अब एनआरएनएको गठबन्धन के हुन्छ त ?
पेन्सल्भेनिया । नेपाली राजनीतिमा हुने फेरबदलले हरेक क्षेत्रमा बाछिटा परिहाल्छ । अहिले नेपालमा नेपाली कांग्रेस सहभागी गठबन्धन भत्किएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी भएका नयाँ सत्ता गठबन्धन बनेको छ । सत्ता गठबन्धन नयाँ बनेपछि तीन जना विना विभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण शीतल निवासमा पुगेर गरिसकेका छन् ।
नयाँ सत्ता समिकरण बनेसँगै यसको प्रभाव हरेक क्षेत्रमा पर्न सुरु गरिसकेको छ । राजनीतिक क्षेत्रमा मात्रै होइन, सामाजिक क्षेत्रमा पनि यसको प्रभाव पर्छ । राजनीतिको कुरा गर्ने हो प्रदेश सरकारहरुको दिनगन्ती सुरु भइसकेको छ ।
अब कुरा गरौं, गैर आवासीय नेपाली संघ एनआरएनएको ।
११ औं महाधिवेशनका बेला विवाद भएपछि अहिले त्यहाँबाट दुई वटा समूह बनेका छन् । एउटा समूहको नेतृत्व डा. बद्री केसीले गरेका छन् भने अर्को समूहको राजेन्द्र कुमार (आरके) शर्माले गरेका छन् ।
११ औं अधिवेशनका बेला बद्रीलाई एमालेको समर्थन र आरकेलाई माओवादीको समर्थन भएको कुरा घामजस्तै छर्लङ्गै छ ।
सोल्टी होटेलमा भएको निर्वाचन प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै आरके समूहले होटेल हिमालयमा अधिवेशन गरेर समानान्तर समिति नै बनाएको थियो ।
वद्री समूहलाई भन्दा आरके समूहलाई माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकाले अलि बढी महत्व दिएको जस्तो देखिएको छ । आरके समूहकै मागका आधारमा सरकारले मन्त्रिपरिषद्बाट उच्चस्तरीय छानविन समिति बनाएको छ । उक्त समितिले केही समयमै रिपोर्ट सरकारलाई बुझाउने बताइरहेका बेला सत्ता समिकरणमा आएको फेरबदलले एनआरएनएको भविष्य के हुन्छ भन्ने अड्कावाजी सुरु भएको छ ।
कांग्रेससँगको गठबन्धनमा हुँदा विभिन्न जनसम्पर्क समितिहरुले शर्मालाई साथ दिएका छन् । अब माओवादी एमालेसँग मिल्दा कतै आरके पनि बद्रीसँग त मिल्दैन एक एनआरएनए अभियन्ताहरुका बीचमा चर्चाको विषय बनेको छ ।
चर्चा हुनु पनि स्वभाविक नै हो, एमाले अध्यक्ष तथा अहिलेको नयाँ गठबन्धनका मुख्य खेलाडी केपी शर्मा ओली जहिले पनि बद्रीकै पक्षमा छन् । उनले केही दिन अघिमात्रै कांग्रेसले चुनाव हारेकाहरुलाई बोकेर एनआरएनए विभाजित गराएको सार्वजनिक टिप्पणी गरेका थिए । त्यसले गर्दा अब नयाँ समिकरणसँगै एनआरएनएको भविष्यका बारेमा टिप्पणीलाई स्वभाविकरुपमा हेरिएको छ । अहिले वद्री केसी समूहका अभियन्ताहरुका सामाजिक सञ्जालमा कांग्रेस अझ निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदलाई एनआरएनए नै विभाजन गरेको र अहिले खाएर खुच्चिङ भन्ने अभिव्यक्ति दिइरहेका छन् ।
यसै सन्दर्भमा आरेक शर्मालाई प्रश्न गर्दा एनआरएनएलाई राजनीतिक गठबन्धनसँग जोडेर हेर्न नहुने बताए । उनले आफू विधि र प्रक्रियाको लागि लडेकाले अब एमालेको गठबन्धन हुँदैमा आफू बद्रीसँग मिल्ने कुरै नहुने बताए । उनले आफू विधि र प्रक्रियाको कुरा गरेर अहिलेसम्म लागेको र आउँदा दिनमा पनि लागि रहने बताए । अहिले कति साथीहरुले आफूलाई राजनीतिक गठबन्धनसँग जोडेर प्रश्न गरेको बताउँदै अहिले भएको आफ्नो समूह आत्तिनु पर्ने अवस्थामा नरहेको बताए । गलतलाई गलत प्रमाणित गर्नका लागि आफ्नो निरन्तर खबरदारी जारी रहने पनि बताए । आफू अहिले कर्मथलो कतारमा रहेको बताउँदै बुधबारसम्म भर्चुअल बैठक बसेर सबै कुरा प्रष्ट पार्ने बताउँदै अहिले नै कोही पनि निराश हुने अवस्था नरहेको पनि बताए ।
एनआरएनएमा आरके शर्मासहित केही पदाधिकारीमात्रै माओवादी केन्द्र नजिकका छन् भने अधिकांश पदाधिकारीहरु नेपाली कांग्रेस निकट रहेका छन् ।