किन गर्ने नेपालको माया?
तारा भट्टराई/न्यु योर्क
गत हप्ता कामको थकान र तनावले गर्दा यसो दुईचार दिन छुट्टी लिएर सहर भन्दा अलिकति पर रहेको कुनै पनि ठाउँमा प्लेन चढेर जाऊँ र केहिदिन आराम गरेर फर्कौँ जस्तो मनमा लाग्यो। अनि यसो दराजमा रहेको पासपोर्ट निकालेर हेरे , म्याद गुज्रिनै लागेको रहेछ। हतार हतार वेबसाइटमा गएर निवेदन दिन खोज्दा मिति लिन भनिएको रहेछ तर पुरै क्यालेन्डरमा जुन मिति क्लिक गरे पनि पासपोर्ट नवीकरणका लागी कुनै मिति नै भेटिन। नभेटेपछि अर्को दिन म्यान्हाटन स्थित कन्सुलेट जनरल अफिसमा पुगेँ।
म जस्ता थुप्रै जना पासपोर्टको मिति गुज्रेर, हराएर बनाउनका लागी आएका रहेछन्। पासपोर्ट बनाउन मिति लिनुपर्ने रहेछ। अहिलेलाई मिति सकिएको र पछि खुलेमा जानकारी गरिने भनेपछि म फर्किए। म भुईमान्छे, कुनै नातेदार वा चिनजानका मानिसहरू कन्सुलेट अफिसमा थिएनन् । चाकडी चाप्लुसी जानेको भए हाकिमहरूले अगाडी कुर्सीमा राखेर पक्कै पनि चिया कफी खुवाउँदै काम फत्ते हुने थियो होला। तर म त्यो वर्गमा पनि परिन। कहिले र कता पाइन्छ त त्यो मिति भनेर म सोध्दै खोज्दै गए। धेरै जनाले नेपालबाट नेता, मन्त्री र उच्च तहको भनसुन गराएर मिति लिएको बताए।
मैले नेपाली राहदानीको लागी मिति खोज्दै खोज्दै जाँदा क्वीन्सको एक ठाउँमा कमिसन लिएर फारम भरिँदो रहेछ। डेट वा मिति जति त्यो कमिसनवाला कम्प्युटरमा क्लिक गरेपछि धमाधम निस्कँदो रहेछ। मैले पनि टाउकोमा हात राखेर धेरै बेर सोच बिचार गरेँ। कहिले काहीँ इमर्जेन्सी परेर कतै जानुपर्यो भने म सँग केही पनि डकुमेन्ट नै छैन के गर्ने होला भनेर त्यसै त्यसै अत्यास लागेर आयो। अनि म पनि कमिसन बुझाएर फारम भर्न बाध्य भए। यो मैले अमेरिकामा पहिलो पटक भोगेको समस्या हो।
नेपालमा त मैले बालिग भइसकेपछि पहिलो पटक नागरिकता लिँदाको बखतका पीडा , दुःख र हैरानी का कुरा त भनी साध्यै छैन। यति मात्रै नभएर नेपालका सरकारी कार्यालयमा सेवाग्राही बनेर पुग्दा भोगेका कुराहरू पनि शब्दमा उतारेर साध्यै नै छैन।
तर छातीमा हात राखेर भन्छु मैले अमेरिकाको ग्रिन कार्ड पाउन होस् वा योग्यता क्षमता अनुसारको जागिर पाउन , घर खरिद गरी यहाँ स्थापित हुन कुनै पनि सङ्घर्ष गर्नु नै परेन।
नेपालमा यी सारा सङ्घर्षहरू गरे पनि र देशमा रहँदा एउटा काजको खोस्टो नागरिकता लिन सङ्घर्ष गर्नुपरे पनि मैले मनमा म नेपाली हुँ भन्ने भावनालाई निक्कै दह्रिलो र उँचो बनाएर राखेकी थिएँ। म अमेरिकाको नागरिक भएको दिन मैले शपथ गर्नुपर्छ र अनि म नेपाली हुँ भन्नु पनि नाटक मञ्चन गर्नु हो भन्ने मनमा लागिरहन्न्थ्यो। किनभने भित्रभित्रै मनमा नेपाल लाई माया गरेर बाहिर शपथ खानु पनि आफूलाई नै ढाँट्नु हो जस्तो मलाई लाग्थ्यो। र राहदानी लिनका लागी यो पछिल्लो पटकको हैरानी हेर्दा मैले देशलाई माया गर्नलाई देशले चाहिँ मलाई के दियो त? भन्ने प्रश्न मनमा बारम्बार आउन थालेको छ।
अमेरिका जस्तो यति शक्तिशाली देशमा आफ्ना नागरिकलाई सेवा दिन भनी खोलिएका यी नेपाल सरकारको मातहतका कार्यालयका कर्मचारीहरूको नियतमै खोट देखिएको प्रस्ट रूपमा सबैले महसुस गरे पनि सबै चुपचाप सहन बाध्य छन्।
नेपालमा वैदेशिक रोजगारी बढ्यो। वैदेशिक रोजगारमा जानेले पठाएको पैसाले देशको अर्थतन्त्र टिकेको छ । तर हामीजस्ता बिदेसिएका नागरिकहरूले पाउने एक मात्र पासपोर्ट सहजरुपमा नपाउनेहरूको पीडा पनि धेरै नै छ।
अहिले अमेरिका उहिल्यैको जस्तो काठमाडौँ खाल्डोका केही धनाढ्य सुकिला मुकिलाहरुको प्लेन चढेर आउने गन्तव्य मात्रै होइन । नेपालका हुम्ला जुम्ला देखि ताप्लेजुङ घुस्सा सम्मका दूर दराजका नेपालीहरू तल्लो बाटो समेत भएर हिँडेर भए पनि यहाँ आएर दुःख गरेर धेरथोर भए पनि परिवार र देशको आर्थिक अवस्थामा भरथेग गरिरहेका छन्। अहिले कमाएर भविष्यमा देशलाई देश फर्किने र देशलाई माया गर्ने असली नेपाली पनि यिनै हुन् भन्ने मेरो ठम्याई हो। यिनीहरूले आफ्नै निकायबाट भने कुनै सहयोग पाउन सकिरहेका छैनन्।
म रेमिट्यान्स क्षेत्रमा काम गर्ने भएकाले पनि एउटा पासपोर्ट नहुँदा यहाँ धेरै नेपालीहरू रेमिट्यान्स पठाउनबाट कसरी वञ्चित छन् भन्ने पीडाका कथाको फेहरिस्ता नै छ।
यहाँ अमेरिकामा पनि व्यक्ति पिच्छेका संघ संस्था छन्, समाज र अभियन्ताहरू पनि छन् र व्यक्ति पिच्छे मिडिया पनि छन् । तर सायद उनीहरू आफ्नै आसेपासे र पिछलग्गुहरूको पक्ष पोषणमा व्यस्त भएर पनि भ्रष्टाचार सबैतिर व्याप्त र संस्थागत भएर मौलाएको छ। जहाँ गए पनि उस्तै छ।
मैले राहदानीकै विषयलाईलाई लिएर केही नेपालीहरूसँग चासो राख्दा “अलिअलि भ्रष्टाचार त सहनुपर्यो नि। मह काढ्ने ले हात चाट्छ। अलिकति डलर दिएर के फरक पर्छ र?” भन्नेहरूको जमात बढी पाए।
हो देश बनाउन सबैले केही न केही गर्नु पर्छ।देशमा बसेर मात्रै सेवा हुन्न। देश बाहिर रहेर पनि झन् बढी गरिराखेको हुईन्छ। देश भक्ति कहिल्यै मर्दैन। तर देशले नै नागरिक जस्तो व्यवहार देखाउँदैन र परेको बेलामा छिटो छरितो रूपमा सहजिकरण गर्न सक्दैन अनि जसरी पनि लुटेर लिनुपर्छ भन्ने भावना राख्छ भने किन गर्ने देशलाई माया?