ओहायोको मेडिकेड वेभर ठगी प्रकरण, संसदीय सुनुवाइमा
वासिङ्टन डी.सी. / अमेरिकी प्रतिनिधिसभाको संवैधानिक अधिकारको रक्षा र संस्थागत दुरुपयोग उजागर गर्ने विशेष कार्यदलका अध्यक्ष ब्रान्डन गिलले ओहायो राज्यमा भएको मेडिकेड वेभर कार्यक्रममा भएको ठगीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
व्यापक ठगीको जाल, मेडिकेड वेभर कार्यक्रमका कमजोरी र दुरुपयोग शीर्षकको सुनुवाइमा बुधवार बोल्दै गिलले ठगी समूहहरूले ओहायोका वृद्ध नागरिकहरूलाई प्रयोग गरेर झूट्टा मेडिकेड दाबी पेश गरेको आरोप लगाएका थिए ।
उनका अनुसार यस प्रक्रियामार्फत अमेरिकी करदाताहरूको करिब १.२ अर्ब अमेरिकी डलर नोक्सान भएको समेत बताए ।
गिलले मेडिकेड प्रणाली मूलत कम आय भएका अमेरिकी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्थापना गरिएको भए पनि अहिले केही व्यक्तिहरूले त्यसको दुरुपयोग गरिरहेको कार्यक्रममा बताएका थिए ।
उनका अनुसार ओहायोमा लागू गरिएको होम एण्ड कम्युनिटी बेस सर्भिसेस् वेभर कार्यक्रमले घरमै स्वास्थ्य तथा व्यक्तिगत हेरचाह सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यही कार्यक्रम अन्तर्गत खाना पकाउने, सरसफाइ गर्ने लगायतका सेवाका नाममा वास्तवमा सेवा नै नदिई बिल पेश गर्ने कार्य भएको आरोप गिलले लगाएका छन् ।
गिलका अनुसार ठगी गर्ने व्यक्तिहरूले कुनै वृद्ध व्यक्तिलाई मेडिकेड सेवाका लागि योग्य देखाउने कागजात तयार गर्ने गरेको समेत बताए । साथै, उनले होम केयर हेल्थ कम्पनीमार्फत सरकारबाट भुक्तानी लिइन्छ, जबकि धेरै अवस्थामा सेवा नै प्रदान गरिएको हुँदैन ।
गिलले केही होम हेल्थ केयरकम्पनीहरू एउटै ठेगानामा दर्ता भएको तथा समान नाम प्रयोग गर्ने गरेको दाबी समेत गरे ।
उनले कोलम्बसस्थित एउटा भवनमा ९४ वटा होम केयर कम्पनी दर्ता भएर ६६ मिलियन डलरभन्दा बढी मेडिकेड बिलिङ गरेको उल्लेख समेत गरेका थिए ।
गिलले ओहायोमा रहेका केही सोमाली र नेपाली भाषी भुटानी समुदायका सदस्यहरू यस्तो ठगीमा संलग्न रहेको आरोप लगाएका छन् ।
उनले ओहायोमा अमेरिकाकै दोस्रो ठूलो सोमाली समुदाय रहेको तथा अमेरिकाको सबैभन्दा ठूलो भुटानी समुदाय बसोबास गर्ने बताए । उनले हालसम्म सार्वजनिक भएका अनुसन्धान तथा समाचार रिपोर्टहरूले यी समुदायका व्यक्तिहरू ठूलो मात्रामा मेडिकेड ठगीमा संलग्न रहेको संकेत गरेको दाबी गरे ।
यद्यपि उनले प्रस्तुत गरेका आरोपहरू अदालतबाट प्रमाणित भइसकेका निष्कर्ष होइनन् ।
गिलले मेडिकेड अन्तर्गत प्रयोग हुने जीपीएस ट्र्याकिङ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताए । यसका कारण वास्तवमा सेवा दिइएको थियो वा थिएन भन्ने कुरा धेरै अवस्थामा पुष्टि गर्न नसकिएको उनको भनाइ छ ।
सुनुवाइको उद्देश्य ओहायोमा भएको भनिएको मेडिकेड ठगीको प्रकृति, परिमाण तथा जिम्मेवार पक्षहरूको पहिचान गर्नु रहेको गिलले बताए । उनले स्वास्थ्य सेवासम्बन्धी सरकारी कार्यक्रमहरूलाई ठगीबाट जोगाउन आवश्यक सुधारहरूबारे छलफल हुने जानकारी दिए ।
साथै, उनले मेडिकेड र मेडिकेयर जस्ता महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरूको दीर्घकालीन संरक्षणका लागि ठगी नियन्त्रण अत्यावश्यक रहेको उल्लेख समेत गरेका थिए ।

















