटमा रेफ्रीका लागि छनौट भएको बताए। प्रतियोगिता जुन २०-२९ तारिख सम्म हुँदै छ।