‘जिम्मेवार व्यक्तिले एक पटक गैर आवासीय नेपालीहरूसँग क्षमायाचना गर्नुपर्छ’
गंगाधर गौतम
गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को दशौं महाधिवेशनका सन्दर्भमा नेपालको सम्मानित सर्वोच्च अदालतले बिहीबार मात्रै एक फैसला गरेको छ । जसका कारण एनआरएनएको फरक फरक मिति र स्थानमा गरेका दुवै महाधिवेशनलाई खारेज गरेको छ भने तत्कालीन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघको ८१ औँ बैठकले निर्माण गरेको उच्चस्तरीय अनुगमन समितिका संयोजक डा शेष घलेको संयोजकत्वमा संस्थापकदेखि पूर्व अध्यक्षहरू रहने समिति गठन गर्ने र दुवै तर्फ अधिवेशनका क्रममा तीन जना अध्यक्ष भनिएका कुल आचार्य, रविना थापा र डा. बद्री केसी र अर्को तर्फबाट विनोद कुँवर, जानकी गुरुङ र उमेश पुडासैनीलाई उक्त समितिमा समायोजन गर्दै महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने जिम्मेवारी सुम्पिएको छ जुन स्वागत योग्य छ।
यस्तो परिस्थितिमा गैर आवासीय नेपाली संघको एक अभियन्ताको हिसाबले यो निर्णय पछि र यो निर्णयका कारण गैर आवासीय नेपाली संघमा पुगेको क्षति र अहिलेको परिस्थितिका बारेमा आफ्ना धारणाहरू स्पष्ट पार्नु पर्ने देखेको छु। । गैर आवासीय नेपाली संघको दशौं महाधिवेशनमा सहमतिका लागि संस्थापक अध्यक्षदेखि तत्कालीन अध्यक्षसम्मले अध्यक्ष त्रयको व्यवस्था गरेर ११ औँ महाधिवेशनको सुनिश्चितताका लागि स्वतन्त्र, निष्पक्ष निर्वाचनको प्रत्याभूतिका लागि जुन जिम्मेवारी दिइएको थियो तत्कालीन नेतृत्वमा रहेका तीन जना अध्यक्षले आफ्नो १८ महिनाको कार्यकाल सर्वसम्मतरुपमा सम्पन्न गर्ने सुअवसर प्राप्त गर्नु भएको थियो ।
अध्यक्षहरू कुल आचार्य र रविना थापाले आफ्नो कार्यकारी भूमिकामा रहँदा संघका सबै गतिविधिहरूलाई आम सहमतिमा सुल्झाउने, सल्टाउने र समापन गर्ने प्रयत्न गर्नुभयो र सफल हुनुभयो ।
कार्यकालको अन्तिम चरणमा डा. बद्री केसी कार्यकारी अध्यक्ष बनेपछि संघका गतिविधिहरू र संघको निर्वाचन प्रक्रिया र निर्वाचन परिस्थितिलाई समेत प्रतिकुलरुपमा लैजानका लागि उहाँले आफ्नो कार्यकारी पदको पूरै दुरुपयोग गरेको कुरा छर्लङ्गै देखिएको छ । जसका कारण निर्वाचनमा भेरो अनलाइन भोटिङमार्फत भएका त्रुटिका र धाँधलीका कारण नेपाल सरकारको सीआइबी र मन्त्रिपरिषद्को सिफारिसमा बनेको छानबिन समितिले उक्त निर्वाचनमा भएको त्रुटिलाई प्रमाणित गरिसक्दा पनि तत्कालीन अवस्थामा आफैले आफैलाई अध्यक्ष घोषणा गरेका बद्री केसी र उहाँको टिमले गैर आवासीय नेपाली संघको एकता र आवश्यकतालाई कही कतै पनि नजर अन्दाज गर्नुभएन । जसका कारण गैर आवासीय नेपाली संघको इतिहासमा फेरि गएका यी तीन वर्ष तमाम गैर आवासीय नेपालीहरूले यो समयमा गरेको आफ्नो योगदान सबै कुरा ड्यामेज भएको छ ।
यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन ११ औँ महाधिवेशनको कार्यकारी अध्यक्षका हिसाबले डा. बद्री केसी र उहाँसँग संलग्न टिमले लिनुपर्दछ ।
अर्कोतर्फ गैर आवासीय नेपाली संघको आगामी महाधिवेशनको यस संघारमा हामी तमाम गैर आवासीय नेपालीहरूले यसलाई अवसरको रूपमा लिनुपर्छ । हाम्रा अगाडि चुनौतीहरू पनि छन् र ती चुनौतीहरूलाई अवसरको रूपमा परिणत गर्नु पर्ने हुन्छ । त्यो अवसर भनेको गैर आवासीय नेपाली संघको साख, हाम्रो संस्थाप्रतिको हेर्ने दृष्टिकोण अत्यन्तै नकारात्मक हुँदै गएको आजको परिस्थितिमा सबै कुराहरूमा आत्म समीक्षा गर्दै आत्मालोचना गर्दै एकताको महाधिवेशनका लागि संसारभर रहेका नेपालीहरूसँग हामी फेरि एक पटक जानु पर्ने हुन्छ । आजको आवश्यकता भनेको सहमति, सहकार्य र एकता हो । त्यो भनेको जुन जुन व्यक्ति, जुन जुन तह र तप्काले एनआरएनएको यो परिस्थिति उत्पन्न हुनका लागि बढी काम गर्नुभयो, ती जिम्मेवार व्यक्तिले एक पटक गैर आवासीय नेपालीहरूसँग क्षमा याचना गर्नुपर्छ ।
संस्थालाई प्राविधिक रूपमा कब्जा गर्न सचिवालय, समेत चरम दुरुपयोग गरेर निर्वाचन समिति, आइटी र सिङ्गो कर्मचारी संयन्त्रको दुरुपयोग गरेको समेत कार्यकारीका हिसाबले जिम्मेवारी लिनु पर्छ। यसबिचमा धेरै आर्थिक अपचलन र अपारदर्शीताहरु र संघको सम्पत्तिका बारेमा पनि धेरै कुराको छानबिन गर्नु पर्ने अवस्था सिर्जना भएको हुँदा यसका लागि उच्चस्तरीय समितिमार्फत यो तीन वर्षको बिचका अपारदर्शी खर्चका हिसाबहरू नेपाल सरकारको निकायमार्फत अडिट गरेर अघि जानु पर्ने अवस्था छ ।
संघमा भएको अनियमितता छानबिन गर्न समिति गठन गर्नु हुने तत्कालीन नेपाल सरकार छानबिन समितिका सम्पूर्ण पदाधिकारीहरू, सीआइबी, राजनीतिक दलहरू, नेपाल सरकार लगायत सम्बन्धित सबैलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। यो अभियानमा ऐक्यबद्धता जनाउने सबै एनआरएनए एनसीसीहरूलाई आभार प्रकट गर्दछु। आगामी दिनमा पनि तपाईंहरुसँग सरसल्लाह गरेरै अगाडी बढ्ने छौँ।
म पुनः एक पटक गैर आवासीय नेपाली संघको एकताको महाधिवेशन गर्न जिम्मेवारी पाउनु भएका पूर्व संरक्षक डा. शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त लगायत उक्त समितिमा रहेका अन्य ६ जनालाई पनि यो तपाईँहरूले पाएको भूमिका र जिम्मेवारी सफल गर्नको लागि तपाईँहरूले आजकै दिनबाट आफ्नो कार्यदिशामा अगाडि बढ्नको लागि अनुरोध गर्दै यहाँहरूलाई सफलता मिलोस् र एनआरएनलाई सबै आम गैर आवासीय नेपालीको साझा संस्था बनाउनमा तपाईँहरूले ल्याएको कार्यनीति र अवलम्बन गरेका बाटोहरूबाट नयाँ दिशावोध हुने छन् भन्नेमा आशावादी हुँदै कुनै क्षेत्र वा विषयमा एनआरएनको एकता महाधिवेशन गराउने कुराको सहजीकरण गर्नका लागि म सधैँ प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु ।
जय नेपाल । जय एनआरएन ।
(लेखक एनआरएनए बेल्जिएमका पूर्वअध्यक्ष हुन्। उनी एनआरएनए आइसीसीको दशौ महाधिवेशनमा तीन-तीन अध्यक्ष रहेको कमिटीका सचिव र एधारौ महाधिवशेनमा आरके समुहको उपाध्यक्ष थिए, सर्वोच्चको फैसला सँगै उनको आइसीसीका सबै पद खारेज भएको छ।)