फैसला सुनाउन हतारिएको समाज
केशव बैरागी माइलो
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / सेप्टेम्बरको दोस्रो साता ओहायोमा एउटा दुखद घटना घट्यो। एउटै घरमा दुईवटा शव भेटिए। त्यो घटना कसरी र किन भयो भन्नेबारे प्रहरी अनुसन्धान सकिएको छैन, तर सामाजिक सञ्जालमा विभिन्न अफवाहहरू फैलिए।
यहाँसम्म कि, मृतक भनेर जिउँदो मान्छेको फोटोसमेत हालियो। त्यही टोलमा बस्ने अर्का व्यक्ति आमाको श्राद्ध गर्दै थिए, तर सामाजिक सञ्जालमा उनी मारिएको हल्ला फैलाइयो।
करिब दुई दशकअघि एउटा खबर मानिससम्म पुग्न समय लाग्थ्यो। टेलिफोन सबैको पहुँचमा थिएन। मोबाइल फोन त झन् विलासिताको वस्तुजस्तै थियो। गाउँमा कसैको घरमा ठूलो घटना भयो भने खबर बोकेर मानिस आफैँ अर्को गाउँ पुग्नुपर्थ्यो।
कहिलेकाहीँ खबर पुग्दा घटना पुरानो भइसकेको हुन्थ्यो।आज समयसँगै अवस्था उल्टिएको छ।घटना हुन नपाउँदै खबर तयार हुन्छ। खबर तयार हुन नपाउँदै टिप्पणी आउँछ। टिप्पणी आउन नपाउँदै निष्कर्ष निस्कन्छ। अनि अनुसन्धान गर्ने निकायले अनुसन्धान सुरु गर्नुअघि नै सामाजिक सञ्जालले फैसला सुनाइसकेको हुन्छ।
प्रश्न उठ्छ,समयले हामीलाई सूचना छिटो दिएको हो कि हतार गर्ने बानी? प्रविधिले संसारलाई नजिक ल्यायो, तर कतै हाम्रो विवेकलाई भने टाढा धकेलिरहेको त छैन?
पहिले मानिस खबर पर्खन्थ्यो, अहिले खबरले मानिसलाई पर्खनुपर्ने अवस्था आएको छ। सामाजिक सञ्जालको सबैभन्दा रोचक दृश्य के हो भने यहाँ न्यायाधीश बन्न कुनै परीक्षा उत्तीर्ण गर्नुपर्दैन। कानुन पढ्नुपर्दैन। प्रमाण बुझ्नुपर्दैन। अनुसन्धान गर्नुपर्दैन। एउटा मोबाइल, एउटा फेसबुक आइडी र केही शब्द भए पुग्छ।
एक जाना कसैले लेखिदिन्छ,‘यस्तो भयो।’
तुरुन्त अर्कोले थप्छ,‘दोषी फलानो हो।’
तेस्रोले भन्छ,‘मैले त पहिल्यै भनेको थिएँ।’
चौथोले पुरानो तस्वीर खोजेर घटनासँग जोडिदिन्छ।
पाँचौँले फैसला सुनाउँछ।
छैटौँले फैसला पनि सामाजिक सञ्जालमै कार्यान्वयन गरिदिन्छ।
यसरी केही मिनेटमै एउटा मानिस अभियुक्तबाट दोषी बन्छ, दोषीबाट अपराधी बन्छ र अन्ततः सामाजिक रूपमा बहिष्कृत हुन पुग्छ।
अनुसन्धान सुरु भएकै हुँदैन। सम्बन्धित पक्षसँग सोधिएकै हुँदैन। प्रमाण परीक्षण भएकै हुँदैन। अदालतसम्म कुरा पुगेकै हुँदैन। तर हाम्रो समाजले फैसला गरिसकेको हुन्छ।
सायद आधुनिक समाजको नयाँ अदालत यही हो,जहाँ न्यायाधीश धेरै छन्, तर प्रमाणको फाइल कसैसँग छैन।
मेरो मनमा अर्को गम्भीर प्रश्न उठेको ,पत्रकारिता कि प्रतिस्पर्धात्मक हतार?
पत्रकारिताको जन्म सत्य, निष्पक्षता र सन्तुलित सूचना प्रवाहका लागि भएको हो, हावादारी खबर बेच्नका लागि होइन,तर सामाजिक सञ्जालको तीव्र प्रतिस्पर्धाले पत्रकारितामाथि पनि एउटा अनौठो दबाब सिर्जना गरेको छ,‘सबैभन्दा पहिले हुने दबाब।
सबैभन्दा पहिले हामीले दियौँ।
प्रश्न यो हुनुपर्ने होइन र सबैभन्दा पहिले होइन सबैभन्दा सही सूचना हामीले दियौँ कि दिएनौँ?
समाचारको गति महत्त्वपूर्ण छ, तर सत्यको मूल्यभन्दा ठूलो होइन।
एउटा अपुष्ट खबरले कसैको प्रतिष्ठा, परिवार, व्यवसाय र सामाजिक जीवनमा गहिरो असर पार्न सक्छ। एउटा गलत शीर्षकले वर्षौँको सम्मान केही मिनेटमै ध्वस्त पार्न सक्छ।
पत्रकारिताको धर्म खबर पुर्याउनु मात्र होइन, खबरको प्रभाव बुझ्नु पनि हो।
विशेषतः मृत्यु, अपराध, घरेलु हिंसा, यौन हिंसा वा आत्महत्याजस्ता संवेदनशील विषयमा पत्रकारिता अझ संयमित र जिम्मेवार हुनुपर्छ। पीडितको तस्वीर, व्यक्तिगत विवरण वा परिवारको दुःखलाई सामग्री बनाएर प्रस्तुत गर्नु पत्रकारिताको सफलता होइन।दुःखलाई दृश्य बनाएर दर्शक बढाउन सकिएला तर त्यसले पत्रकारिताको गरिमा बढाउँदैन। दुःखलाई सामग्री बनाउनु अपराध गर्नु जस्तै हो ।
कसैको घरमा अप्रत्याशित मृत्यु भयो। केही मिनेटमै मृतकको तस्वीर सामाजिक सञ्जालमा फैलिन्छ।तस्वीरसँगै श्रद्धाञ्जली।त्यसपछि सयौँ प्रतिक्रिया।त्यसपछि साझा।त्यसपछि अझ धेरै साझा।
अनि हामीलाई लाग्छ,हामीले ठुलो सामाजिक काम गर्यौँ तर एकछिन गहिरिएर सोचौँ त मृतकको तस्वीर सार्वजनिक गर्ने अधिकार हामीलाई कसले दियो? त्यो तस्वीर उनका छोराछोरी ,बा-आमा र नजिकका आफन्तले भोलि देख्दा कस्तो अनुभूति गर्लान्?
आफना नजिकका मानिसलाई अन्तिम अवस्थामा देखेको तस्वीर इन्टरनेटमा सधैँका लागि बाँकी रहँदा उनीहरूको मनमा कस्तो प्रभाव पर्ला?
सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिले यसको उत्तरदायित्व लिन्छ? सायद लिँदैन किनकि हाम्रो समाजमा पोस्ट गर्ने अधिकार छ, तर पोस्टको परिणाम भोग्ने जिम्मेवारी प्रायः अरूको हुन्छ।यहीँनेर हाम्रो डिजिटल संस्कारको विडम्बना देखिन्छ। हामी अरूको दुःखलाई सार्वजनिक सम्पत्ति सम्झन्छौँ, तर आफ्नो दुःखलाई पर्दाभित्र राख्न चाहन्छौँ। अरूको परिवारमा क्यामेरा बोकेर पुग्ने समाज आफ्नै घरमा भने पर्दा तान्न चाहन्छ।
दुःखको अबस्था पनि अब सामग्री भयो। कुनै मानिस रोइरहेको छ भने भिडियो,कुनै परिवार संकटमा छ भने लाइभ,कुनै व्यक्ति दुर्घटनामा परेको छ भने तस्विर,कसैको मृत्यु भयो भने श्रद्धाञ्जलीसँगै तस्विर,कसैको निजी समस्या आयो भने,सार्वजनिक बहस।
हामीले दुःखलाई पनि सामग्रीमा बदल्न थालेका छौँ। कुनै समय मानिसले दुःख देख्दा आँखा झुकाउँथ्यो। आज मोबाइल उठाउँछ । पहिले पीडितलाई उठाउन हात अघि बढ्थ्यो। अहिले क्यामेरा अघि बढ्छ।
पहिले मानिस भन्थे,‘पहिले मान्छे बचाऔँ।’
आजका मानव भन्छन्, ‘पहिले भिडियो खिचौँ।’
यो परिवर्तन प्रविधिको परिवर्तन होइन, मानवीय प्राथमिकताको परिवर्तन पनि हो । सामाजिक सञ्जाल अदालत होइन।
अर्को गम्भीर समस्या हो,सामाजिक सञ्जालमा चल्ने वकालत। कसैलाई आरोप लाग्यो भने पक्ष र विपक्ष तयार भइहाल्छ।
दुवै पक्षका आफ्नै वकिल हुन्छन्त तर अदालत हुँदैन।प्रमाणको परीक्षण हुँदैनन ।कानुनी प्रक्रिया हुँदैन।केवल भावनात्मक बहस हुन्छ।
कसैले आफूले सुनेको कुरा सत्य ठान्छ। अर्कोले आफूले देखेको आधा दृश्यलाई पूर्ण घटना सम्झन्छ। तेस्रोले कसैले भनेको कुरा उद्धृत गरेर आफ्नो धारणा बनाउँछ।
अन्ततः सामाजिक सञ्जालमा एउटा ठुलो आवाज तयार हुन्छ तर प्रमाण बिहिन आवाज बनिरहेको हुन्छ । कानुनको आफ्नै प्रक्रिया हुन्छ। अनुसन्धान गर्ने निकाय हुन्छ। अदालत हुन्छ। कानुनी प्रतिनिधि हुन्छन्। प्रमाण परीक्षण हुन्छ। दुवै पक्षलाई सुन्ने व्यवस्था हुन्छ। त्यसैले सामाजिक सञ्जालको भीडले अदालतको स्थान लिन खोज्नु समाजका लागि स्वस्थ संकेत होइन।भीडले आवाज दिन सक्छ, न्याय दिन सक्दैन।
आज हामीसँग सूचना अत्यधिक छ तर ज्ञान त्यही अनुपातमा बढेको छ भन्ने छैन। गुगलमा दुई मिनेट गुगलमा दुई मिनेट खोजेपछि विशेषज्ञ भइदिने,दुईवटा भिडियो हेरेपछि चिकित्सक भइहाल्ने,तीनवटा पोस्ट पढेपछि कानुनविद् बन्ने,चारवटा टिप्पणी गरेपछि समाजशास्त्री बन्ने,र एउटा घटना सुनेपछि अनुसन्धानकर्ता बन्ने।
कठै! मेरो समाज!
सूचना बुझ्न सन्दर्भ चाहिन्छ, अध्ययन चाहिन्छ, अनुभव चाहिन्छ र सबैभन्दा बढी विवेक चाहिन्छ। अध्ययनबिनाको ज्ञान कहिलेकाहीँ आणविक बमभन्दा पनि खतरनाक हुन सक्छ। अधुरो ज्ञान भएको मानिसलाई भने आफू पूर्ण ज्ञानी भएको भ्रम हुन सक्छ। यही भ्रम सामाजिक सञ्जालमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ।
अगुवाले बाटो देखाउने हो, भीडको पछि लाग्ने होइन। सामाजिक, राजनीतिक, धार्मिक, साहित्यिक वा सामुदायिक क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले बोलेको एउटा वाक्यले धेरै मानिसलाई प्रभावित पार्न सक्छ। त्यसैले अगुवाले अरूलाई संयम सिकाउने नाममा स्वयं भाइरल हुने दौडमा लाग्नु हुँदैन।अरूलाई कानुनको सम्मान गर्न सिकाउँदै आफूले सामाजिक सञ्जालमै फैसला सुनाउनु हुँदैन। अरूलाई मानवीय संवेदना सिकाउँदै आफूले पीडितको तस्विर सार्वजनिक गर्नु हुँदैन। नेतृत्व भनेको केवल अगाडि उभिनु होइन, गलत बाटोमा भीड दौडिँदा त्यसलाई रोक्ने साहस गर्नु पनि हो।
समाजका अगुवाले यदि हतारलाई संस्कार बनाए भने नयाँ पुस्ताले त्यसैलाई सामान्य व्यवहार ठान्नेछ। त्यसैले नेतृत्वको पहिलो परीक्षा भीडसँगै दौडिनुमा होइन, आवश्यक पर्दा भीडभन्दा फरक दिशामा उभिन सक्नुमा हुन्छ।
हामी आफ्ना छोराछोरीलाई प्रविधि चलाउन सिकाइरहेका छौँ, तर के हामी उनीहरूलाई प्रविधि कहिले नचलाउने भनेर पनि सिकाइरहेका छौँ?
हामी उनीहरूलाई बोल्न सिकाइरहेका छौँ, तर के हामी उनीहरूलाई कुन अवस्थामा मौन बस्ने भनेर सिकाइरहेका छौँ? हामी उनीहरूलाई आफ्ना अधिकारबारे बताइरहेका छौँ, तर के हामी उनीहरूलाई अरूको अधिकारको सम्मान गर्न पनि सिकाइरहेका छौँ? हामी उनीहरूलाई सूचना खोज्न सिकाइरहेका छौँ, तर के हामी उनीहरूलाई सूचना जाँच्न पनि सिकाइरहेका छौँ?
सायद हाम्रो शिक्षाको एउटा ठूलो कमी यहीँनेर छ,हामीले हातमा प्रविधि त दियौँ, तर त्यसलाई चलाउने विवेक कति आवश्यक छ भन्ने पाठ पर्याप्त पढाउन सकेनौँ।
प्रविधि दोषी होइन, प्रयोगकर्ता जिम्मेवार हो।
सामाजिक सञ्जाल आफैँ खराब होइन । मोबाइल खराब होइन। इन्टरनेट खराब होइन। खास समस्या हाम्रो प्रयोगमा छ। एउटा चक्कुले फल काट्न पनि सक्छ, चोट पुर्याउन पनि सक्छ। त्यसको दोष चक्कुको होइन, त्यसलाई चलाउने हातको हुन्छ।
सामाजिक सञ्जाल पनि त्यस्तै हो। यसले आपत्कालमा मानिसलाई जोड्न सक्छ। हराएका व्यक्तिको खोजीमा सहयोग गर्न सक्छ। गलत कामविरुद्ध आवाज उठाउन सक्छ। ज्ञान फैलाउन सक्छ। समुदाय निर्माण गर्न सक्छ। टाढिएका मानिसलाई नजिक ल्याउन सक्छ , तर यही माध्यमले झूट, घृणा, अपमान, अफवाह र गलत निष्कर्ष पनि क्षणभरमै हजारौँ मानिससम्म पुर्याउन सक्छ। त्यसैले प्रश्न सामाजिक सञ्जाल कस्तो छ भन्ने मात्र होइन,हामी सामाजिक सञ्जाल प्रयोग गर्दा कस्ता हुँदैछौँ? भन्ने हो।
हामी कस्तो समाज बनाउन चाहन्छौँ? यस्तो समाज, जहाँ घटना हुनासाथ न्याय हुन्छ? कि यस्तो समाज, जहाँ पहिले सत्य खोजिन्छ र त्यसपछि निष्कर्ष निकालिन्छ? हामी यस्तो समाज चाहन्छौँ, जहाँ मृतकको तस्वीर भाइरल हुन्छ? कि यस्तो समाज, जहाँ मृतकको परिवारको पीडालाई सम्मान गरिन्छ? हामी यस्तो पत्रकारिता चाहन्छौँ, जहाँ सबैभन्दा पहिले खबर दिनु महत्त्वपूर्ण हुन्छ?
कि यस्तो पत्रकारिता, जहाँ सबैभन्दा पहिले सही खबर दिनु महत्त्वपूर्ण हुन्छ?
हामी यस्तो नेतृत्व चाहन्छौँ जहाँ अगुवा भीडसँगै चिच्याउँछ?कि यस्तो नेतृत्व, जहाँ भीड चिच्याइरहँदा पनि विवेकको आवाज सुन्न सकिन्छ? यी प्रश्नहरूको उत्तर सायद कुनै भाषणमा हुँदैन । सायद यसको उत्तर हाम्रो आफ्नै व्यवहारमा लुकेको छ।
समाज परिवर्तन गर्न सधैँ ठुलो भाषण, चिप्लो बोली र खोक्रो आश्वासन आवश्यक पर्दैन। एउटा अपुष्ट खबर फैलाउनु पनि पत्रकारिता हुन सक्छ। कसैको निजी पीडालाई निजी नै रहन दिनु पनि मानवता हुन सक्छ। आरोप सुनेर तुरुन्त फैसला नगर्नु पनि सभ्यता हुन सक्छ। कुनै तस्विर भाइरल नगर्नु पनि संवेदना हुन सक्छ। ‘मलाई थाहा छैन’ भन्न सक्नु पनि कहिलेकाहीँ ज्ञानको सबैभन्दा इमानदार अभिव्यक्ति हुन सक्छ।
हामीसँग सूचना फैलाउने शक्ति पहिलेभन्दा धेरै छ। एउटा औँलाको स्पर्शले संसारको अर्को कुनासम्म खबर पुर्याउन सकिन्छ तर प्रश्न यो हो,त्यो शक्तिसँगै हामीले विवेक पनि बढाएका छौँ कि छैनौँ? सर्वसाधारण मानिसको आशा धेरै ठुलो छैन। पत्रकारले आफ्नो धर्म नछोडोस्। कानुनका सरोकारवालाले आफ्नो बाटो नछोडून्।अगुवाले आफ्नो जिम्मेवारी नबिर्सून् र सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो विवेक नबेचून्,किनकि शब्द मेटिए पनि त्यसले दिएको चोट सधैँ मेटिन सक्छ भन्ने छैन।
सामाजिक सञ्जालमा सुनाइएको फैसला पछि गलत साबित भए पनि त्यसले बिगारेको प्रतिष्ठा, सम्बन्ध र जीवनलाई पहिलेको अवस्थामा फर्काउन सधैँ सम्भव हुँदैन। डिजिटल संसारमा एउटा गलत आरोपको आयु केही मिनेटको हुन सक्छ, तर त्यसको घाउ जीवनभर रहन सक्छ ,त्यसैले खबरभन्दा अगाडि नदौडौँ। पहिले सत्यलाई हिँड्न दिऔँ। पहिले प्रमाणलाई बोल्न दिऔँ ।
पहिले सम्बन्धित पक्षलाई सुन्न दिऔँ।पहिले मानवतालाई बोल्न दिऔँ र फैसला सुनाउनुअघि एकपटक आफ्नो विवेकलाई नै अदालतमा उभ्याऔँ। त्यस दिन बल्ल हामीले बुझ्नेछौँ,न्याय भनेको सबैभन्दा पहिले बोल्नु होइन,सत्य नआएसम्म केही समय चुप लाग्न सक्नु हो,किनकि सभ्य समाज त्यो होइन, जहाँ सबैसँग फैसला सुनाउने अधिकार हुन्छ,सभ्य समाज त्यो हो जहाँ सत्य नआएसम्म फैसला सुनाउन मानिसहरू आफ्नै औँला र मुखलाई रोक्न सक्छन्।














