पेन्सिल्भेनियामा गैर कानुनी मतदान गर्ने व्यक्ति पक्राउ
फिलाडेल्फिया, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा गैर नागरिक भएर मतदान गरेको आरोपमा पोर्चुगलका नागरिक पक्राउ परेका छन् ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) द्वारा मंगलवार जारी गरिएको विज्ञप्ति अनुसार ती व्यक्ति ग्रीनकार्ड वाहक भएको जनाइएको छ ।
इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट(आइस) अन्तर्गतको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई) को फिलाडेल्फिया कार्यालयले अक्टोबर ५ मा पाउलो जोर्ज सिल्भालाई पक्राउ गरेको हो।
विभागले जारी गरेको विज्ञप्तिअनुसार, फिलाडेल्फियामा सक्रिय मतदाताका रूपमा दर्ता रहेको अभिलेखमा देखिएका सिल्भाले सन् २०२४ नोभेम्बर ५ मा भएको निर्वाचनमा मतदान गरेको आरोप छ। उनीमाथि गैर नागरिक भएर मतदान गरेको अभियोग लगाइएको छ।
सिल्भा पोर्चुगलका नागरिक हुन्। उनी सन् १९७८ को अप्रिलमा न्यु योर्क हुँदै कानुनी रूपमा अमेरिका प्रवेश गरेको गृह सुरक्षा विभागले जनाएको छ। पक्राउपछि उनलाई अमेरिकी मार्शल सेवाको जिम्मा लगाइएको छ।
अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गैर नागरिकले अमेरिकी निर्वाचनमा मतदान गर्नु कानुन विपरीत भएको बताउँदै निर्वाचन प्रणालीको अखण्डता कायम राख्न प्रशासन प्रतिबद्ध रहेको बताएका छन्।
यस मुद्दामा पेन्सिल्भेनियाको पूर्वी जिल्लाका लागि अमेरिकी सरकारी वकिलको कार्यालयले अभियोजन गर्ने गृह सुरक्षा विभागले जनाएको छ।
अमेरिकी निर्वाचनमा संघीय, राज्य र स्थानीय कानुनअनुसार मतदान गर्न अमेरिकी नागरिक हुनु आवश्यक हुन्छ।

















