‘एनआरएनए एकताको आजै बाट महाअभियानमा होमिऔँ!’: सुनिल साह
आज मलाई व्यक्तिगत रूपमा भन्नुपर्दा, हामीलाई (एन.आर.एन. अभियन्ता) माथि सर्वोच्चको युगान्तकारी ‘बुटिङ’ भएको महसुस भएको छ।
हुन त म पहिलेदेखि नै समस्या के हो, समाधान कसरी गर्न सकिन्छ भनेर आफ्ना विचार र उपायहरू पनि सुझाउँदै गरेको थिएँ। “रिबुट एन.आर.एन.ए” भनेर मैले हामी यो आधिकारिताको लडाइँमा फस्नु अघि, १०औँ महाधिवेशन भन्दा अघि यस्तो बुटिङ होला भन्ने सोचेर लेखेको थिइनँ, तर कता कता भयो त्यस्तै।
हाम्रो समस्या “विश्वास”को हो, त्यो पनि प्रविधिको दुरुपयोग भनौँ वा म्यानिपुलेसनले सृजना गरेका केही कृत्रिम समस्याको भुमरीमा संस्था फस्यो, फसाइयो वा फस्दै गयो। आज यो अवस्थासम्म आइपुग्दा हामीले गहिरो र निर्मम समीक्षा र आत्मालोचना गर्नै पर्छ, गल्ती कमजोरी हामीबाटै भएको छ। हामी सुध्रिनै पर्छ!
आज हामीलाई फेरि अर्को अवसर पनि मिलेको छ, हामी निस्वार्थ भै संस्थाको सर्वोपरि हितको लागि एक ढिक्का भएर लाग्नुबाहेक अरू उपाय छैन – त्यसैले म भन्छु, सकिन्छ र त्यो सम्भव पनि छ, समस्या सदस्यता प्रणालीमा छ, त्यो प्राविधिक समस्या हो, हल गर्न सकिन्छ। मैले उच्चस्तरीय अवधारणा पनि सेयर गरेको थिएँ, गर्न सकिन्छ, आजैबाट सुरु गरौँ!
यो अवस्थाले सृजना गरेको अन्योल र समस्याबाट दिक्क, वाक्क, निराश हुनु हुने सम्पूर्ण आदरणीय सदस्यहरूसित म माफी माग्दछु। म पनि टिके नै थिए, जब सम्म पदमा बसे, आफ्नो पोल्टामा परेको दायित्व इमानदारीका साथ निभाए। आर्थिक पारदर्शितालाई आम सदस्यहरूको पहुँच सम्म पुग्ने व्यवस्थाको सुरुवात गरे त्यो राम्रै गरे जस्तो लाग्छ।
सबैले आ-आफ्नो स्वार्थरहित बुट लगाऔँ र एन.आर.एन.एको एकताको सम्मेलनतर्फ लामबद्ध भएर मार्च गरौँ! समय कम छ-धेरै गर्नु छ, आउनुहोस्, आजै बाट महाअभियानमा होमिऔँ!
अन्तमा, तपाईँहरूले म र मेरो कामप्रति देखाउनुभएको सद्भाव र समर्थन को लागि हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु!
जय नेपाल – जय एन.आर.एन.ए!
(साह एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा अदालतद्वारा राखेर भएको आइसीसी कमिटीको कोषाध्यक्ष हुन्।सं. )