शंकाको घेरामा श्रम सम्झौता
सन्तोष अधिकारी
युवा देशको मेरुदण्ड हुन् । कुनै पनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । एउटा युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ, जुन स्वाभाविक पनि हो । तर, उ आफ्नो योग्यता अनुरूपको काममा कति गल्ली धाउँछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो वैदेशिक यात्रालाई अङ्गाल्न पुग्छ । हुने खाने र सक्षम जो छन् उनीहरूको रोजाइमा पर्छ अमेरिका, लन्डन अनि अस्ट्रेलिया । अनि निम्न वर्गीय र पढाई बाट हैरान भएकाहरूको रोजाइमा पर्छ खाडी मुलुक ।
पछिल्लो समय नेपाली युवाहरूको पहिलो रोजाई रोमनिया बन्न पुगेको छ । रोमानिया रसिया सँग युद्ध गर्दै गरेको युक्रेनको छिमेकी देश हो । रसियाले बेलाबेलामा छिमेकी देशमा गरेको बमबारीका कारण सीमावारिका घरहरूमा समेत भूकम्प गएको जस्तो पराकम्पन जाने गरेको त्यहाँका नागरिकको भनाई रहेको छ । कुनै पनि समयमा रसियाले रोमानियामाथि पनि हमला गर्न सक्ने भन्दै त्यहाँका आर्मी चिफले सतर्क हुन अनुरोध समेत गरेका थिए । यस्तो युद्ध हुन सक्ने अवस्थाका नजिकका देश पनि नेपाली युवाहरूको प्रमुख रोजाइमा परेको छ ।
नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागको अभिलेखलाई हेर्ने हो भने सन् २०२३ मा ११ हजार २ सय ८३ जना युवाहरू रोमनियाका लागि पलायन भएको देखिन्छ । रोमनियाले सन् २०२४ मा थप २० हजार श्रमिक लैजाने श्रम सहमति नै गरेको छ । यही थप २० हजारमा पर्न झन्डै लाखौँको तादादमा आवेदन परेको म्यानपावर संस्थानहरूको भनाइ रहेको छ ।
सामान्य भाषामा भन्नुपर्दा रोमनियामा कमाई खासै नभएको र त्यहाँ जान लाग्ने लागत अनुसार कमाउन नसकिने तथा काम पनि नपाउने समस्या भएको भन्ने व्यक्तिहरू प्रशस्त भेटिन्छन् । तर पनि नेपालीहरू किन मरिहत्य गर्दैछन् त ? यावत प्रश्नहरूको जवाफ हो, अमेरिका लगायत अन्य ठुला तथा सम्पन्न मुलुक छिर्नु मात्र । भाषणमा नेताहरूले देशलाई फलानो ढिस्कानो देश जस्तो बनाउँछौ भनेको त उनीहरूको दासी बनाए त । सरकारले श्रम सहमति गर्दै युवासहित युवाहरूको सपना बेचेको कहिले बुझ्ने ?
यसै गरी उक्त अध्यागमन विभागको रेकर्डलाई गहन तरिकाले हेर्ने हो भने निकै नै डरलाग्दो रहेको छ । सन् २०२३ को रेकर्डलाई अध्ययन गर्दै गर्दा उक्त वर्ष मात्र १६ लाख ३ हजार ८८३ जना नेपालीले यो देश छाडिसकेका छन् । अझै भयानक घटना त के छ भने, सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी रूपमा नागरिकता त्यागे अन्य देशका लागि नागरिक बनिसकेका छन् यो २०२२ को तुलनामा लगभग ४६ गुणा बढी हो ।
पहाडको जनसङ्ख्या अहिले औँलामा गन्न सकिने भएको छ । गाउँ पुरै खाली छ । घरहरू थोत्रो हुँदै भत्किन थालेका छन् । तर पनि नेपाल सरकारले समृद्धिको नारा घन्काउन छाडेको छैन । किन युवाहरू विदेश पलायन भइरहेका छन् ? यो विषयमा नेपाल सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रूपमा कसरी निर्मूल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन । फलस्वरुप ऊर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुनाका दरले बिदेसिनु परेको छ ।
अलिअलि पढेलेखेका युवाहरू उज्ज्वल भविष्यको खोजी गर्दै बिदेसिनु परेको छ । नेपालमा नै केही गर्रौं, किन बाहिर जाने भन्ने प्रश्नमा उनीहरूको चित्त बुझ्दो जवाफ आउँछ । ‘‘यहाँ तलबको अवस्था र महँगी तुलना गर्दा गरी खान गाह्रो छ ।” जुन वास्तविकता पनि हो । पानीदेखि नुनसम्मको भाउ आकासिएको छ । दैनिक उपभोग्य वस्तुहरू दैनिक कमाउने ज्यालाले धान्न सक्ने अवस्था छैन। एक दिनको ज्यालाले एक दिनको गर्जो टर्दैन भने किन बस्ने नेपाल ? नेताका पिछलग्गु आसेपासे छोराछोरी इष्टमित्रलाई मात्र नेपालमा भलो हुन्छ । अन्यथा सामान्य नागरिकलाई दैनिकी टार्न ज्याला मजदुरीले सम्भव छैन भन्ने जगजाहेर नै छ ।
विभिन्न मुलुकसँग कूटनैतिक सम्बन्ध स्थापना गर्न र श्रम सम्झौता गर्न सरकारलाई भ्याइ नभ्याई छ । जति धेरै युवा पलायन गरायो त्यति नै धेरै रेमिट्यान्स आइहाल्छ । सरकारलाई चिन्ता नै भएन । रेमिट्यान्सले चलेको देशमा युवा बेच्न किन पछि पर्ने ? मर्ने भनेको गरिब गुरुबाका छोराछोरी त हो नि नेताहरूको त बाउ आमाले शासन पद्धति र कर्मचारीतन्त्र विरासतमा छोडेर गएका हुन्छन् । दिनानुदिन युवाहरूलाई मृत्युको मुखसम्म धकेल्न सरकारले अझै अन्य देशसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगार नीति अझै खुकुलो बनाउन पछि भने पर्दैन।
नेता कहलिएका हरुले व्यक्तिगत स्वार्थ र परिवारवादमा लागेर देश बर्बाद पारिसके । कर्म र मर्म मिलाउन खोज्दा नीति विपरीत गठबन्धनको नाममा गठबन्धन गरेर जनतालाई भ्रममा राखेका छन्। बौद्धिक जनशक्तिलाई बाहिरी मुलुक पठाएर देशलाई कार्यकर्ताको ससुराली बनाएका छन् । स्वार्थ समीकरण गर्दै नैतिक बलात्कार हुँदैछ ।
अवसरबाट वञ्चित भएका जनताको लागि हाम्रो फलानो पार्टीले लडेको छ, हाम्रो नीति अरूको भन्दा सरल र मितव्ययी छ भनेर भाषण ठोक्नु अलावा केही गर्न सकेका छैनन् । काण्डै काण्डमा रुमलिएको छ देश । भ्रष्टाचारको चक्र ब्युमा युवाका सपनाहरू पेलिँदै छन् ।
आवाज उठाउने व्यक्ति विके, माध्यम बिके सामान्य मान्छेले उठाएको आवाज सुनिँदैन । देश जर्जर अवस्थामा छ । निकास कसले दिने ? जनतालाई कहिलेसम्म धोबीको कुकुर जस्तो बनाउँछौ ए नेताहरू हो ? युवाको बिक्री बन्द गर । जागौँ युवा हो । देश हाम्रो पनि हो । अवसरको लागि लडौँ । विदेशी मुलुकमा गएर गुमाउनुपर्ने ज्यानलाई देशमै लगाऊँ । आउने पीढीलाई कमसेकम मार्गदर्शन गर्न त सकिन्छ ।