क्यालिफोर्नियामा बीभत्स घटना : ‘आफ्नै शिशु, प्रेमीका र सासूको हत्या’
मोडेस्टो, क्यालिफोर्निया / अमेरिकाको क्यालिफोर्नियाको मोडेस्टो शहरमा बीभत्स घटना भएको छ।
एक मेक्सिकन नागरिकले आफ्नै दुई साताको शिशु, प्रेमीका र सासूको हत्या गरेको यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले जनाएको छ ।
डीएचएसका अनुसार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मेक्सिकोका २८ वर्षीय जोआकिन एस्कोटो भाज्क्वेजलाई पक्राउ गरेको छ। उनी अवैध रुपमा अमेरिका बसिरहेको डिएचएसको विज्ञप्तिमा उल्लेख छ ।
घटना विवरण अनुसार गत मे २८ तारिख मोडेस्टो प्रहरीले एउटा घरमा झैझगडा भएको खबर पाएपछि घटनास्थल पुग्दा चक्कु प्रहारबाट गम्भीर घाइते भएका तीन जनालाई फेला पारेको थियो।
डिएचएसका अनुसार २३ वर्षीया फाबियोला गोन्जालेज-नुनेज र उनकी ५४ वर्षीया आमा मारिया सिल्भिया नुनेज-भिल्लालोबोसको घटनास्थलमै मृत्यु भएको थियो।
सोही घटनामा घाइते भएका फाबियोलाका शिशु छोरा माटेओ गोन्जालेजको भने अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। शिशुको उमेर दुई साताको मात्र भएको जनाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका आरोपी भाज्क्वेज मृतक फाबियोला प्रेमिप्रेमिका हुन् । उनीहरू सँगै बस्दै आएका थिए।
आरोपीमाथि अहिले सर्वसाधारणको हत्या र बाल क्रूरताको गम्भीर कानुनी मुद्दा दर्ता गरिएको छ।
पहिले नै रोक्न सकिने थियो अपराध: आइस
यस घटनापछि यू.एस. इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) र डिएचएसले क्यालिफोर्नियामा लागू गरिएको अवैध आप्रवासीहरूलाई स्थानीय प्रहरीबाट संरक्षण दिने ‘स्याङ्क्चुरी कानुन’ को कडा आलोचना गरेका छन्।
आइसका अनुसार आरोपी भाज्क्वेजको आपराधिक इतिहास निकै खराब रहेको छ र उनी यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाएको (डियुआइ) कसुरमा चार पटक पक्राउ परिसकेका थिए।
सन् २०२५ को जुन महिनामा भाज्क्वेज चौथो पटक पक्राउ पर्दा आइसले उनलाई आफ्नो हिरासतमा सुम्पनका लागि स्थानीय सान जोआकिन काउन्टी जेलमा ‘डिटेनर’ (पक्राउ पुर्जी) पठाएको थियो।
तर, क्यालिफोर्नियाको ‘स्याङ्क्चुरी सिटी’ नीतिका कारण स्थानीय अधिकारीहरूले आइस सँग सहयोग गर्न अस्वीकार गरे र आइसलाई जानकारी नै नदिई उनलाई जेलबाट रिहा गरिदिएका थिए।
“यदि क्यालिफोर्नियाका राजनीतिज्ञहरूले आइससँग सहयोग गरेर ती अपराधीलाई देश निकाला गर्न दिएको भए आज एउटा शिशु र दुई महिलाको ज्यान बच्ने थियो,” आइसका कार्यवाहक सहायक सचिव लरेन बिसले भनेका छन् ।
डिएचएसले जारी गरेको विज्ञप्ति अनुसार आरोपी भाज्क्वेज सन् २०१८ मा पहिलो पटक अवैध रूपमा अमेरिका प्रवेश गर्दा तत्कालीन ट्रम्प प्रशासनले उनलाई देश निकाला गरेको थियो। तर, उनी पुनः अवैध रूपमा सीमा पार गरेर अमेरिका भित्रिएका थिए।
यस घटनाले ‘स्याङ्क्चुरी कानुन’ माथि फेरि ठूलो राजनीतिक बहस छेडिदिएको छ।
डिएचएसले प्रेसित गरेको विज्ञप्तिमा भनिएको छ, ‘तथ्याङ्क अनुसार क्यालिफोर्नियाले आइसको पक्राउ पुर्जीलाई मान्यता नदिँदा हालैका महिनाहरूमा ४५ सय भन्दा बढी आपराधिक पृष्ठभूमि भएका अवैध आप्रवासीहरू जेलबाट सिधै समुदायमा रिहा भएका छन्, जसले गर्दा सर्वसाधारणको सुरक्षामा ठूलो चुनौती थपिएको अधिकारीहरूको भनाइ छ।’
फोटो : डिएचएस

















